बैशाख ६, २०८१ बिहीबार

बिर्तामोडमा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी

झापा – झापाको बिर्तामोड नगरपालिका–३ स्थित स्वागत चोकमा प्लम निर्माण भइरहेको छ । स्वागत चोक टोल विकास प्लम निर्माण आयोजना प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत निर्माण भइरहेको छ । झार उखेल्न र सरसफाईमा मात्रै प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी श्रमिकलाई सहभागिता गराएको आलोचना भएपछि देशभर कार्यक्रमलाई प्रभावकारी बनाउन लागिएको छ । त्यस्तै, बिर्तामोड नगरपालिकाले पनि पहिलो वर्ष बाहेक निर्माण आयोजनाको काममा लगाएको रोजगार कार्यक्रमका संयोजक होमनाथ भट्टराईले जानकारी दिए । साना आयोजनाहरुमा प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी श्रमिकलाई रोजगारीमा लगाइएको छ ।

बेरोजगार व्यक्तिलाई राज्यकै तर्फबाट वार्षिक १ सय दिन रोजगारी दिने तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालिन श्रम मन्त्री गोकर्ण विष्टको परिकल्पनाबाट बनेको कार्यक्रमलाई विर्तामोड नगरपालिकाले प्रभावकारी रुपमा कार्यान्वयन गर्न गरिरहेको भट्टराईको भनाई छ । उनका अनुसार अहिले बिर्तामोड–३ को प्लम निर्माणको लागि १८ दिनको रोजगारी दिइएको छ । काम सम्पन्न गर्नुपर्ने समय १८ दिन भएपनि आवश्यकताका आधारमा समय थप-घट गर्न सकिनेछ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमको १ लाख र वडाको ५ लाखबाट आयोजना सञ्चालन भइरहेको छ । त्यहाँ काम गरे वापत प्रधानमन्त्री रोजगार कार्यक्रमले श्रमिकको बैंक खातामा रकम जम्मा गरिदिनेछ । सो आयोजनामा ११ जना कार्यरत छन् । निर्माण जारी रहेको आयोजना सम्पन्न भएपछि अर्को आयोजनामा पठाइने छ ।

स्वागत चोकमा निर्माण भइरहेको प्लम

प्रधानमन्त्री रोजगार कार्यक्रमका सव इन्जिनियर आकाश श्रेष्ठले रोजगार कार्यक्रममा आवद्ध श्रमिकबाट गरिएको काम गुणस्तरीय हुने बताए । वडासहित सरोकारवाला निकायबाट अनुगमन हुने भएकाले काममा कुनै समस्या हुदैन । आयोजना प्रमुख नै वडा अध्यक्षलाई बनाइन्छ, ई.श्रेष्ठले भने – कार्यपालिकाको निर्णय बमोजिम काम सञ्चालन हुन्छ । हाल स्वागत चोकमा २३८ मिटरको प्लम निर्माण भइरहेको छ ।

रोजगार कार्यक्रममा निरन्तर सहभागिता
प्रधानमन्त्री रोजगार कार्यक्रममा ४ वर्षदेखि आवद्ध छन्, डिल्लीराम अधिकारी । यो कार्यक्रम सञ्चालन भएपछि अधिकारी निरन्तर आवद्ध भएर काम गरिरहेको जानकारी दिए । उनी बेरोजगार भएपछि सो कार्यक्रममा सूचिकृत भएका हुन् । वर्षमा १०० दिन काम पक्का हुने, दवाव नहुने, अन्तराष्ट्रिय श्रम संगठनको मापदण्ड अनुसार काम गर्न पाइने, काम गरेको ज्याला बैंक खातामा जम्मा हुने भएकाले प्रधानमन्त्री रोजगार कार्यक्रममा आवद्ध भएको अधिकारीको भनाई छ । उनलाई गाउँमा बेला बखत घर र बारीको काम गर्न बोलाउने गरेको जानकारी दिए । गाउँमा कामको टुङ्गो नभएकाले पनि उनी प्रधानमन्त्री रोजगार कार्यक्रममा जोडिएको बताउँछन् । यो कार्यक्रममा सहभागी हुँदा राष्ट्रलाई नै सहयोग हुने उनको बुझाई छ । आफ्नै वडा काम पाइन्छ, आफ्नै वडाको विकासमा सहयोग हुन्छ, आफै काम गर्दा राम्रो काम पनि हुन्छ– अधिकारीले भने ।

