बैशाख ७, २०८१ शुक्रबार

शिवसताक्षीमा चक्रपथ, कालोपत्र धमाधम

झापा, चैत २० गते । शिवसताक्षी नगरपालिकाको नगर गौरवको योजनाअनुरुपको चक्रपथ निर्माण सकिएको छ । चक्रपथ निर्माण भएसँगै स्थानीयवासी खुसी भएका छन् ।

शिवसताक्षी नगरपालिका–३ का ७९ वर्षीय नन्दबहादुर भुजेलले आफ्नै आँगनको डिलसम्म कालोपत्र सडक निर्माण भएकामा खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “हिउँदमा साइकलमा आवतजावत गरे पनि वर्षाको समयमा चप्पल खोलेर हिँड्थ्यौँ, अब सरसर कालोपत्र बाटोमा हिँड्न पायौँ ।”

नगरमा जनप्रतिनिधि निर्वाचित भएर आएसँगै पञ्चवर्षीय योजनाअनुरुप चक्रपथ निर्माण सुरु भएको थियो । सो रोड निर्माणका लागि हालसम्म रु. २० करोडको लगानी भइसकेको नगरपालिका प्रमुख चन्द्रकुमार शेर्माले जानकारी दिनुभयो ।

नगरका सबै वडासम्म कालोपत्र पु¥याउने उद्देश्यले बनाइएको रिङरोडका लागि सबै सडकमा ग्राभेल र कल्भर्ट निर्माण गर्ने काम सकिएको उहाँको भनाइ छ । उहाँले ३९ किलोमिटर रिङरोडमध्ये हालसम्ममा १० किलोमिटर कालोपत्र भइसकेको बताउनुभयो । रिङरोडभित्रै करिब नौ किलोमिटर क्षेत्र पूर्वपश्चिम राजमार्गको परेको छ । बाँकी कालोपत्र गर्ने काम धमाधम भइरहेको छ ।

नगरप्रमुख शेर्माले ३९ किलोमिटरको रिङरोड निर्माणका लागि रु सात करोड केन्द्रीय सरकार, रु. एक करोड ३० लाख प्रदेश नं १ सरकारको लगानी र बाँकी रु ११ करोड ७० लाख नगरको रहेको बताउनुभयो । चक्रपथभित्रमात्रै ५३ साना–ठूला कल्भर्ट निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । सबै वडालाई सडक सञ्जालमा जोडेर नागरिकलाई सहज आवतजावत गर्न चक्रपथ प्रभावकारी हुने नगर उपप्रमुख भोजकुमारी नेपालले बताउनुभयो ।

चक्रपथ निर्माणसँगै पर्यटकीय गन्तव्यका रूपमा रहेको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल सताक्षीधाम, दोमुखा र चिल्लागढ पोखरीसम्म आउने आन्तरिक तथा बाह्य पर्यटकका लागिसमेत सहज भएको छ । चक्रपथलाई दुधे–शिवगञ्ज, झिलझिले–महाभारा र धरमपुर–पाँचगाछीको वैकल्पिक मार्गको रूपमा गर्न सकिने उहाँको भनाइ छ ।

चार ट्रङ्करोड

चक्रपथबाट सिधा शिवसताक्षी नगर कार्यपालिकाको कार्यालयमा जोडिन चार ‘ट्रङ्करोड’ निर्माण गरेको छ । नगरप्रमुख शेर्माले रु. तीन करोड ६३ लाखको लागतमा सो सडक निर्माण गरिएको जानकारी दिनुभयो । शुक्रबारे–लालझोडा, बहिदार चोक हुँदै नगरपालिका, मङ्गलबारे–धौलेचोक हुँदै नगरपालिका, पारावारी–सरस्वती प्राथमिक विद्यालय–धौलेचोक हुँदै नगरपालिका र माईधार–चिल्लागढ हुँदै नगरपालिकासम्म पुग्ने ट्रङ्करोड निर्माण गरिएको उहाँको भनाइ छ । रासस

प्रकाशित मिति : चैत्र २०, २०७८ आईतबार  ३ : ३१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]