बैशाख १३, २०८१ बिहीबार

‘यो पटक सुवास भट्टराईको प्यानललाई भोट’

बिर्तामोड । गत वर्षसम्म विर्तामोड वाणिज्य संघको निर्वाचनमा व्यवसायी विभाजित हुन्थे । मतदाता उम्मेद्वारको प्यानल जस्तै गरी विभाजित भएर निर्वाचनमा सहभागी बन्ने गरेका थिए । तर, फागुन १६ गते आइतवार हुने निर्वाचनमा अधिकांश व्यापारीले सुवास भट्टराईले नेतृत्व गरेको प्यानल संयुक्त व्यवसायिक प्यानललाई मतदान गर्ने सार्वजनिक रुपमै अभिव्यक्ति दिइरहेका छन् । थोरै व्यापारी मात्र अर्काे कित्तामा उभिएको पाइन्छ ।

सुवास आफैमा इमान्दार र सालिन व्यक्ति हुन्, एक मतदाता भन्छन् – यो पटक सुवास भट्टराईको प्यानललाई भोट दिन्छौं । भट्टराईले आफ्नो प्यानलमा आफै जस्ता इमान्दार, सालिन र विर्तामोडको व्यवसायिक क्षेत्रलाई नेतृत्व गर्न सक्ने व्यक्ति छनोट गरेका छन् । उनले भने– हरेक वर्ष पार्टी हेरियो , अब कुशल नेतृत्वलाई मत दिन्छौं । कुशल नेतृत्व भनेकै सुवास भट्टराईको प्यानल हो ।

बिर्तामोड वाणिज्य संघमा नेपाली कांग्रेस निकट व्यवसायीले ‘कब्जा’ नै गर्दै आएका छन् । अहिले वाणिज्य संघ भन्दा नाक खुच्याउनु परेको छ । संघको पछिल्लो वर्षहरुमा व्यापारीले कुनै आशा, भरोशा गर्न सकेनन् । वाणिज्य संघप्रति नैरश्यता बढ्दै जानु विडम्बना हो , एक व्यवसायी थप्छन्, अब नयाँ आशा र भरोशाका लागि नयाँ नेतृत्व चाहिन्छ । नयाँ नेतृत्व भनेकै , नयाँ अनुहार अर्थात भट्टराईको प्यानल हो ।

कृषिथोक क्षेत्रमा लामो समयदेखि व्यापार गर्दै आएका एक व्यवसायी भन्छन्, विर्तामोडमा व्यवसायीले क्रान्ति गर्दैछन् । त्यो क्रान्ति भनेको संघको विगत भत्काउने हो । उनले पुराना मान्छेलाई जिताएकै कारण संघले व्यवसायीको काम गर्न नसक्ने दावी समेत गरे । भट्टराईको प्यानल निर्वाचित गर्न पाउनु यस क्षेत्रको व्यवसायीको लागि ठुलो अवसर भएको उनको भनाई छ ।

ठुला मार्केटका व्यापारी देखि सामान्य व्यापारीले भट्टराईको प्यानलमा मत दिने बताएका छन् । यो पटक नयाँ नेतृत्व स्थापित गर्ने अठोटमा साथ संघमा भट्टराई प्यानल विजयी गराउनुपर्ने बताइरहेका छन् ।

‘इमान्दार र व्यवसायीका पीरमर्का बुझ्ने खालको नेतृत्व अबको आवश्यकता हो’ बिर्ताबजारका व्यवसायी दिपक पाठक भन्छन्, ‘विगतको संघमा पनि रहेका धेरै मानिसहरु फेरि पनि उम्मेदवारको सूचिमा देखिन्छन् । तर तिनले विगतमा परिणाम देखिने गरी केही काम गरेको पाइएन । यसपटक सुवास भट्टराईको प्यानललाई जिताउनु पर्छ भनेर साथीहरुलाई भनिरहेको छु ।’

आफूलाई पार्टीभन्दा पनि स्वतन्त्र बताउने एकजना व्यवसायीले भने, अनेक चुनौतिका बीच संघको वर्तमान अध्यक्षमा कुमार भट्टराईलाई जिताएको हो तर कार्यकाल भरमा उनले आफ्नो कुनै पनि प्रतिवद्धता पूरा गरेको पाइएन । निर्वाचनका बेला घोषणापत्र र प्रतिवद्धतापत्र प्रस्तुत गर्ने तर कार्यकालभरि कार्यान्वयन नगर्ने नेतृत्व जिताएर हामीले के पायौं भन्ने पनि लाग्न थालेको छ ।

सर्वसाधारण मतदाताका नजरमा तुलनात्मकरुपमा अध्यक्षका दुई प्रत्यासी सुवास र प्रकाश अलग–अलग पृष्ठभूमि, स्वभाव र व्यवसायिक आचरणका छन् ।

