चैत्र १६, २०८० शुक्रबार

स्वास्थ्य क्षेत्रमा क्रान्ति : ३९६ पालिकामा आज एकै साथ अस्पताल शिलान्यास हुँदै

झापा । सरकारले आज (सोमबार) देशका ३९६ पालिकामा अस्पताल र सात वटै प्रदेशमा सरुवा रोग अस्पताल भवनको शिलान्यास गर्दैछ ।

पालिकासम्म स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले सरकारले आज एकैसाथ अस्पताल भवन शिलान्यास गर्न लागेको हो । सरकारले एकैचोटी ३९६ पालिकामा अस्पताल शिलान्यास हुनुलाई स्वास्थ्य क्षेत्रमा क्रान्तिको शुरुवात भएको दावी गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणमा अस्पताल नपुगेका ३९६ पालिकामा पाँचदेखि १५ शैय्याको अस्पताल बन्ने जनाएको छ ।

सोमबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ललितपुरको गोदावरी नगरपालिकामा बन्न थालेको अस्पताल भवनको शिलान्यास गर्नेछन् । यस्तै पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले इलामका सूर्योदय नगरपालिका, माई नगरपालिका र सन्दकपुर गाउँपालिकामा बन्ने अस्पतालको शिलान्यास गर्नेछन् ।

यस्तै स्वास्थ्यमन्त्री भानुभक्त ढकालले चितवनको भरतपुरमा बन्न थालेको सरुवा रोग अस्पताल भवनको शिलान्यास गर्नेछन् । सरकारले यसै आर्थिक वर्षमा सात वटै प्रदेशमा सरुवा रोग अस्पताल बनाउने घोषणा गरेको थियो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार सात वटै प्रदेशमा ५० शैंयाको सरुवा रोग अस्पतालको भवनको शिलान्यास हुने बताए।

सरुवा रोगका बिरामीले प्रदेशमा सेवा पुर्‍याउने उद्देश्यले सरकारले यसै आर्थिक वर्षमा अस्पतालका लागि बजेट विनियोजन गरेको हो । अहिले सङ्घमा एक मात्र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल रहेको छ । पालिकामा बन्ने अस्पताल भवनको सङ्घीय सांसद र पालिकाका प्रमुखले पनि शिलान्यास गर्नेछन् ।

यसअघि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पालिकालाई अस्पतालको भवन शिलान्यास गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । ७५३ पालिकामध्ये ६४९ पालिकामा अस्पताल नै रहेका छैनन् । तीमध्ये पहिलो चरणमा ३९६ पालिकामा अस्पतालको भवन शिलान्यास गर्न लागिएको हो ।

प्रदेश–१ मा ३२ पालिकामा, प्रदेश–२ मा २० पालिका, वाग्मती प्रदेशमा १९ पालिका, गण्डकी प्रदेशमा ५३ पालिका, लुम्बिनी प्रदेशमा ६० पालिका, कर्णाली प्रदेशमा २८ पालिका र सुदूरपश्चिम प्रदेशमा ३४ पालिकामा अस्पताल बनाउनका लागि भवन शिलान्यास गरिनेछ ।

अर्थ मन्त्रालयबाट पहिलो चरणमा ३९६ पालिकालाई पाँचदेखि १५ शैंयाको अस्पताल बनाउनका लागि ६४ अर्ब नौ करोड बजेट पठाइसकेको छ । पाँच शैंयाको अस्पतालका लागि ७० लाख, १० शैंयाको लागि ८५ लाख र १५ शैंयाको लागि एक करोड रुपैयाँ पठाइसकिएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक एवं आधारभूत अस्पताल शिलान्यास समन्वय समितिका संयोजक माधव लम्सालले स्वास्थ्य सेवामा अहिलेसम्मकै ठूलो काम हुन गइरहेको बताएका छन् ।

‘यसलाई स्वास्थ्य क्षेत्रमा क्रान्ति नै भन्दा हुन्छ । उपचारात्मक सेवामा यति ठूलो काम अहिलेसम्म भएको छैन,’ उनले भने । सबै स्थानीय तहमा गुणस्तरीय आधारभूत स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्न आधारभूत अस्पताल निर्माण गरिन लागेको उनले बताए ।

प्रकाशित मिति : मंसिर १५, २०७७ सोमबार  ८ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]