कोरोनाको नाममा ठगिएला
सम्पादकीय
जसैगरी अन्यायमा पर्ने कमजोर प्रायः हुन्छन् । यो सबैले जानेको र धानेको विषय हो । फेरि कोरोना महामारीको लक्षण देखिदैंछ । यसले कतै फेरि पनि कमजोरहरु अन्यायमा पर्ने पो हुन कि भन्ने त्रास बढेर गएको छ । कोरोना महामारीले गत वर्ष चैतको पहिलो महिनाबाट त्रसित बनाएको थियो । त्रासका बिच आम नागरिकले महिनौं विताएका थिए । अभावका विच महिनौ विताउँदा धेरै कमजोर नागरिकहरु ठगिए । उनीहरुमाथि बाध्यताको फाइदा उठाइएको थियो । फेरि त्यहि हर्कत दोहोरिन सक्छ ।
कोरोना नेपालमा मात्र होइन, विश्वभर फैलियो । जसले संसारको अर्थतन्त्र र मानव जीवनलाई गम्भीर मोडमा पुराएको छ । विस्तारै बदलिएको परिस्थितिमा थप संकट आइपर्ने लक्षण देखा परिसकेको छ । पछिल्लो केही दिनदेखि संक्रमितको संख्या बढ्न थालेको छ । छिमेकी राष्ट्रमा पनि संक्रमण उत्तिकै उच्च छ । खुला सीमाका कारण देखिएको चुनौतिबाट सुरक्षित रहन स्वमय् सचेत हुनु बाहेक अर्को विकल्प छैन । तर, यहाँका व्यापारीहरुबाट आम उपभोक्ता फेरि ठगिने दिन आउँदैछ ।
दैनिक उपभोग्य वस्तुमा व्यापारीले सर्वसाधारणमाथि घाँटी च्याप्ने काम गरेकै हुन् । सागसब्जी, नुन तेलदेखि अन्य उपभोग्य वस्तुमा व्यापारीको मनपरी चल्यो । अब , फेरि कोरोनाको नाममा वा बहानामा मुल्यवृद्धि हुन सक्छ । यसैले सरकारी निकाय र सरोकारवाला विच बेलैमा समन्वय र खवरदारी हुन आवश्यक छ । संकट र अप्ठ्यारा समयमा व्यापारीले कमाउने नै हुन् । थोरै व्यापारीमा मात्र धर्म रहेको हुन्छ । धेरै कमाउदा कोरोना लाग्दैन भन्ने त्यस्ता व्यापारीहरुले बुझ्नै पर्छ । यसैले संभावित जोखिमलाई मध्यनजर गरेर आम उपभोक्तामाथि हुन सक्ने अन्याय रोकौं ।