चैत्र १५, २०८० बिहीबार

जनगुनासो कहाँ राख्ने माननीय ज्यू ?

सम्पादकीय
मंसिर ४ को निर्वाचनमा निर्वाचित अधिकांश माननीयहरु अहिले मतदातालाई धन्यवाद दिन दौडिरहेका छन् । गाउँगाउँ टोलसम्म माननीयहरु धन्यवाद दिदैं अग्रजहरुबाट आशिर्वाद थापिरहेका छन् । कतिपय माननीयहरु काममा लागिसके । कतिपय मतदाताको अपेक्षा अनुरुप नै माननीयहरु धन्यवादन दिन गाउँगाउँ पुगिरहेका छन् । यसलाई स्वभाविक रुपमा नै ग्रहण गर्नुपर्छ । तर, अहिले धन्यवाद दिन गाउँगाउँसम्म जाने बाँकी समय नफर्किने चै हुदैन । अब हरेक माननीयहरु सदन चल्दा बाहेक गाउँगाउँमा घुम्नैपर्छ ।

निर्वाचनको पूर्वसन्ध्यामा मतदाताले नेताहरु जितेर गएपछि गाउँ नफर्किने गरेको गुनासो व्यापक रुपमा राखे । यो एउटा निर्वाचन क्षेत्रमा होइन, सबै क्षेत्रमा आम नागरिकको साझा गुनासो छ । निर्वाचनमा प्रचारप्रसारका क्रममा आएको गुनासोलाई अहिले निर्वाचित माननीयहरुले सम्बोधन गर्नैपर्छ । यो गुनासो सम्बोधन नगर्ने हो भने अर्को निर्वाचनमा भोट माग्न जाँदा मतदाताले लखेट्नेछन् । मतदाताले लखेट्नुभन्दा पहिले नै विवेक पुराउनु उचित हुनेछ ।

सबै माननीयले जनताको सुखदुखमा साथ दिनुपर्छ । किनभने, निर्वाचनमा उम्मेदवार बन्दै गर्दा जनताको हरेक समस्यामा उपस्थित हुने प्रतिवद्धता व्यक्त गरेका छन् । माननीयहरुले आ–आफ्नो क्षेत्रमा एउटा सम्पर्क कार्यालय स्थापना गनुपर्छ । माननीयहरुले सार्वजनिक रुपमा जनताको समस्या राख्ने ठाउँ, कार्यालयबारे हरेक नागरिकलाई जानकारी दिनुपर्छ । समस्यामा परेका नागरिक, विकासको बारेमा कुरा राख्नुपर्ने नागरिकले जहिल्यै माननीय नभेट्न सक्छन् । त्यसैले माननीयहरुले एउटा निश्चित ठाउँको व्यवस्था मिलाउनुपर्छ । एउटा कामका लागि नागरिकले दुख भोग्नु नपरोस् । सहज र सुविधा हुने गरी माननीयले कार्यालयको व्यवस्थापन गरेर हप्ताहप्तामा जनताका कुरा सुन्ने र सम्बोधन गर्ने वातावरण तयार गरियोस् । नभए, यो पटक देखिएको जोखिमले अर्को निर्वाचनमा ठुलो क्षति व्यहोर्नुपर्ने हुन्छ ।

प्रकाशित मिति : मंसिर १५, २०७९ बिहीबार  ९ : ०६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]