बैशाख ७, २०८१ शुक्रबार

‘कृषिथोकमा अब किसानमाथि ज्यादती हुन दिन्न’

व्यापारीको मनपरी र विचौलियाको एकाधिकार बन्द गर्ने

बिर्तामोड । कृषिथोक बजार बिर्तामोडमा नयाँ नेतृत्व आएपछि वर्षौदेखि थुप्रिएका समस्या र बढ्दै गएका विकृति अन्त्य हुने अपेक्षा गरिएको छ । किसानमाथि ज्यादती बढ्दै गएको कृषिथोक बजारले किसानबाट प्रतिनिधित्व गरेका कमल पौडेललाई अध्यक्षका रुपमा पाएको छ । पौडेलले किसानको हित गर्छन कि व्यापारीकै इसारामा हिड्छन् भन्ने हेर्नलाई अझै समय पर्खनुपर्ने हुन्छ ।

कृषक चौतारी

पद ग्रहण गरेको एक हप्तामा पौडेललाई उनकै कार्यकक्षमा इजलासका प्रतिनिधिले सोधे, –तपाईले कृषिथोकभित्र के कस्ता समस्याको पहिचान गरिरहनु भएको छ ? पौडेलले बजारमा लामो समय नेतृत्व बिहीन रहेकोले समस्याहरु नगन्य मात्रामा रहेको बेलिविस्तार लगाए ।

अध्यक्ष कमल पौडेल

नवनिर्वाचित अध्यक्ष पौडेलले कृषि बजार किसान ,व्यवसायी र उपभोक्ताको साझा संस्था भएको बताएका छन् । बजारमा फोहोर व्यवस्थापनको ठुलो समस्या भएको जानकारी दिए । उनले माघ महिनाभित्र फोहोर व्यवस्थापको समस्या समाधान गर्ने बताएका छन् । चोरी पैठारी, विपद् जोखिम, वद्यशाला , मासु पसलको फोहोर व्यवस्थापन बजारक्षेत्रको मुख्य समस्या रहेको पौडेलको भनाई छ । पौडेलले बजारभित्रको सुरक्षाको लागि सिसि क्यामेरा जडान गर्ने योजना रहेको सुनाए । मासु व्यवसायीले मासु काट्ने र विक्रि मात्रै गर्न ठाउँ लिए पनि बाख्रा र कुखुरा ल्याएर बजारमै राख्ने गरेकाले दुर्गन्ध बढेको उनको भनाई छ ।

माछा मासु लाइन

प्रदेश १ को सम्पत्तिको रुपमा रहेको कृषि बजारलाई सुन्दर बनाउन फोहोर व्यवस्थापन, व्यवस्थित शौचालय र पार्किङको व्यवस्था गरिने योजनाबारे इजलाससित बताए ।
बजारका समस्यालाई दुई किसिममा विभाजन गरेर दिर्घकालिन र अल्पकालिन रुपमा समाधान गर्दै जाने नयाँ समितिको योजना छ । बजारमा कृषि उपजको नीति अनुरुप एक परिवार एक स्टल दिने व्यवस्था भए पनि एकै परिवारका धेरै वटा स्टल रहेको बुझिएको छ । यसबारे ध्यानाकर्षण भएको अध्यक्ष पौडेलले बताए । उनले बजारभित्र अनेकौं समस्या भएकाले त्यसको अध्ययन गरेर समाधानको बाटोमा अघि बढ्ने जानकारी दिए ।

खशी राख्ने ठाउँ

नेतृत्व विहीन हुँदा व्यापारीले बजारमा मनपरी लागु गरेका थिए । जसका कारण कृषिथोकमा कृषक पीडित बनिरहेका छन् । यसबारे अध्यक्ष पौडेलले भने, ‘अब कृषकमाथि ज्यादती हुने छैन ।’ कृषकले निर्वाध रुपमा कृषिवस्तु बजारमा ल्याएर बेचविखन गर्ने वातावरण बनाइने उनको भनाई छ । ‘बजारमा कृषकको औला भाँचिएको इतिहास छ, अब त्यस्तो हुन दिन्न ’ – पौडलले भने । कृषकमाथि ज्यादती हुन नदिने र विचौलियालाई निषेध गर्ने अडान बनाएका अध्यक्ष पौडेलले उपभोक्ताका समस्या समेत पहिचान गरेर समाधान गर्ने बताएका छन् । हदै सहुलियत भाडामा बसेका व्यापारीले मनमरी मुल्य लिने गरेको उपभोक्ताको गुनासो अर्कातिर छ । एक उपभोक्ता भन्छन्, सहुलियत भाडामा बसेर पनि उपभोक्ताको ढाड सेक्नु गलत हो । मुल्यबारे व्यवस्थापन समितिले अध्ययन गर्ने र मुल्य सुचि राख्न व्यवसायीसँग आग्रह गरिने बताइएको छ ।

स्टलमा विक्रम बोहोराले राखेको गोदाम

किसानको उत्पादनलाई बजारमा संकलन केन्द्र बनाएर सहज किनबेचको व्यवस्था गरिने भएको छ । तर, बजारभित्र रहेको कृषक चौतारीमा अझै व्यवसायीकै हस्तक्षेप हुने गरेको छ । सोहि विषयमा मंगलवार व्यवसायी र किसानबिच नयाँ नेतृत्वसँग छलफल समेत चलेको थियो । कृषक चौतारीमा किसानलाई किनवेच गर्न विशेष व्यवस्था मिलाइए पनि बजारका होलसेल व्यापारी समेत व्यापारका लागि सोहि ठाउँ जाने गरेका छन् । स्टल भएका र होलसेल व्यापारीले चौतारी हस्तक्षेप गरेको किसानको गुनासो छ । किसानको ठाउँमा किसानले नै व्यापार गर्न पाउनुपर्ने समितिका अध्यक्ष पौडेलको धारणा छ । कतिपय व्यापारीले स्टल छोडेर समेत कृषक चौतारीमा व्यापार गर्न जाने गरेको बताइएको छ ।

कृषिथोक बजारमा पछिल्लो समय फस्टाएको सटर किनवेच बारे अध्यक्ष पौडेल सचेत भएको बताएका छन् । उनले कृषि वस्तु किनवेचका लागि लिएको सटर लाखों रुपैयामा किनवेच भइरहेको जानकारी आएमा कानुनी प्रक्रियाअघि बढाइने बताए । पौडेलले व्यवस्थापन समिति आएपछि यस प्रकारका अवैध काम हुन नदिएको दावी गरेका छन् । उनले आगामी दिनमा सटर किनबेच गर्न नदिने बताए । ३ सय १४ जना व्यापारी रहेको कृषिथोकमा २ सय ५६ जनाले नविकरण गरेका छन् । नविकरण नहुनुको कारण अवैध रुपमा स्टल र सटर किनवेच हुन सक्ने सूचना प्राप्त भएको छ ।

प्रकाशित मिति : माघ १४, २०७७ बुधबार  ११ : ०१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]