बैशाख ६, २०८१ बिहीबार

बिर्तामोडमा कोल्ड स्टोर र कृषि संकलन केन्द्र निर्माणको योजना

बिर्तामोड । बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाईले बिर्तामोडमा कोल्ड स्टोर र कृषि संकलन केन्द्र निर्माणका लागि योजना अगाडि बढाउने बताउनु भएको छ ।

सोमबार वडा नम्बर २ को श्रीहरि सामुदायिक भवनमा आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै नगरप्रमुख प्रसाईले कृषकका उत्पादनहरु कुहिएर जान नदिनका लागि ३ वटा कोल्ड स्टोर र आफ्नै उत्पादनको कृषि संकलन निर्माणका लागि प्राथमिकताका साथ योजना अगाडी बढाउने बताउनु भएको हो । विचौलियाका कारण कृषकहरुले उत्पादन गरेका बस्तुहरु वेचविखन गर्न नसक्नु कृषकका लागि ठुलो असर रहेको भन्दै उहाँले बजार व्यवस्थापनका लागि समेत नगरपालिकाले पहल गर्ने बताउनु भयो ।

सहभागीहरुको जिज्ञासामा बोल्दै नगरप्रमुख प्रसाईले सिमित बजेटका कारण सबै विकास निर्माणका कार्य एकै पटकमा गर्न नसकिने बताउनु भयो । उहाँले आवश्यक बजेट नहुँदा जनताका इच्छा अपेक्षा अनुसार काम गर्न समस्या हुने गरेको धारणा राख्नु भयो । नगरप्रमुख प्रसाईले योजना निर्माण स्थलहरुमा सबै परिचय खुल्ने वोर्डहरु अनिवार्य राख्नु पर्नेमा जोड दिनु भयो ।
यस्तै नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले नगरपालिकामा सेवाग्राहीले सरल र सुलभ तरिकाले सेवा पाउने प्रत्याभुति दिलाउनु भयो । सहभागीहरुले राखेको जिज्ञासामा बोल्दै नगर उपप्रमुख संग्रौलाले नगरका सबै वडाहरुमा बजेट समानुपातिक तरिकाले वितरण गरेको बताउनु भयो । वडाहरुमा नगरको योजनाहरु समेत रहेको भन्दै उहाँले थप ठुलो विकासको लागि प्रदेश र केन्द्र सरकारसंग माग गर्ने बताउनु भयो । भ्रष्टचारको विरोध गर्दै उपप्रमुख संग्रौलाले जनप्रतिनिधिहरुलाई अनावश्यक आक्षेप नलगाउन आग्रह पनि गर्नु भयो ।

सहभागीहरुको जिज्ञासालाई नगरप्रमुख पवित्रा महतारा प्रसाई,उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला,प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने, वडा नम्बर २ का वडाध्यक्ष किशोर पौडेलले जवाफ दिनु भएको थियो । सहभागीहरुले घाग्रा खोलाको पुल, पैनी, डुवान, विपन्न आवास, विद्युत विस्तार,सडक बत्ति, पार्कीङ, विकास, बजेट, कृषि लगायतका विषयमा समस्याहरु राखेका थिए ।

आर्थिक वर्ष २०७८-०७९को तेस्रो चौमासिक अन्तर्गत बिर्तामोड नगरपालिकाले आयोजना गरेको कार्यक्रमलाई झापा युनेस्को संघ नेपालले सहजीकरण गरेको थियो ।

प्रकाशित मिति : असार २०, २०७९ सोमबार  ८ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]