जेष्ठ १, २०८२ बुधबार

संखुवासभा सामुहिक हत्याकाण्ड : चार अभियुक्त पुर्पक्षका लागि कारागार चलान

संखुवासभा । संखुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोलामा एकै परिवारका ६ जनाको हत्या काण्डमा सहभागी चार अभियुक्तलाई पुर्पक्षका लागि कारागार चलान गर्न अदालतले आदेश दिएको छ ।

हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका स्थानीय खड्गबहादुर कार्की, लोकबहादुर कार्की, रणबहादुर कार्की र हस्तबहादुर कार्कीलाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत चैनपुरले सोमबार आदेश दिएको हो ।

सबै अभियुक्तहरुलाई पुर्पक्षका लागि कारागार कार्यालय खाँदबारी र एक बालकलाई बाल सुधार गृह विराटनगर पठाउन अदालतले आदेश दिएको छ । गत भदौ २१ गते बिहान मादी नगरपालिका–१ उम्लिङको खोला गाउँका तेजबहादुर कार्कीको परिवारका ६ जनाको सामुहिक हत्या भएको थियो ।

घटनामा ५२ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दिपेन कार्की र नातिनी सात वर्षीया गोमा कार्कीको विभत्स हत्या भएको थियो । घटनामा संलग्न भएको आरोपमा सुरुमा प्रहरीले लोकबहादुर कार्कीलाई पक्राउ गरेको थियो । पछि अनुसन्धान गर्दै जाँदा घटनामा थप तीन जनाको संलग्नता पुष्टि भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : आश्विन १९, २०७८ मंगलबार  १० : १५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]