यस्तै, बिर्तामोड– ३ को समावेशी टोलमा पनि प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत प्लम निर्माण सम्पन्न गरिएको छ । २०७७÷०७८ मा कार्यपालिकाको बैठकले गरेको निर्णय अनुसार प्लम निर्माण गरिएको थियो । अहिले बाटो र नागरिकको जमिन सुरक्षाका लागि प्लम प्रभावकारी भएको रोजगार संयोजक भट्टराईको भनाई छ । प्लम नहुँदा बाटो मिचिने, नागरिकको जमिनको पनि सुरक्षा नहुँने अवस्था थियो । अब, बाटो र जग्गा दुवै सुरक्षित हुन्छ ।

संयोजक भट्टराई प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्न बिर्तामोडमा शुरुआत देखि नै कार्यरत छन् । उनले प्रधानमन्त्री रोजगार कार्यक्रम सबै विकास निर्माणमा सहभागी गराउन सकिने बताउँछन् । कार्यक्रमलाई सफल र प्रभावकारी बनाउन कामको उपलब्धी हासिल गर्नुपर्ने हुन्छ । शुरुआतमा बिर्तामोडमा पनि झार उखेल्न र सरसफाईमै काम लगाइएको थियो । त्यसको विरोध र आलोचना दुवै भयो । अहिले निर्माणमा मात्रै लगाउने गरिएको छ । बरोजगार भएर प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचिकृत हुनेहरु धेरै जसो अदक्ष नै हुन्छन् । त्यसैले आयोजना सञ्चालन गर्दा दक्ष मिस्त्रि समेतलाई निर्माण कार्यमा जोडिन्छ । दक्षले कामको अगुवाई गर्ने, अन्यले सहयोग गर्ने गरिएको भट्टराईको भनाइ छ । यसअघि नगरमा बाढि, पहिरोको जोखिम भएका नदिमा तटबन्धन गरिएको थियो । त्यहाँ प्रधानमन्त्री रोजगार कार्यक्रममा आवद्ध श्रमिकले काम गरेका थिए ।

बिर्तामोडमा प्रभावकारी
चालु आर्थिक वर्षको रातो कितावमा २० वटा आयोजना प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत सम्पन्न गरिने उल्लेख गरिएको छ । कार्यपालिकाको निर्णय बमोजिम नै ०७८-७९ मा २० वटा आयोजना रोजगार कार्यक्रममा आवद्ध श्रमिकलाई काम दिइने भएको छ । यो वर्ष बिर्तामोडले ठुला आयोजनामा पनि उनीहरुलाई सहभागी गराउनेछ । रोजगार संयोजक भट्टराईका अनुसार बिर्तामोड–७ मा १० लाखको कल्भर्ट र वडा नं. ९ मा २५ लाखको ड्रेन निर्माण गरिदैंछ । प्रधानमन्त्री रोजगार कार्यक्रममा आवद्ध श्रमिक नै सहभागी भएर आयोजना सम्पन्न गर्नेछन् । यस प्रकारका आयोजना नै सम्पन्न गर्ने हो भने प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी भएको मान्न सकिन्छ । बिर्तामोड नगरपालिकाको रोजगार सेवा केन्द्रले कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गरिरहेको तथ्याङकले देखाएको छ ।