सुवास भट्टराई नेतृत्वको संयुक्त व्यवसायिक प्यानलले २७ बुँदे प्रतिवद्धता पत्र बनाएर मतदातासमक्ष भोट मागिरहेको पाइन्छ । ‘उनीहरुको प्रतिवद्धतापत्रमा गर्न नसकिने उडन्ते कुराहरु केही देखिँदैनन्’ चारपानेका व्यवसायी उमेश शर्मा थप्छन्, ‘तर राम्रालाई जिम्मेवार ठाउँमा पुर्याउभन्दा हाम्रालाई जिताउन बजारमा गुलिया नारा लगाएर मानिसहरु हिंडिरहेका छन्, मतदाताले सचेत भएर विवेक प्रयोग गर्नु जरुरी देखिन्छ ।’

बिर्तामोड नगर क्षेत्रका मतदाताले अध्यक्षका दुवै प्रत्यासीका विषयमा अनेकन अपेक्षा, गुनासा र टिप्पणी गरेको सुन्न पाइन्छ । कोही भन्छन्ः प्रकाश शिवाकोटी व्यवसायिक क्षेत्रमा राम्रो सम्भावना बोकेका व्यक्ति हुन् तर, नेतृत्वमा उनको अहिलेसम्मको प्रस्तुति औपचारिकतामा मात्रै सीमित छ । लामो समयदेखि वाणिज्य संघको कार्यसमितिमा रहेर पनि शिवाकोटीले आफ्नो कुनै भिजन बनाउन सकेका छैनन् । उनी सधैँ अरुको भिजनमा मात्रै चल्छन् ।

यता, सुवास भट्टराईका बारेमा पनि टिप्पणीहरु कम छैनन् । सधैँ व्यवसायीका बीचमा देखिने भट्टराई अरुको भन्दा आफ्नो योजनामा चल्छन् । आफैँ योजना बनाउँछन् र कार्यान्वयनमा लैजान सरोकारवाला सबैलाई एकत्रित गर्छन् । सुवासको समन्वय शैली राम्रो छ ।

बिर्तामोड उद्योग वाणिज्य संघमा नरहेर पनि सहरको सुरक्षाका लागि सीसी क्यामेरा जोड्ने अभियानमा सुवासको भूमिका नेतृत्वदायी थियो । उनी व्यवसायिक सुरक्षाका लागि प्रविधिमा पहुँच बढाउन चाहन्छन् । बिर्तामोडको व्यवसायिक प्रवर्धनका लागि रात्रिकालिन बजारको खाँचो छ भन्ने सुवास भट्टराईको ठम्याई छ । उनले आफ्नो प्रतिवद्धता पत्रमा यसलाई गहकिलो ढंगले उडान गरेका छन् । तर प्रकाशले विगतमा कार्यसमितिमा नै रहेर पनि रचनात्मक काममा अग्रसर नभएको धेरैको गुनासो सुनिन्छ ।

लोकतान्त्रिक प्यानलका अध्यक्षका प्रत्यासी शिवाकोटी आफ्नो व्यवसाय अलास्का अटोमोवाइल्स रहेको क्षेत्रको सामाजिक काम गर्ने एउटा संस्थाको अध्यक्ष पनि हुन् । तर उनी यतिसम्म असामाजिक छन् कि अलास्का अटोमोवाइल्सको पछाडिको भूभागमा बसोबास गर्ने बासिन्दालाई छेउबाट हिंड्न छिमेकीले दिएको बाटोसमेत बन्द गराउन अग्रसर हुन्छन् । यादव थरका छिमेकीलाई आफ्नो जमिन काटेर पछाडिका बासिन्दालाई बाटो नदिन उनले लामो समय उक्साएको घटनाले लामै चर्चा कमाएको थियो ।

सभा समारोहमा आफ्नो धारणा राख्दा प्रकाशलाई सधैँ सकस हुन्छ । उनी सधैँ लिखित भाषण मात्रै पढेर सुनाउँछन् । शब्द चयन र समयलाई ख्याल गर्दैनन् । तर अध्यक्षका अर्का प्रत्यासी सुवासलाई मञ्चमा बोल्न, विषय वस्तुको प्रस्तुति गर्न लिखित भाषणको सहारा लिनु पर्दैन । व्यवसायिक तर्क र क्षमताका आधारमा उनी मञ्चमा प्रस्तुत हुन्छन् । आफ्नो धारणा राख्छन् र अरुलाई ‘कन्भिन्स’ गर्ने प्रयत्न गर्न उनी सक्षम छन् । सुगम शान्ति टोलको नेतृत्वमा रहेर भट्टराईले अनेकन कामहरुलाई समुदायको प्रगतिमा लगाएका उदाहरणहरु प्रसस्त भेटिन्छन् ।

