महंगी र भ्रष्टाचार विरुद्ध आज एमालेको विरोध प्रदर्शन
काठमाडौं- सरकारले बढाएको महंगी,भ्रष्टाचार र कुशासनको विरुद्धमा आज एमालेले विशाल जनप्रदर्शन गर्ने भएको छ ।
दिउसो २ बजे वषन्तपुरबाट सुरु हुने र्याली रत्नपार्क स्थित शान्ती बाटिकामा आएर टुंगिने महंगी,मूल्य वृद्धि विरुद्धको जनपरिचलान समितीका संयोजक एवं एमाले स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।
श्रेष्ठका अनुसार पार्टीका सबै जनसंगठनहरुले विभिन्न ठाउँबाट र्याली निकालेर वषन्तपुरमा जम्मा हुनेछन् । र्याली वषन्तपुरबाट उत्तरतर्फ प्याफल हुँदै नरदेवी टेंगलबाट बाँगेमुडा असनतर्फ जानेछ । त्यसपछि भोटाहिटीबाट रत्नपार्क स्थित शान्ती बाटिकमा पुगेर समापन हुने श्रेष्ठले जानकारी दिनुभयो ।
‘परमादेशी सरकारले जनताका विरुद्ध गरेका ज्यादतीको सांकेतिक विरोधका रुपमा आजको कार्यक्रम राखिएको हो । यो शान्तीपूर्ण हुनेछ’ श्रेष्ठले यो बेलासँग भन्नुभयो ‘आजको विरोध र्यालीमा शिर्ष नेताहरुको पनि उपस्थिती हुनेछ ।’
शान्ती बाटिकामा महासचिव शंकर पोखरेलले संक्षिप्त सम्बोधन गरेपछि विरोध र्याली समापन हुने श्रेष्ठले जानकारी दिनुभयो ।