नयाँ भेरियन्टको जोखिम
सम्पादकीय
स्वास्थ्य मन्त्रालयले अत्यावश्यक काम बाहेक देश बाहिर नजान नेपाली नागरिकलाई अनुरोध गरेको छ । कोरोना महामारीको त्रास विस्तारै कमि हुँदै गइरहेको बेला फेरि नयाँ भेरियन्ट ओमिक्रोन फैलिरहेको छ । नेपालमा हालसम्म सो भाइरस नफैलिएको कारण बेलैमा संक्रमणबाट सुरक्षित हुन मन्त्रालयले आग्रह गरेको हो । तर, यसको जोखिमका सन्दर्भमा नागरिक थोरै पनि चिन्ता भएको पाइएको छैन । कोरोना महामारीले हजारौ हजार नागरिकको विल्लीवाठ भएको सबैले देखिरहेका छौं, भागिरहेका छौं ।
सरकारले कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को संक्रमण देखिएका मुलुकहरूबाट नेपाल आउने यात्रुहरूको यात्रा व्यवस्थापन सम्बन्धी आदेश जारी गरेको छ । यसको अर्थ उच्च जोखिम छ । जोखिम भएकै कारण सरकारले सतर्कता अपनाइरहेको छ । आलसम्म २२ भन्दा बढि देशमा फैलिइसकेको ओमित्रलोन नेपाल प्रवेश गरेमा अवस्था नियन्त्रण बाहिर जान सक्ने विज्ञहरु बताइरहेका छन् । दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन नाइजेरिया र साउदी अरवमा समेत संक्रमण भइसकेको छ । यसले तीब्र संक्रमण हुनाले यसको नियन्त्रणका लागि स्वयम् जिम्मेवार र सुरक्षित हुन आवश्यक छ ।
युरोप, अफ्रिका र बेलायतमा संक्रमण फैलिइरहेको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनले कोरोनाभन्दा धेरै दुख दिने हो वा समस्या कम बनाउने हो । यसबारे स्वास्थ्य मन्त्रालयले जानकारी गराउन सकिरहेको छैन । सो भेरियन्टको अनुसन्धान भइरहेकाले त्यस बारे वास्तविकता अवस्य बाहिर आउने छ । संक्रमणजन्य रोगबाट छुटकारा पाउन वा संक्रमणबाट जोगिन सरसफाई, हिडडुल र दैनिक क्रियाकलापमा ध्यान दिन अपरिहार्य छ । शुरुआतमा ख्याल नगर्दा पटक–पटक लकडाउन व्यहोर्नु परेको थियो । त्यहि अवस्था आउन नदिन स्वास्थ्य मापदण्ड पालना गर्नैपर्छ । एक पटक आफैलाई प्रश्न गरौं त, म स्वास्थ्य मापदण्ड पालना गरिरहेको छु ?