बिओपी स्थापनाका लागि झापामा जमिन खोज्दै सशस्त्र
झापा । भारतसँग जोडिएको जिल्लाको सीमा क्षेत्रमा उच्च सतर्कतासँगै निगरानी बढाउन सशस्त्र प्रहरीले बोर्डर आउट पोस्ट स्थापनाका लागि जमिन खोज्न थालेका छन् । सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेड क्वाटर झापाले चालु आर्थिक वर्षमा ९ वटा बोर्डर आउट पोस्ट (बिओपी) स्थापना गर्न लागेका जमिन खोज्न सुरु गरिसकेको सशस्त्र प्रहरीका एसपी रमेशकुमार पाण्डेले जानकारी दिए ।

भर्खरै मात्र सरुवा भएर झापा आएका एसपी पाण्डेले आइतबार दिउँसो संक्षिप्त पत्रकार भेटघाट कार्यक्रममा यस्तो बताएका हुन । १४४ किलोमिटर खुल्ला सीमा क्षेत्रमा हाल ९ वटा बिओपीले सीमा सुरक्षा गरिरहेको छ । सशस्त्र प्रहरीले बाहुनडाँगी, पृथ्वीनगर, केचना, घेरावारि, भागडुब्बा, कुञ्जीवारि, गौरीगञ्ज र टाघनडुब्बामा बिओपी स्थापना गरिसकेको छ । काँकडभिट्टा गुल्म रहेकोले यसबर्षदेखि बिओपीमा परिणत भइसकेको छ ।
यो वर्ष तिरीङ्, नकलबन्दा, सतीघट्टा, ज्यामिरगढी, भद्रपुरको मेची पुल नजिकै, महेशपुर, पाठामारी, पन्थापाडा र गौरदाहको आँपगाछीमा स्थापना गर्न लगेको एसपी पाण्डेले बताए । सतीघट्टा र आँपगाछीमा बिओपी स्थापनाका लागि जमिन प्राप्त भइसकेको बताउँदै एसपी पाण्डेले भने, ‘सतीघट्टाको बिओपी भन्सारकै जमिन भएकोले भवन निर्माण टेन्डर प्रक्रियामा गइसकेको छ । त्यसपछि अब तिरीङमा जमिन प्राप्तको काम लगभग अन्तिम चरणमा छ ।’
‘अरू पाँच वटा बिओपी स्थापनाका लागि अहिलेसम्म जमिन प्राप्त भइसकेको छैन,’ उनले भने, ‘त्यसका लागि स्थानीय तह, जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाजसँग समन्वय र सहकार्य गरिरहेका छौँ ।’
पहाडी क्षेत्रमा स्थानीयले आफ्नो क्षेत्रको सुरक्षाका लागि स्वतः स्फूर्त जमिन दिए पनि तराइका जिल्लामा यस्तो नदेखिएको उनको भनाइ छ । आगामी तीन वर्षभित्र अहिलेको गरी जिल्लाभरि ३७ वटा बिओपी स्थापना गर्ने लक्ष्य राखिएको छ । तर, बिओपी स्थापनाका लागि कम्तीमा सात कठ्ठा जमिन चाहिने र त्यसको लागि जमिन प्राप्त गर्न नै सशस्त्रलाई चुनौती थपिएको उनले बताए ।
बिपी सीमा नजिकै हुनुपर्ने र सो क्षेत्र अधिकांश खेतीयोग्य जमिन भएकोले जग्गाधनीले जमिन दिन नमान्ने अवस्था छ । सीमामा सशस्त्र आएपछि शान्ति सुरक्षा हुनको साटो झन् खतरा बढेर जाने, तस्करी गर्न नपाइने बुझाइका कारण स्थानीयले नै जग्गाधनीलाई उक्साउने गरेको पाइएको उनले बताए । ‘कम दुरी राखेर बिपी स्थापना गर्न सकिए सीमामा हुने आपराधिक क्रियाकलाप, चोरी तस्करी, हातहतियार, लागु औषध, मानव बेचबिखन जस्ता घटनामा नियन्त्रणसँगै रोकथाम हुने विश्वास छ, उनले भने ।’
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जिल्लामा सशस्त्रले १३६ वटा अस्थायी पोस्ट निर्माण गरेको थियो । अधिकांश पोस्ट नदी किनार, पैनी, खेतमा राखिएकोले बर्खा र डुबानलाई मध्यनजर गरी हटाइएको छ । अहिले ३९ वटा अस्थायी पोस्ट रहेको छ । पहिला एउटा पोस्टमा तीनदेखि पाँच जना बस्दै आएकोमा अहिलेको पोस्टमा कम्तीमा १५ जना राखिएको जनाइएको छ ।