बैशाख १३, २०८१ बिहीबार

जनमतको हिसाबले एमाले देशकै ठूलो पार्टी : ईश्वर पोखरेल

काठमाडौं – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अहिले पनि जनमतको हिसावले नेकपा एमाले नै देशको ठूलो पार्टी भएको बताउनुभएको छ । मंगलबार पार्टीको केन्द्रीय कार्यालय आयोजित २९ औँ मदन–आश्रित स्मृति दिवसमा उहाँले यस्तो बताउनुभयो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले तत्कालीन राजनीतिमा मुलुकलाई प्रतिगामी दिशातिर लैजान लागि परेको गठबन्धनको बिरुद्धमा सम्पूर्ण लोकतन्त्रका पक्षधर एकजुट हुन आवश्यक रहेको बताउनुभयो । उहाँले स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको पक्षमा संख्यात्मक रुपमा कम जित आएपनि जनमतको आधारमा नेकपा एमाले नै देशको ठूलो पार्टी भएको बताउनुभयो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो– ‘यतिबेला तत्कालीन राजनीतिमा देखापरेको मुलुकलाई प्रतिगामी दिशातिर लैजान लागि परेको गठबन्धनको बिरुद्धमा सम्पूर्ण लोकतन्त्रका पक्षधर संविधान र कानूनको पालना गर्नुपर्छ भनेर प्रतिवद्धता व्यक्त गरिरहेका जनताहरुको पक्षधरहरु एक ठाउँमा उभिनुपर्ने आवश्यक्ता छ । हामी संख्याको हिसावले केही तलवितल हुनसक्ला तर जनमतको हिसावले माथि नै छौँ । एमालेको पक्षको जनमत पूर्व, पश्चिम, उत्तर, दक्षिणमा एमालेकै बढी जनमत छ । हामी त्यही जनमतको बलमा यो गठबन्धनकारीहरुले गरेका तमाम अपराधजन्य कुराहरूको सामना गर्नेछौँ ।’

त्यस्तै नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्थानीय निर्वाचन बिथोल्न सरकार नै गुण्डागर्दी गरेर लागि परेको बताउनुभयो । उहाँले सरकार पक्षले नै नेकपा एमालेको प्रभाव भएको स्थानमा निर्वाचन बिथोल्न लागि परेको र मतदाताहरूलाई आफ्नो अधिकार प्रयोग गर्न नदिएको बताउनुभयो । उहाँले सरकारी ढंगले एकलौटी रुपमा मत पेटिका ओसार्ने काम गरेको र केही स्थानमा मत गणना पूर्व नै मतपेटिका खोलेको पाइएको पनि बताउनुभयो ।

महासचिव पोखरेलले नेकपा एमाले आउने चुनावमा गठबन्धनलाई पराजित गरेर जनमतका हिसावले मात्रै नभइ परिणामका हिसावले पहिलो पार्टी बन्ने दाबी गरे । उनले नेकपा एमालेमाथि मत परिणाम आउन थालेपछि विभिन्न आरोप लगायो भन्ने तथ्यहरु आइरहेको भन्दै एकपटक खटाइसकेका कर्मचारीहरुलाई परिवर्तन गर्नेसम्मका कुराहरु नियोजित रुपमा हुनु, संवेदनशील क्षेत्र भनेका ठाउँहरुमा सुरक्षा निकाय, कर्मचारी र नेतृत्व नै परिवर्तन गर्नु र प्रतिपक्षका कार्यकर्ता र उम्मेदवारहहरुमाथि मात्रै अपहरण गर्ने, साङ्घातिक रुपमा हमला गर्ने कार्य हुनुले सत्ता गुण्डागर्दीको सहारामा जनमतलाई प्रभावित बनाउन अग्रसर रहेको आरोप लगाउनुभयो ।

महासचिव पोखरेलले भन्नुभयो, ‘कतिपय ठाउँमा गुण्डागर्दी गरेर मतदाता फकाइने काम भयो । मतदाता कम आउने तर भोट धेरै आउने विचित्रको अवस्था पनि देखापर्यो । मतदानपछि स्वभाविक रुपमा लोकतान्त्रिक प्रक्रियामा मुचुल्का गरिकन, सिलबन्दी गरिकन बाकससहित प्रतिनिधिहरू लैजान पाउने व्यवस्थालाई यसपटक पालना गरिएन । प्रशासनले एकलौटी ढंगले बाकस लिएन जाने काम भयो । कतिपय ठाउँमा मत गणनापूर्व बाकसको सील तोडेको पाइयो । सहज लोकतान्त्रिक प्रतिष्पर्धा हुँदा नेकपा एमाले अहिले पनि नेपालको सबैभन्दा ठूलो पार्टी हो भन्ने कुरामा कुनै सन्देह छैन । चुनावबाट प्रमाणित भएको छ ।’

जनमतका हिसावले नेपालको पहिलो ठूलो पार्टी नेकपा एमाले नै भएको पनि उहाँले बताउनुभयो । महासचिव पोखरेलले सत्ता गठबन्धनले नेकपा एमालेको प्रभाव रहेको स्थानमा निर्वाचन बिथोल्न लागिपरेको र सहजै निर्वाचन स्थगित गर्ने प्रकारको प्रवृति देखाएको बताउनुभयो ।

उहाँले चितवनमा प्रहरी प्रशासनको गाडीमा सत्ता पक्षका कार्यकर्ताहरु पुगेर पैसा वितरण गर्ने काम भएको र यसलाई सरकारी पक्षले चासो नदिएको बताउनुभयो । उनले स्थानीय निर्वाचन प्रचारप्रसारका क्रममा पार्टीका कार्यकर्ताहरूमाथि भएको आक्रमणमा दुई जनाको मृत्यु भएको भन्दै घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारबाही गर्न पनि सरकारसँग माग गरे ।

प्रकाशित मिति : जेष्ठ ३, २०७९ मंगलबार  १२ : ३७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]