प्रदेश १ मा ४६ जनामा कोरोना पुष्टि
विर्तामोड । प्रदेश राजधानी विराटनगरमा ३८ सहित प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ४६ जना नयाँ संक्रमित भेटिएका छन् ।
नयाँ थपिएका संक्रमितमा विराटनगरसहित मोरङका ४१, खोटाङ, उदयपुर र झापा एक/एक र प्रदेश १ बाहिरका दुई जना रहेका छन् । प्रदेश १ मा पाँच सय ४७ जनाको पीसीआर परीक्षण हुँदा २० महिला र २६ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
पाँच सय एक जनाको रिपोर्ट नेगेटिभ आएको छ । नयाँ भेटिएका संक्रमितमा सबैभन्दा बढी विराटनगरमा १८ महिला र २० पुरुष गरेर ३८ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । विराटनगर कोरोना संक्रमणबाट प्रदेश १ मा सबैभन्दा बढी प्रभावित स्थानीय तह हो । विराटनगरमा हालसम्म संक्रमित संख्या एक हजार चार सय दुई जना पुगेको छ । १७ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।
विराटनगरबाहेक मोरङको धनपालथानमा दुई र कटहरीमा एक पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । खोटाङको साकेला गाउँपालिकामा एक पुरुष, उदयपुरको स्थानीय तह नखुलेका एक पुरुष, झापाको शिवसताक्षीकी एक महिला र प्रदेश १ बाहिरका एक महिला तथा एक पुरुषमा कोरोना देखिएको जानकारी मन्त्रालयले दिएको छ ।
प्रदेश १ मा हालसम्म कोरोना संक्रमितको संख्या चार हजार सात सय ४२ पुगेको छ ।
अहिलेसम्म एक लाख सात हजार पाँच सय ३३ जनाको पीसीआर परीक्षण हुँदा एक लाख दुई हजार सात सय ९१ जनाको रिपोर्ट नेगेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा उपचारपछि निको भएर आइतबार सात जना डिस्चार्ज भएका छन् । उनीहरु सबै मेची अस्पताल झापाबाट डिस्चार्ज भएका हुन् । प्रदेश १ मा हालसम्म डिस्चार्ज हुनेको संख्या दुई हजार ६३ पुगेको छ ।