अध्यक्षका दुई प्रत्यासीका गुण र विशेषता केलाउँदा यस्ता धेरै विषयहरु उठ्न सक्छन् । जसले अबको नेतृत्व कस्तो हुनुपर्छ भन्ने जान्नका लागि मतदाताले अवसर पनि पाउनु पर्छ । चुनाव प्रचारका शिलशिलामा मिडियामा आएर बोल्नै नचाहाने उम्मेदवारले कसरी बिर्तामोडको वाणिज्य संघको नेतृत्व गर्छ भन्ने पनि प्रश्न उठाउने गरिएको छ ।

उम्मेदवारी मनोनयन पछिका दिनमा पटक पटक भक्सपप र अन्तरवार्ता वा बाइटका लागि आग्रह गर्दा प्रचार संयोजकको स्वीकृतिमा मात्र बोल्छु भन्नुले अध्यक्षका उम्मेदवार शिवाकोटीमा आत्मविश्वास भनेको पटक्कै नरहेको एकजना सम्पादकले अनुभव सुनाएका छन् ।

उनी छिट्टै आवेशमा आउने भएका कारण पटकपटक विवादको घेरामा पनि परेका उदाहरण छन् । असहमति राख्नेसँग प्रकाश खरोरुपमा उत्रिन्छन् । उनको स्वभावले उनलाई सधैँ हानी गरेको छ । तर अर्का प्रत्यासी शालीन छन् । नहासी नबोल्ने उनको स्वाभाव छ । उनी शिष्ट ढंगले आफ्नो तर्क राख्छन् । सुवासको नरिसाउने स्वभाव व्यवसायीका बीच लोकप्रिय छ । आफूसँग असहमति राख्नेलाई तर्कले प्रभावित गर्न सक्ने क्षमता सुवासमा भेटिन्छ ।

प्रकाश शिवाकोटी बिर्तामोडका साना र मझौला व्यवसायीको सम्पर्कबाट सधैँ टाढा रहन्छन् । उनी साना व्यवसायीलाई गन्दै गन्दैनन् । ठूला व्यवसायीलाई मात्रै व्यवसायी ठान्छन् र सानाहरुको हित र व्यवसायिक पक्षमा कममात्र बोल्छन् भन्ने आम व्यवसायीइको बुझाई छ । यको विपरित सुवास भट्टराई चाहिँ साना वा ठूला सबै व्यवसायीको पहुँचमा छन् । सानोको संरक्षणमा पनि उनी सधैँ सक्रिय हुन्छन् । ठूला व्यवसायीको साथ, सल्लाह र समर्थन सधैँ लिने प्रयत्न गर्छन् । बिर्तामोडमा व्यवसायिक क्षेत्रबाट गरिने सबै प्रकारका काममा सुवासको समन्वय र सक्रियता हुने गरेको देखिन्छ ।

कोरोना संक्रमण र यसबाट उत्पन्न परिस्थितिमा बजार बन्दलाई मात्रै समाधानको उपाय ठान्ने स्थानीय सरकार र प्रशासनको कार्यशैलीविरुद्ध व्यवसायीका रुपमा सुवासले विरोध गरिरहँदा वाणिज्य संघको नेतत्वमा रहेका प्रकाश शिवाकोटी चुँसम्म बोलेका थिएनन् । प्रशासन रिसाउला भन्ने डरमा प्रकाशले व्यवसायीको हितमा पनि बोल्न नचाहेको हिजोजस्तो लाग्छ, उनका समकालीन एकजना कपडा पसलका सञ्चालकको गुनासो हो यो ।

यसैले अबको वाणिज्य संघ कस्तो बनाउने र कस्तो प्रतिवद्धता लिएका व्यवसायीलाई नेतृत्वमा पुर्याउने भन्ने जिम्मा मतदाता समक्ष आएको छ । यसको छिनोफानो आगामी फागुन १६ गते चार हजार ५०० जनाभन्दा बढी मतदाताले गोप्य मतदानबाट गर्नुपर्नेछ ।

धेरै मतदाताको एउटा गुनासो र गम्भीर आरोप छ लोकतान्त्रिक प्याननलाई । केही दिन पहिले साना व्यवसायीहरुबाट सदस्यता नविकरण गरिदिने भनेर आज उम्मेदवार रहेका कतिपय नेताहरुले कागजात लिएको तर मतदाता परिचयपत्र नदिएको आरोज पनि छ । यो घटनाले धेरै मतदाताहरु मतदानबाट बञ्चित हुनसक्ने खतरातर्फ पनि सरोकारवालाले ध्यान दिन जरुरी देखिन्छ ।

प्रकाशित मिति : फाल्गुन १५, २०७७ शनिबार  ८ : ४९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]