बैशाख ६, २०८१ बिहीबार

दशैँको अग्रिम टिकट कात्तिक लागेपछि मात्र

काठमाडौँ । लामो तथा मध्यम दूरीका सार्वजनिक यातायातले दशैँका लागि अग्रिम टिकट बुकिङ कात्तिक लागेपछि मात्र खुलाउने भएको छन् । हाल अधिकांश मानिसले काठमाडौँ उपत्यका छाडिसकेकाले हतार गर्नु नपर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ । कलेज तथा विद्यालय पनि खुला नभएकाले निकै कम विद्यार्थी मात्र काठमाडौँमा रहेकाले ढिलो गरी खुलाए पनि हुने महासङ्घले जनाएको छ ।

विगतका वर्षमा जस्तो यसपालिको दशैँमा यात्रुको त्यति चाप नहुने महासङ्घका वरिष्ठ उपाध्यक्ष विजय स्वाँरको भनाइ छ तर विगतमा जस्तो नभए पनि यात्रुको चाप सामान्य दिनभन्दा बढी नै हुने उहाँको दाबी छ । दशैँका अवसरमा पूर्ण सिट क्षमतामा बस सञ्चालन गर्नुपर्ने व्यवसायीको माग छ । आधा क्षमतामा, यात्रुको चाप बढेर भीड अनियन्त्रित हुनसक्ने र माग पनि नधान्ने वरिष्ठ उपाध्यक्ष स्वाँरले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “चाडबाड मुखमा आएको छ । असोज १५ देखि पूर्ण सिट क्षमतामा चाउनुको विकल्प छैन । त्यसो नगरिए यात्रुले टिकट पाउने सम्भावना निकै कम हुन्छ । आधा सिट मान्छे हालेपछि आधा मान्छे त काठमाडौँमा रहन्छन्, गाडीको सङ्ख्या त थपिएको छैन । ”

आन्तरिक हवाई उडानलाई पूर्ण सिट क्षमतामा सञ्चालन हुन दिएपछि बसलाई मात्र रोक्नुको कुनै अर्थ नहुने महासङ्घले जनाएको छ । सुरक्षा सावधानी अपनाएर बस पूर्ण सिट क्षमतामा सञ्चालन गर्नुको विकल्प नभएको महासङ्घका महासचिव सरोज सिटौला भन्नुहुन्छ, “दशैँमा काठमाडौँबाट जाँदा यात्रुको चाप भए पनि फर्कदा गाडी खाली आउनुपर्छ । ” चाडबाडमा सार्वजनिक सवारीसाधनको व्यवस्थापनका लागि यातायात व्यवस्था विभागले असोज ११ व्यवसायीसँग बैठकको आयोजना गरेको छ । अग्रिम टिकट बुकिङ, कोरोना भाइरसबाट सुरक्षित हुने सुरक्षा मापदण्डलगायतका बारेमा छलफल गर्न व्यवसायीलाई बोलाइएको विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : आश्विन १०, २०७७ शनिबार  ९ : ०० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]