स्थानीय तहमा खवरदारी गर्न युवालाई सूचनाको हकबारे प्रशिक्षण
बिर्तामोड । जवाफदेहिता र पारदर्शिताका लागि झापाका युवाहरुलाई सूचनाको हकबारे प्रशिक्षक प्रशिक्षण प्रदान गरिएको छ । प्रकृति फाउण्डेशन झापाले आयोजना गरेको सूचनाको हकको प्रशिक्षणमा जिल्लाका १५ वटै पालिकाबाट युवाहरुको सहभागिता रहेको थियो ।

प्रकृति फाउण्डेश झापाको आयोजना र फ्रिडम फोरमको प्राविधिक सहयोगमा आयोजना गरिएको कार्यक्रममा सूचनाको हकको आधारभूत जानकारी र त्यसको व्यवहारिक प्रयोगका बारेमा सहजीकरण गरिएको छ । सूचनाको हकको परिचयका बारेमा पत्रकार प्रदीप परियार र त्यसको व्यवहारिक प्रयोगका बारेमा सूचनाको हकका अभियान्ता राजु श्रेष्ठले सहजीकरण गरेका थिए ।
श्रेष्ठले फ्रिडम फोरमले तयार गरेको आरटीआई नेपाल मोवाइल एप्सको बारेमा अभिमुखिकरण गरेका थिए । सहभागीले सो एप्स आ–आप्नो मोवाइलमा डाउनलोड गरेर छलफल गरेका थिए ।
सोहि कार्यक्रममा युवा अभियान्ता दीपक दासले युवा नेतृत्व र विविसा बुढाथोकीले सुरक्षित महिनाबारीको बारेमा सहजीकरण गरेका थिए ।
राष्ट्रका हरेक निकायमा जवाफदेहिता र पारदर्शीताका लागि सूचनाको हक नै महत्वपूर्ण औजार हुने सूचनाको हकका अभियाना राजु श्रेष्ठले बताएका छन् । उनले सूचनाको हक प्रयोग गरेर देशमा गरिएका अभ्यासका बारेमा जानकारी समेत गराएका थिए ।
झापाका १५ वटा स्थानीय तहबाट सहभागी २५ जना युवालाई प्रशिक्षक प्रशिक्षण प्रदान गरेर आ–आफ्नो स्थानीय तहमा खवरदारीका लागि काम गर्न उत्पे्ररित गरिएको आयोजक संस्थाका अध्यक्ष मनोज ताम्लीले बताए । उनका अनुसार स्थानीय तहमा बढ्दै गएको वेथिती नियन्त्रण गर्न र जनताले तिरेको करबाट निर्माण हुने विकास निर्माणमा खवरदारी गर्न कार्यक्रमको आयोजना गरिएको हो ।