कोरोनाको महामारीमा झापाका ईटा उधोगीको लापरबाही, जिल्ला प्रशासनको पाँच बुँदे निर्देशन जारी
बिर्तामोड । जिल्ला प्रशासन कार्यालय झापाले जिल्लाका ईटा उधोगीहरुलाई विशेष निर्देशन दिएको छ । कोरोना भाइरस संक्रमण जोखिमलाई ख्याल नगरी उधोग सञ्चालन गरिरहेको पाइएपछि जिल्ला प्रशासनले अनुगमन गरी पाँच बुँदे निर्देशन जारी गरेको हो ।

अनुगमनका क्रममा उधोगहरुमा सामाजिक दुरी कायम नगरेको, ठुलो समूहमा एकसाथ बस्ने गरेको , ठुलै समूहमा आवतजावत गर्ने गरेको, एकसाथ भेला हुने गरेको, कारखाना बाहिरको समुदायसँग घुलमिल गर्ने गरेको भन्दै संक्रमण जोखिम बढ्ने औल्याउँदै प्रशासन कार्यालयले सबै ईटा उधोगीलाई आवश्यक सतर्कताका लागि निर्देशन दिएको छ ।
उधोग सञ्चालन गर्दा त्यहाँभित्र काम गर्ने सबै श्रमिक तथा कर्मचारीलाई भित्रै राख्नुपर्ने, आवास र खानपानको उधोग परिसरभित्रै व्यवस्थापन गर्नुपर्ने निर्देशन दिइएको छ । उधोग बाहिरको समुदाय वा परिवारसँग भेटघाट नगर्न, व्यक्ति–व्यक्ति बिच दुरी कायम गर्न, स्वास्थ्य मन्त्रालयको प्रोटोकल पालना गर्न, नियमित श्रमिकको ज्वरो र तापक्रम जाँच्न, स्वास्थ्य परीक्षण गर्न, मास्क, सेनिटाइजर र साबुन पानीको व्यवस्था गर्न जिल्ला प्रशासन कार्यालय झापाले निर्देशन जारी गरेको हो ।
प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानाका अनुसार सबै उधोगले एम्बुलेन्स समेत स्टेन्टबाई राख्नुपर्नेछ । सो निर्देशन गृह मन्त्रालय र झापाका सबै स्थानीय तहलाई बोधार्थ पठाइएको छ ।
