बैशाख १३, २०८१ बिहीबार

बिर्तामोडमा मेयर पकेट कार्यक्रमलाई निरन्तरता

बिर्तामोड । बिर्तामोड नगरपालिकाले मेयर पकेट कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिएको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाईले सोमवार मेयर पकेट कार्यक्रम अन्तर्गत बाख्रा पालन तथा बंगुर पालनका लागि आवेदन दिने महिला कृषक समुहहरुको अनुगमन गरेकी छन् ।

नगर प्रमुख प्रसाईले मेयर पकेट कार्यक्रम अन्तर्गत रहेका ग्रामीण महिला बाख्रा साँटासाँट कार्यक्रम र ग्रामीण महिला बंगुर साँटासाँट कार्यक्रम अन्तर्गत समुह छनोटको लागि फिल्ड अनुगमन गरेकी हुन् । वडा नम्बर ७ को नवज्योति महिला कृषि समुह, वडा नम्बर ८ मा रहेको नव जागरण बाख्रापालन कृषक समुह र वडा नम्बर ९ मा रहेको सम्झना महिला कृषक समुहको अनुगमन गरेकी हुन् ।

अनुगमनबाट छनोटमा परेका कृषक समुहहरुलाई नगरपालिकाले बाख्रा तथा बंगुरका पाठा वितरण गर्ने पशुपंक्षी तथा मत्स्य विकास शाखाकी प्रमुख सावित्रा दाहालले जानकारी दिइन् । उनले मापदण्ड अनुसार समुहमा १५ जना सदस्य अनिवार्य रहनु पर्ने र छनोटमा परेका बाख्रा पालन समुहको लागि ४५ वटा र बंगुर पालन समुहका लागि ३० वटा पाठा वितरण गर्ने बताइन् । यस कार्यक्रम अन्र्तगत बाख्रा पालन समुहलाई एउटा विउ बोका समेत वितरण हुने जनाइएको छ ।

नगरपालिकाले बाख्रा तथा बंगुर पालन गर्ने समुहका कृषकहरुलाई खोर निर्माणका लागि ३५ हजार रुपैयाँ पनि प्रदान गर्ने गरेको छ । संभावित क्षतिलाई कम गर्न बाख्रा तथा बंगुरको बीमा समेत गरेर समुहलाई प्रदान गर्ने गरेको जनाइएको छ । बाख्रा तथा बंगुर प्राप्त गर्ने समुहहरुले पहिलो वर्षको अन्तिममा त्यति नै संख्यामा अर्को समुहलाई पाठा हस्तान्तरण गर्नु पर्ने नियम रहेको छ ।

नगर प्रमुख प्रसाईले ग्रामीण भेगमा रहेका गरिब, दलित,आदिबासी,जनजाति तथा पिछडिएका महिलाहरुको जीवनस्तर उकास्नको लागि आर्थिक वर्ष २०७४÷०७५ सालदेखि बिर्तामोडमा मेयर पकेट कार्यक्रम निरन्तर लागु गरिँदै आएको बताएकी छन् । उनले छनोटमा परेका समुहहरुको लागि तालिमको समेत व्यवस्थापन गरिएको जानकारी दिइन् ।

नगरपालिकाले पशुपंक्षी तथा मत्स्य विकास शाखा मार्फत बाख्रा पालन,बंगुर पालन लगायत गाईगोठ सुधार,बाख्राको खोर सुधार, पोषिलो घाँस उत्पादन र मत्स्य पालन कृषक समुहको लागि समेत विभिन्न प्रकारका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

नगरले पशुपंक्षी तथा मत्स्य विकास शाखामा आवेदन दिने समुहमध्ये आधारभुत मापदण्डका आधारका बाख्रा तथा बंगुरका पाठा वितरण गर्ने गरेको छ । अनुगमन टोलीमा नगरप्रमख प्रसाई, वडा नम्बर ७ का वडाध्यक्ष कृष्णप्रसाद खरेल अविरल,पशुपंक्षी तथा मत्स्य विकास शाखा प्रमुख सावित्रा दाहाल, निमेश थापा लगायत रहेका थिए ।

प्रकाशित मिति : मंसिर १२, २०७९ सोमबार  ७ : ५९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]