समावेशी टोलमा निर्माण सम्पन्न गरिएको प्लम

रोजगार सेवा केन्द्र बिर्तामोडले आर्थिक वर्ष २०७७-७८ को वार्षिक प्रगति विवरण सार्वजनिक गरिसकको छ । सेवा केन्द्रको तथ्याङक अनुसार गत आर्थिक वर्षमा ७०१ जना बेरोजगार व्यक्तिहरु कार्यक्रममा सूचिकृत भएका थिए । उनीहरुलाई औषत रुपमा ६२ दिन रोजगारी प्रदान गरिएको थियो । कुल १ करोड २० लाख ३९ हजार बजेटमा ५० लाख ४७ हजार ७२५ रुपैयाँ खर्च भएको थियो । रोजगारीमा १२५ जना संलग्न भएका थिए । उनीहरुलाई ज्याला वापत ४० लाख २ हजार ३५७ रुपैयाँ प्रदान गरिएको थियो । २४ वटा आयोजनामा कार्यक्रममा आवद्ध भएकाहरुले रोजगारी पाएको तथ्याङकमा देखिन्छ । कुल आयोजनमा १ करोड ३६ लाख २४ हजार २७१ रुयैयाँ खर्च भएको थियो । त्यसमा वडाको लागत साझेदारी ८९ लाख र प्रधानमन्त्री रोजगार कार्यक्रमको सशर्त अनुदान ४० लाख ४ हजार २७१ रुपैयाँ थियो । श्रम दान समेत १ लाख ६० हजार बराबरको थियो ।

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि आयोजनाहरु छनोट गर्न वडासँग समन्वय गर्ने गरिएको छ । ज्यालालाई सहजै उपलब्ध गराउन श्रमिकहरुको बैंक खाता खोलिएका छन् । श्रमिहरुको मापदण्ड अनुसार (इएमआइसी) विधिबाट अभिलेख राख्ने काम गरिएको छ । उनीहरुको पहिचानका लागि लाभग्राही परिचय पत्र व्यवस्था गर्ने गरिएको छ । सञ्चालन भएका आयोजनाहरुको निरन्तर रुपमा सुपरिवेक्षण गर्ने गरिएको छ । हरेक महिना रोजगार सेवा केन्द्रले नगरपालिकालाई कार्य प्रगति प्रतिवेदन पेश गर्ने गरिएको संयोजक भट्टराईले जानकारी दिए ।

२०७८-७९ मा बिर्तामोड नगरपालिकामा ६०४ जना बेरोजगार सूचिकृत भएका थिए । नेपाल सरकारको २ करोड ७२ लाख २ हजार रुयैयाँ र विश्व बैंकको ३८ लाख ४१ हजार प्राप्त भएको बताइएको छ । बिर्तामोडमा नेपाल सरकारको तर्फबाट ९९ जना र विश्व बैंकको लगानीबाट ६६ जनालाई रोजगारी प्रदान हुने छ । कुल १६५ जना चालु आर्थिक वर्षमा रोजगारबाट लाभान्वित हुनेछन् । १ जनाले दैनिक ८ घण्टा काम गरे वापत ५ सय ७७ रुपैयाँ प्राप्त गर्ने व्यवस्था छ । दैनिक १ घण्टा खानपिनका लागि समय उपलब्ध गराउदै आएको रोजगार सेवा केन्द्रको भनाई छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई थप प्रभावकारी बनाउन श्रमिकको क्षमता तथा सिप विकास तालिहरु सञ्चालन गर्ने गरिएको पाइयो । बिर्तामोड नगरपालिकाले गुणस्तरीय रुपमा निर्माण कार्यलाई सफल बनाउन कार्यक्रमको भावना र मर्म अनुरुप सञ्चालन गरिरहेको छ ।
श्रमिकले कार्य सम्पादनका क्रममा रोजगार उपभोक्ता समिति मार्फत आयोजना सम्झौता गनुपर्ने हुन्छ । समय पालना, नियमितता र अनुशासनलाई जिम्मेवार ढंगले पालना गर्नुपर्छ । कार्यस्थलको जोखिम र सुरक्षामा ध्यान दिदैं प्रधानमन्त्री रोजगार कार्यक्रममलाई उपलब्धी मुलक बनाउनु सबैको दायित्व भएको प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद दाहालको भनाई छ । उनका अनुसार बिर्तामोडमा प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी र उदाहरणीय बनाइएको छ ।

०७५-७६ बाट शुरु भएको कार्यक्रम यहाँसम्म आइपुग्दा परिणामुखी बनाइएको छ । बिर्तामोडले विकास आयोजनाहरुमा काम गरेको देखेर धेरै पालिकाहरुले त्यसको अनुसरण गरिरहेका छन् ।

