झापामा पनि बन्दैछ पथरीकै जस्तो ‘सेल्फी रोड’
विर्तामोड । मोरङको पथरी शनिश्चरे नगरपालिका –२ मा रहेको ‘सेल्फी रोड’ जस्तै गरी झापाको कालिझोडामा रुख रंग्याउन थालिएको छ । प्रगति सामुदायिक वन हाताभित्र मुख्य राजमार्गबाट कालिझोडा जाने बाटोलाई सेल्फी रोडकै रुपमा सजाउन थालिएको छ ।

बन्दाबन्दीको समयमा असाध्यै रुचाइएको पथरीको सेल्फी रोडमा आन्तरिक पर्यटकको घुँइचो नै लाग्ने गरेको छ । त्यहाँका रुखहरुलाई सेतो रंगले रंग्याइएको छ । हरियालीले सुन्दर देखिने सो क्षेत्रका रुखलाई रंगरोघन गर्दा आकर्षक देखिएपछि त्यहाँ सेल्फी खिच्ने र टिकटक बनाउने भीड नै लाग्ने गर्छ ।
स्थानीय युवाहरुको पहलमा कालीझोडा जाने बाटोलाई सेल्फी जोनको रुपमा विकास गर्न सकिने बताइएको छ । उनीहरुले पनि रुखमा सेतो रंग लगाउन थालेका छन् ।
अर्र्जुनधारा १०, ११ र मेचीनगर १२, १३ भित्रै फैलिएको प्रगति सामुदायिक वन उपभोक्ता समितिले प्रगति सिमसार बनाउन शुरु गरेको छ । सो वनका कार्यालय सचिव विवेक सुन्दासका अनुसार बन्दाबन्दीका कारण सिमसार बनाउन ढिलाई भइरहेको छ । उनले अब सिमसार बनाउन समिति तिब्र रुपमा लागिपरेको जानकारी दिए । कालीझोला जाने बाटो सुन्दर छ, हरियालीले सजिएको छ – स्थानीय युवा भन्छन्, हामी पनि सेल्फी जोन बनाएर आन्तरिक पर्यटक आउने वातावरण तयार गर्छौं ।
