तरकारी आयात डरलाग्दो
सम्पादकीय
साउनदेखि कात्तिक महिनासम्म पूर्वी नाका काँकरभिट्टाबाट २ करोड ७७ लाखको ताजा तरकारी आयात भयो । कृषिप्रधान देशमा एउटै नाकाबाट यत्तिको परिमाणमा तरकारी मात्र आयात हुनु भनेको डरलाग्दो तथ्याङक हो । तरकारी उब्जाएर खान नसक्ने नेपालीको काँधमा कृषिप्रदानको नारा छदैछ । नारा एकातिर छ, अर्कातिर आयात बढेको बढैछ । तरकारी पनि आयात गर्नुपर्ने बाध्यताले यहाँको कृषि उत्पादन कमजोर बन्दै गइरहेको स्पष्ट छ । भारतबाट तरकारी आयात बढ्दो छ । सामान्यभन्दा सामान्य उत्पादन पनि भारतबाटै आयात गर्नु विडम्बना हो ।
यहाँ संभव नभएको वस्तु आयात गर्नुको विकल्प छैन । तर, संभावना भएका उत्पादन समेत भारतबाट आयात गर्नु परेको छ । बढ्दो माग भएकाले आयात भएको भन्ने छुट छैन । उर्वर माटो हुँदाहँदै पनि उत्पादन गर्ने जाँगर हराएर गएको छ । खेतवाली वर्षभरी बाँझो राखेर भारतबाट आयात भएको तरकारी किने खाने बानीले उपभोक्ताको स्वास्थ्य समेत कमजोर भइरहेको छ । बारीमा सामान्य काम गर्नेहरु समेत स्वस्थ्य छन् । आफ्नै उब्जाउने विहानबेलुका टार्नेहरुको स्वास्थ्य अझ राम्रो छ । पहिलो चौमासिकमा भारतबाट २५९ मेट्रिक टन करेला आयात भयो । तरकारीमा सबैभन्दा धेरै करेला आयात भएको छ तथ्याङक छ ।
गएको चार महिनामा १२ सय ९९ मेट्रिक टन ताजा तरकारी आयात भयो । काँकरभिट्टाबाट ६ लाख २४ हजारको ३९ मेट्रिक टन भण्टा, २४ लाख ३३ हजारको खोर्सानी १५८ मे.टन, ३७ लाख ४८ हजारको २३४ मे.टन काक्रा, २६ लाख २७ हजारको १६४ मे.टन, ३३ लाख ६७ हजारको २१० मे.टन परवल, ११ लाख ९५ हजारको ७५ मे.टन भेडे खोर्सानी, ७ लाख ४७ हजारको ४७ मे.टन बोडी, ९ लाख २८ हजारको ५८ मे.टन भिन्डी, २ लाख ८० हजारको १८ मे.टन सिमि, ३ लाख २३ हजारको २० मे.टन गाँजर आयात भएको छ । यो तथ्याङकले नेपालीहरु काम गरेर खान छोडे कि भन्ने संकेत गरेको छ । सबै सरोकारवालाले हरेक परिवारमा उत्पादन गर्न प्रेरणा दिनैपर्छ । स्थानीय तह, केन्द्र सरकारले अनिवार्य उत्पादनमा जोड दिनैपर्छ । यो आयात दर घटाउनैपर्छ ।