चैत्र १५, २०८० बिहीबार

स्थानीय तह रोकेर प्रतिनिधिसभाको चुनाव गर्ने गठबन्धनको रणनीति

काठमाडौं । सत्ता गठबन्धनले आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचन रोकेर प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्ने गृहकार्य अगाडि बढाएको छ । वैशाखमा स्थानीय तहको निर्वाचन गरेर देशको समस्या समाधान नहुने निचोड निकाल्दै वैशाखमा प्रनिधिसभाको निर्वाचनमार्फत संसद् चालु गराएर मात्र स्थानीय तहको निर्वाचन गर्नुपर्ने विषयमा छलफल अगाडि बढाएको छ ।

सत्ता गठबन्धनको बैठकमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनको सट्टा वैशाखमा प्रतिनिसभा र प्रदेश सभाको निर्वाचन गर्नुपर्ने प्रस्ताव अगाडि सार्नुभएको छ । प्रचण्डको प्रस्तावमा नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीको साथ रहेको छ । अहिलेको अवस्थामा स्थानीय तहको निर्वाचनमा जाँदा सत्ता गठबन्धनमा रहेका दलहरूबीच स्थानीय तहमा गठबन्धन निर्माण गर्न सहज नहुने निष्कर्षसहित सत्ता गठबन्धनले पहिला प्रतिनिसभाको चुनाव गरेर पुनः गठबन्धनकै नेतृत्वमा सरकार गठन गरेर स्थानीय तहको निर्वाचनमा जाने नीति लिएको छ । प्रचण्डको प्रस्तावमा नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाको पनि समर्थन रहेको बताइएको छ ।

कांग्रेसका एक नेताका अनुसार सत्ता गठबन्धनबीच सकेसम्म वैशाखमा प्रतिनिधिसभाको निर्वाचन गर्ने र यदि नभएको अवस्थामा आगामी मंसिरतिर तीनै तहको निर्वाचन एकैसाथ गर्ने विषयमा समझदारी हुने सम्भावना रहेको छ । प्रचण्डले वैशाखमा प्रतिनिधिसभाको निर्वाचन गर्न राष्ट्रिय सहमति कायम गरेर अगाडि बढ्न सकिने बताउँदै एमाले सहमतिमा आएको अवस्थामा स्थानीय तहको निर्वाचन सारेर प्रतिनिधिसभाको पहिला गर्न सकिनेमा जोड दिँदै आउनुभएको छ । तर, एमाले भने स्थानीय तहको निर्वाचन नगरी प्रतिनिधिसभाको निर्वाचन नजाने भएको छ । संविधानअनुसार नै स्थानीय तहको निर्वाचन गरेर मात्र प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्नुपर्नेमा एमालेले जोड दिएको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई/दुईपटक प्रतिनिधिसभा विघटन गरेर प्रतिनिधिसभाको निर्वाचनमा जाने निर्णय लिनुभएको थियो । तर, दुवैपटक सर्वोच्च अदालतले संसद् पुनःस्थापनाको फैसला गरेको थियो । प्रतिनिधिसभाको निर्वाचनको माग गर्दै आएको एमाले भने अहिले स्थानीय तहको निर्वाचन गरेर मात्र प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा जानुपर्ने पक्षमा रहेको छ ।

निर्वाचन आयोगले माघको पहिलो साता सरकारलाई स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सिफारिस गरेको थियो । सोहीअनुसार सरकारले सत्ता गठबन्धनको बैठक बोलाएर मिति तय गर्ने विषयमा यसअघि छलफल गरेको थियो । उक्त बैठकमा प्रचण्डले स्थानीय तहको निर्वाचन छ महिना पछि सारेर वैशाखमा प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्ने प्रस्ताव अगाडि सारेपछि सत्ता गठबन्धनको छलफल प्रतिनिधिसभा निर्वाचततर्फ केन्द्रित भएको छ ।

यसैबीच, स्थानीय तहको निर्वाचनलगायतका विषयमा छलफल गर्न बिहीबार बस्ने भनिएको पाँच दलीय समन्वय समितिको बैठक स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय गरिएको बैठक तयारी नपुगेको भन्दै बैठक स्थगित गरिएको हो । यसअघि गत मंगलबार बसेको समन्वय समितिको बैठकले स्थानीय तहको निर्वाचनको मितिको विषयमा सत्ता गठबन्धनमा आबद्ध दलभित्र छलफल गरेर सहमति कायम गरिने निष्कर्ष निकालेको थियो ।

पहिला प्रतिनिधिसभाको निर्वाचन : गुरुङ
नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले स्थानीय तहको निर्वाचन पछि सारेर पहिला प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्ने बताउनुभएको छ । उहाँले एमालेले निरन्तर रूपमा संसद् अवरुद्ध गरेको अवस्थामा स्थानीय तहको निर्वाचन गराएर मात्र देशको समस्या समाधान नहुने भएकाले पहिला प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्ने बताउनुभएको हो ।

नेपाल समाचारपत्रसँग कुराकानी गर्दै गुरुङले भन्नुभयो– ‘प्रधानमन्त्री र सभामुखले बोलाएको सर्वदलीय बैठकमा एमाले आउनै चाहेको छैन, यो कार्यकालभरि संसद् अवरुद्ध गर्ने एमालेको नीति छ, एमालेका कारण संसद् मात्र होइन, संविधान नै नरहन सक्ने खतरा छ, देशमा संकटकाल आउनुभन्दा प्रतिनिधिसभा निर्वाचन गरेर समस्याको समाधान खोज्नुपर्छ ।’

एमालेले सर्वोच्च अदालतमा मुद्दा हालेर अदालतमा विचाराधीन विषयलाई एजेन्डा बनाएर संसद् अवरुद्ध गरिरहेको उल्लेख गर्दै उहाँले एमाले संवादमा आउन तयार नभएकाले संसद्को निर्वाचन गरेर अहिलेको निकास खोज्नुपर्छ भन्ने विषयमा सत्ता गठबन्धनमा छलफल भइरहेको बताउनुभयो । ‘राष्ट्रिय सहमति जुटेको अवस्थामा आगामी वैशाखमा प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्ने पक्षमा सत्ता गठबन्धन छ, हामीले अब समस्या मात्र चाहिरहेका छैनौं, समाधान पनि चाहेका छौं, त्यही भएर संसद्को चुनावलाई अगाडि बढाउने भनेका छौं’ –नेता गुरुङले भन्नुभयो । संविधानको रक्षा देशको स्वाधीनताको रक्षा गर्न पनि सकेसम्म तीनै तहको एकै पटक र नभएको अवस्थामा वैशाखमा प्रतिनिधिसभाको निर्वाचन गर्नुको विकल्प नभएको बताउँदै उहाँले एमालेले अहिले संसद् अवरुद्ध नगरेको अवस्था थियो भने स्थानीय तहको निर्वाचनमा जानु आपत्ति नभएको बताउनुभयो ।

प्रकाशित मिति : माघ ७, २०७८ शुक्रबार  ९ : ४९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]