विर्तामोडमा कुकुर विरुद्ध मुद्दा घट्यो
कुकुरको बन्ध्याकरण र रेविज विरुद्धको खोप लगाईदैं
विर्तामोड । झापाको विर्तामोडमा सामुदायिक कुकुरको बन्ध्याकरण र रेविज विरुद्धको खोप लगाउन थालिएको छ । बिहीवारबाट शुरु भएको कार्यक्रम एक हप्तासम्म सञ्चालन हुने पशुपंक्षी तथा मत्स्य विकास शाखा प्रमुख सावित्रा दाहालले बताइन् । एक कार्यक्रमको आयोजना गरी सो कार्यक्रम प्रारम्भ गरिएको छ ।
हिमालयन एनिमल रेस्क्यू ट्रष्ट (हार्ट) नेपालको प्राविधिक सहयोगमा आयोजना गरिएको बन्ध्याकरण एवम् रेविज विरुद्धको खोप लगाउने कार्यक्रम विर्तामोड नगरपालिकाले आयोजना गरेको हो । फागुन १९ गतेसम्म सञ्चालन हुने कार्यक्रममा विर्तामोड क्षेत्रका सयौं सामुदायिक कुकुरलाई बन्ध्याकरण गरिनेछ । सोहि कुकुरलाई रेविज विरुद्धको खोप लगाइने हार्ट नेपालका प्राविधिकले जानकारी दिए ।
सो कार्यक्रम उद्घाटनको क्रममा उपप्रमुख पवित्रा देवी प्रसाईलाई पछिल्लो समय कुकुर विरुद्ध मुद्दा आउन छाडेको जानकारी दिइन् । उनले नगरपालिकामा निर्वाचित भएको पहिलो वर्ष विर्तामोडका अधिकांश क्षेत्रबाट कुकुर विरुद्ध मुद्दा परेको बताइन् । सोहि वर्षदेखी सामुदायिक कुकुरलाई खोप लगाउँदै बन्ध्याकरण गरेपछि कुकुरको समस्या कम भएको उनको भनाई छ ।
उपप्रमुख प्रसाईले बाख्रा टोकेर मारेको विषयमा धेरै मुद्दा न्यायिक समितिमा आएको बताइन् । बाख्रा टोकेर, मान्छेलाई नै टोकेका आधारमा पनि मुद्दा परेको प्रसाई बताउँछिन् । उनले कुकुरको बन्ध्याकरण र रेविज विरुद्धको खोप लगाएपछि नियन्त्रण भइरहेको दावी गरिन् ।
प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद दाहालले रोग नियन्त्रणका लागि रेविज विरुद्धको खोप प्रभावकारी हुने बताए । पहिलो दिन बिहीवार १२ वटा डाँगो र २९ वटा छाउरी कुकुरको बन्ध्याकरण गरिएको पशुपंक्षी तथा मत्स्य विकास शाखाले जनाएको छ ।