चौपाय तस्करी रोकौं
सम्पादकीय
झापाको हल्दिवारीमा यहि साता धार्मिक व्यक्तित्वहरुको कार्यक्रममा पशुचौपाय तस्करीको विषय उठाइएको छ । विशेष गरी गाई तस्करीको मामिलालाई उनीहरुले गम्भीर रुपमा लिएका छन् । यतिसम्म कि गाई तस्करी गर्नेलाई गाउँबाटै बहिस्कार गर्ने निर्णय गरेका छन् । झापाको दक्षिण क्षेत्रको बाटो प्रयोग गरेर अहिले पनि पशुचौपाय तस्करी भइरहेको छ । तर, यसलाई नियन्त्रण गर्न कोहि पनि तयार देखिएका छैनन् । गाउँ कै चिनजानका व्यक्तिसम्म तस्करीमा लागेको आरोप उनीहरुको छ ।
झापाको बाटोलाई चौपाय व्यापारीले तस्करीको अन्तिम रुट बनाएका छन् । केहि वर्षअघिसम्म मुख्य बाटोबाटै तस्करी हुने गरेको थियो । अहिले दक्षिण क्षेत्रको बाटो प्रयोग गर्दै आएका छन् । यहाँ सिधैं तस्करी देखिएको छैन । पश्चिमका व्यापारी र झापाका व्यापारी बिचको तालमेलले व्यापार गर्ने देखाइए पनि यसको अन्तरकुन्तर भनेको तस्करी नै हो । भारतबाट नेपाल प्रवेश गराई फेरि भारतको विहार हुँदै बंगलादेशसम्म तस्करी गर्ने गरिएको छ । झापाको ठुला बजारमा किनबेचको लागि आयात गरिएको भनिए पनि दक्षिण क्षेत्रबाट सयौं चौपाय भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय झापामा प्रहरी प्रमुख भएर आएका एसपी दिनेशराज मैनालीले चौपाय नियन्त्रणलाई आफ्नो कार्यसुचीको प्राथमिकतामा राखेका थिए । त्यतिबेला व्यापारीले उनलाई मुद्दा समेत हाले । मुद्दा व्यापारीकै पक्षमा फैसला पनि भयो । अदालतले व्यापारमा अवरोध गर्न नपाइने भनिदियो । तर, व्यापारको अन्तरकुन्तर भनेको अन्त्यमा तस्करी भन्ने कुरामा अदालतले नबुझे झैं गरिदियो । यसले व्यापारीलाई राहत मिलेको छ । त्यसपछि झापामा व्यापार अर्थात तस्करी थप मौलाएको छ । यसको नियन्त्रणमा सरोकारवालाले ध्यान दिन जरुरी छ ।