जेष्ठ १, २०८२ बुधबार

बाइडेनको अग्रता कायमै, अन्तिम नतिजामा ढिलाइ

काठमाडौं । अमेरिकामा भएको राष्ट्रपतीय चुनावमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन जित नजिक पुगेका छन् । अहिलेसम्मको मत परिणाम अनुसार वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्प भन्दा बाइडेन नै अगाडि रहेका छन् ।

दुई उम्मेदवार डेमोक्रेटिक पार्टीका जो बाइडेन र अहिलेका राष्ट्रपति रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पबीच कडा प्रतिष्पर्धा छ । जित नजिक पुगेका डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले इतिहासमै सबैभन्दा धेरै लोकप्रिय मत पाएका छन् । उनले पूर्व राष्ट्रपति बाराक ओबामाको रेकर्डलाई पनि तोडेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

सन् २००८ मा बाराक ओबामाले ६ करोड ९४ लाख ९८ हजार ५ सय १६ मत पाएका थिए भने अहिले बाइडेनले ७ करोड २७ लाखभन्दा बढी मत पाएका छन् । केही राज्यमा मत गणना भइरहेको छ । अन्तिम नतिजा आउन अझै केही समय लाग्ने देखिएको छ ।

पछिल्लो परिणाम अनुसार बाइडेनले २६४ र ट्रम्पले २१४ इलेक्टोरल मत प्राप्त गरेका छन् । राष्ट्रपति निर्वाचित हुन २७० मत आवश्यक पर्छ । अमेरिकाका ५० राज्यमध्ये ४३ वटा राज्यको मत परिणाम आइसकेको छ ।

ट्रम्प भन्छन्, ‘वैध भोटको गणना गरिए मै चुनाव जित्छु’
अमेरिकी राष्ट्रपति पदका रिपब्लिकन उम्मेदवार एवं वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पले वैध भोटको गणना गरिए आफैले चुनाव जित्ने दाबी फेरि दोहोर्‍याएका छन् ।

अमेरिकी समयअनुसार ह्वाइट हाउसमा बिहीबार साँझ पत्रकार सम्मेलन गर्दै ट्रम्पले भने, ‘यदि वैध भोटको गणना गरिए मै चुनाव जित्छु ।’ आफ्नै प्रशासनले गराएको निर्वाचनप्रति अविश्वास गर्दै उनले धोखाधडीपूर्ण रुपमा आफूलाई राष्ट्रपति निर्वाचित हुनबाट रोक्ने खेल भएको आरोप लगाए ।

प्रक्रिया अदालतसम्म पुगेको भन्दै हुलाकबाट मत दिन पाउने व्यवस्था अनुचित थियो र यो विनाशकारी हुने आफूले पहिलेदेखि भन्दै आएको उनले जिकिर गरे । चुनावमा पराजित हुने देखेपछि ट्रम्पको चुनावी अभियानकर्ताहरु मुद्दा बोकेर अदालत पुगेका छन् ।

नेभेदा, पेन्सिलभानिया, जर्जिया, मिचिगनलगायतका राज्यमा भइरहेको मत गणना रोक्न माग गर्दै उनीहरु अदालत पुगेका हुन् । ट्रम्पले भने, ‘चुनावी पवित्रताको रक्षा गर्नु हाम्रो लक्ष्य हो र भ्रष्टाचारका कारण यति महत्वपूर्ण चुनावमा कुनै धोखेबाजी हुन हामी दिँदैनौं ।’

प्रकाशित मिति : कार्तिक २१, २०७७ शुक्रबार  ९ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]