स्थानीय तहका कर्मचारीद्वारा पेन डाउन, कामकाज ठप्प
झापा । स्थानीय तहका कर्मचारीहरूले शुक्रबारदेखि आन्दोलनलाई अझैँ सशक्त बनाएका छन् । उनीहरूले ७५३ वटै स्थानीय तहमा अत्यावश्यक बाहेकका सबै काम ठप्प पार्दै अनिश्चित कालिन पेन डाउन गरेका छन् । कर्मचारीहरूले पेन डाउन गरेपछि झापासहित देशभरका पालिकाको कामकाज प्रभावित बनेको छ ।
यता भद्रपुर नगरपालिकाका कर्मचारीले पेन डाउन गर्दा सेवाग्राहीलाई समस्या परेको छ । गत आइतबारदेखि राजधानीको माइतीघर मण्डलामा शान्तिपूर्ण आन्दोलन गरिरहेका स्थानीय तहका कर्मचारीहरूले आफ्नो माग पूरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी सरकारलाई दिएका छन् ।
संसद्मा पेस हुने तयारीमा रहेको सङ्घीय निजामती ऐनप्रति असन्तुष्ट जनाउँदै स्थानीय तहका कर्मचारीहरूले सङ्घर्ष समिति बनाएरै आन्दोलन गर्दै आएका छन् । आन्दोलित कर्मचारीहरूले स्थानीय तहकै प्रमुख प्रशासकीय अधिकृत हुनुपर्ने, तीनै तहमा समान वृतिविकास , अन्तर प्रदेश सरुवा,विना सहमति चक्रीय सरुवा प्रणाली , समायोजनका कर्मचारीको उचित व्यवस्थापन , उमेर हद र सेवा अवधि गणना , अस्थायी र करार कर्मचारीको व्यवस्थापन , सेवा सुरक्षाको सुनिश्चितता हुनुपर्ने माग राखेका छन् ।