मंसिर १२, २०७८ आईतबार

कमलमा प्रथम उपाध्यक्ष कप भलिवल हुने

कमल । झापाको कमल गाउँपालिकामा प्रथम उपाध्यक्ष कप भलिबल प्रतियोगिता हुने भएको छ । कमल गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने सो प्रतियोगिताको बारेमा शनिवार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि समितिले प्रतियोगिताका बारेमा जानकारी गराएको हो ।

झापा जिल्लाभित्रका पालिका स्तरीय हुने उक्त प्रतियोगिता सफल बनाउन खेलकुद समिति सदस्य सुदिप थुलुङको संयोजकत्वमा उपसमिति गठन गरिएको छ । प्रतियोगिताको विजेता टोलीले नगद १ लाख १ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद ५१ हजार रुपैया सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने खेलकुद समितिका सदस्य सचिव तथा कमल गाउँपालिका शिक्षा शाखा प्रमुख सुर्य प्रसाद न्यौपानेले बताए ।

मंसिर १४ गतेबाट १६ गते सम्म सो प्रतियोगिता केरखा खेल मैदानमा सञ्चालन हुने खेलकुद समिति सहसंयोजक तेज कुमार राईले बताए । झापा जिल्ला भरीका १५ वटै स्थानीय तहका खेलकुद समितिलाई निमन्त्रणा गरिएको संयोजक सुदिप थुलुङले बताए । ‘पालिका स्तरीय भएकोले खेलाडी पनि सोहि स्थानीय तह भित्रको नै हुनु पर्नेछ’, उनले भने । पत्रकार भेटघाट कार्यक्रम कमल गाउँपालिका खेलकुद समिति संयोजक तथा वडासदस्य चतुरभुज सुवेदीको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

इजलास डटकम

बिर्तामोड,झापा
सम्पादक – प्रदीप परियार
दर्ता नम्बर : १६९६५४/७३/०७४
टाइम्स मिडिया नेटवर्क प्रालिद्वारा प्रकाशित ‘इजलास दैनिक’को आधिकारिक वेबसाइट