कार्यविधी विपरित पीसीआर ल्याव सञ्चालन गर्न पाइदैन : स्वास्थ्य मन्त्रालय
बिर्तामोड । कार्यविधी विपरित कोभिड–१९ परीक्षण प्रयोगशाला सञ्चालन अनुमति नदिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । कार्यविधीमा प्रयोगशाला सञ्चालनका लागि अस्पताल बाहेकलाई अनुमति नदिने व्यवस्था छ ।

झापाको कोटीहोममा प्रयोगशाला सञ्चालनका लागि सामाजिक विकास मन्त्रालय प्रदेश १ मार्फत अनुमति माग गरिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सामाजिक विकास मन्त्रालयको पत्राचार अनुसार स्वीकृति दिन नसक्ने बताएपछि अनुमति विनै निर्माण थालिएको ल्याव संकटमा परेको छ ।
स्वास्थ्य आपतकालिन तथा विपद् व्यवस्थापन इकाईका प्रमुख डा.समिर कुमार अधिकारीले दिएको जानकारी अनुसार मेची अस्पताललाई मात्रै ल्याव सञ्चालनका लागि स्वीकृति दिन सकिने छ ।
गत असार १० गते मेची अस्पताललाई प्रयोगशाला स्थापना गरी कोभिड अस्पताल सञ्चालन गर्न अनुमति प्रदान गरिसकेको छ । अस्पताल समितिले ल्याव सञ्चालनको लागि तयारी भएको जानकारी दिएको छ ।