बिर्तामोडमा प्रहरीको लापरबाही
सम्पादकीय
झापाको स्थानीय निर्वाचनमा प्रहरी, प्रशासनको कमजोरी स्पष्ट रुपमा देखिएको छ । निर्वाचन अगावै झापामा सुरक्षा निकायको प्रभावकारी भूमिका देखिएन । शनिवार झापाको बिर्तामोड नगरपालिका अगाडि प्रहरीका सामुन्ने जिल्ला निर्वाचन कार्यालयको गाडि तोडफोडको प्रयास भयो । विभिन्न व्यक्तिहरुले सामाजिक सञ्जालमा गरेका भिडियो लाइभमा धेरै जसो नेपाली कांग्रेसका कार्यकर्ता देखिएका थिए । उनीहरुले निर्वाचनको गाडि नगरभित्र प्रवेश गर्न खोज्दा रोकेर खोजतलास गरेका थिए ।
एउटा सरकारी सवारीलाई रोकेर खोजतलास गर्नु भनेको वर्तमान सरकार र कर्मचारीको विश्वास नगर्नु हो । गठबन्धन सरकारले गराएको निर्वाचनमा आयोगले नै सुरक्षामाथि प्रश्न उठाइसकेको छ । यसैले बिर्तामोडमा पनि प्रहरीले जिम्मेवार पूर्वक काम गर्न नसकेको स्पष्ट भएको छ । नेपाली कांग्रेसका कार्यकर्ताले गाडिमा तोडफोड गर्ने प्रयास गरेका थिए । मतगणनास्थलमा कडा सुरक्षा नहुँदा यस प्रकारका जोखिम आइपर्ने छन् । यसैले तत्काल सुरक्षा व्यवस्थालाई मिलाइयोस् ।
बिर्तामोड प्रहरीले मौन अवधिमा यस क्षेत्रमा भएका वेथितीपूर्ण गतिविधिलाई नियन्त्रण गर्न सकेन । निर्वाचनका दिनमा पनि आम मतदाता सन्तुष्ट भएको पाइएन । विभिन्न दलका प्रतिनिधिहरुले पनि सुरक्षामाथि प्रश्न उठाए । अब, मौन अवधि र प्रचार–प्रसारको जस्तो मात्रै समय छैन । मतगणनाको समय संवेदनशिल भएको हुँदा प्रहरी प्रशासनले सुरक्षालाई कडाई गर्नैपर्छ । बिर्तामोडमा कमजोर बुझाईका कारण हुलदुंगा भएको हो । नमूना मतपत्रको कुनै औचित्य हुदैन, निर्वाचन पश्चात । मतदातालाई शिक्षा दिन मात्रै यसको प्रयोग हुन्छ भन्ने बुझाई तनाव सिर्जना गर्नेहरुमा हुन आवश्यक छ । बिर्तामोडका डिएसपीले पनि यहाँ सुरक्षा दिन नसक्ने हो भने जिल्ला प्रहरीलाई आवश्यक सहयोग माग्न जरुरी छ ।