निष्कर्ष
प्रधानमन्त्री रोजगार कार्यक्रमलाई जिम्मेवार व्यक्तिहरुले अझै पनि बुझ्न सकिरहेको अवस्था छैन । किनभने, अधिकांश आयोजना ठेक्का लगाइन्छ । उपभोक्ता समिति गठन गरेर पनि ठेक्का दिइन्छ । त्यसरी काम गर्न सम्झौता अनुसार काम समयमा सकिदैन । तर, प्रधानमन्त्री रोजगार कार्यक्रममा आवद्ध भएको श्रमिकलाई समयभित्र काम सक्नै पर्ने व्यवस्था हुन्छ । ठेकेदार कम्पनीले जस्तो आलटाल गर्न मिल्दैन । सामग्रीको प्रयोगमा सम्झौता हुदैन । ठेकेदारहरुले प्रयोग गर्ने सामग्रीमा धेरै विवादहरु आउने गर्छ । यहाँ नगरले वडा मार्फत काम गर्ने भएकाले त्यसका उपभोक्ताको प्रत्यक्ष सहभागिता हुने गर्छ । अर्को, यहाँको आयोजनाहरुमा भारतीय मजदुर आएर काम गर्ने गर्थे । अहिले भारतीय मजदुरको आवश्यक पर्दैन । स्थानीय बेरोजगार नागरिकले नै रोजगार पाउने गर्छन् । यसैले नेपाली बेरोजगार नागरिकलाई नै राज्यको स्रोत पुराउने विकल्प यसलाई मान्न सकिन्छ । बिर्तामोडले बेरोजगारलाई रोजगारी, काममा विश्वास, गुणस्तरीय निर्माण, आयोजना समयमै सक्ने प्रधानमन्त्री रोजगार कार्यक्रमको मुल उदेश्य बनाएर काम गरिरहेको छ ।
….
श्रमिकलाई अभिमुखिकरण
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बिर्तामोडमा अभिमुखिकरण गरिएको छ । बिर्तामोड नगरपालिकाको रोजगार सेवा केन्द्रको आयोजनामा आर्थिक वर्ष २०७८÷७९ मा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना अन्तर्गत वडागत रुपमा छनोट भएका आयोजनाहरु सञ्चालन सम्बन्धी अभिमुखिकरण गरिएको हो ।

बिर्तामोड नगरपालिकाका नगर प्रमुख धु्रवकुमार शिवाकोटीले नगरभित्रका उद्योग तथा कल कारखानाहरुमा स्थानीय कामदारहरुले काम पाउनु पर्ने धारणा राखेका छन् । भारतबाट आएका मजदुरहरुले काम गरिरहेको भन्दै उनले स्थानीय क्षेत्रमा स्थानीय कामदारहरुले काम पाउनु पर्ने बताए । यसबारेमा उद्योग तथा कलकारखानाहरुसँग समन्वय गर्न सम्बन्धित शाखालाई आग्रह समेत गरेका छन् । उपप्रमुख पवित्रा महतारा प्रसाईले सबै बेरोजगारहरुलाई राज्यले सकेसम्म धेरै रोजगारको व्यवस्था गर्नु पर्ने बताइन् । उनले रोजगार दाताले दिएको काममा सबैले ध्यान दिएर गर्न पनि लक्षित श्रमिक वर्गालाई आग्रह गरिन् ।

प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहालले नेपाल सरकारबाट सञ्चालित भएका योजना तथा कार्यक्रमहरुमा बेरोजगारहरुलाई वर्षमा एक सय दिन रोजगार दिने नीति रहेको बताए । उनले रोजगारसँग सम्बन्धित विभिन्न कार्यक्रमहरु नगरका १० वटै वडामा छनोट भईसकेको उनको भनाई छ । अभिमुखिकरण कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नम्बर १,२,३ र ४ का १५ जना भन्दा बढीले सहभागिता जनाएको नगरको रोजगार सेवा केन्द्रका प्रमुख होमनाथ भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : मंसिर १९, २०७८ आईतबार  ६ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]