पीसीआरको धन्दा रोकौं
सम्पादकीय
झापामा अहिले कोरोना परीक्षण गरेको नक्कली रिपोट बनाउने धन्दा चलिरहेको छ । जत्ति नै आदर्शबादी भए पनि मान्छे आफ्नै स्वार्थमा दौडिरहन्छन् भन्ने एउटा बलियो प्रमाण हो, यो धन्दा । स्वास्थ्य जस्तो संवेदनशील विषयमा समेत यस प्रकारको गतिविधि कुनै पनि मानेमा क्षम्य छैन । धन्दा चलाउनेहरु कारवाहीका भागेदार हुन् । यिनीहरुलाई प्रहरी प्रशासनले खोजेर सरकारी छाप किर्ते गरेकोसम्म मुद्धा चलाउन सकिन्छ । झापाको विभिन्न बजारमा यतिवेला पीसीआर रिपोटको व्यापार मौलाइरहेको छ । यसमा मुख्य दोषी बनाउन लगाउने नै हुन् । बनाइदिने अर्को दोषी हो ।
विश्वव्यापी कोरोना भाइरसले मानव जीवन नै तहसनहस बनाइसकेको छ । यसै मामिलामा लापरबाही ढंगले रिपोट बनाइदिनेहरु अपराधी हुन् । जसले स्वास्थ्य जस्तो संवेदनशील विषयमा व्यापार मात्रै खोजे, पैसा मात्रै रोजे । पैसाका लागि नेपाली व्यापारीहरु कुन हद्सम्म गिर्छन् भन्ने बलियो उदाहरण हो, यो । वैदेशिक रोजगारीमा जाने, काम विशेषले भारत जानेहरु अहिले यस प्रकारको गतिविधिमा संलग्न छन् । उनीहरु साइवर र फोटो स्टुडियोमा पुगेर नक्कली बनाइरहेका छन् । ५ सय देखि १ हजारसम्म तिरेर रिपोट बनाउनेहरुको विगविगी छ ।
कोरोना रिपोट नक्कली बनाएर आफु र अरुको स्वास्थ्यमा प्रत्यक्ष खेलवाड गर्ने काम जो कोहिले बन्द गर्नैपर्छ । यस तर्फ प्रहरी प्रशासनको ध्यान जान सकेको छैन । कुनै पनि हिसावले नक्कली कागजात बनाउन कसैले पाउदैन । यसको जिम्मेवारी प्रयोगकर्ता र बनाउनेले लिनुपर्छ । झापामा भइरहेको यो नक्कली कामलाई बन्द गराउन जिल्ला प्रशासन कार्यालयले तत्कालन पहलकदमी गर्नैपर्छ । रिपोट नक्कली हो या सक्कली हो भन्ने बारे छुट्याउन कागजमा हुने क्यूआर कोड जाँच गर्न सकिन्छ । यसबाट सबै सचेत बनौं । कोहि कसैले सो कार्यमा उक्साहट गरेमा प्रहरीलाई खवर गरौं । कारवाहीको दायरामा ल्याऊ ।