बैशाख ८, २०८१ शनिबार

पूर्वाञ्चल गोल्डकप आयोजक जायोन क्लवले दिएन विजेतालाई १८ लाख ७५ हजार, एन्फामा उजुरी

प्रदीप परियार

बिर्तामोड । अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकप २०७६ सकिएको ४ महिना बितेको छ । तर, त्यस गोल्डकपको उपाधि विजेता त्रिभूवन आर्मी क्लव र उपविजेता चर्च ब्वाइज युनाइटेड काठमाडौंले अझै पुरस्कार वापतको रकम पाएका छैनन् । प्रतियोगिता आयोजना गर्ने जायोन क्लवले उपाधि विजेतालाई १२ लाख ५० हजार र उपविजेतालाई ६ लाख २५ हजार नगद पुरस्कार दिने घोषणा गरेको थियो ।

क्लवहरुले नगद पुरस्कार वापतको रकम नपाएपछि अखिल नेपाल फुटवल संघ (एन्फा) मा निवेदन दिएका छन् । त्रिभूवन आर्मी क्लवले निवेदन दिएपछि एन्फाले झापा जिल्ला फुटवल संघलाई पत्राचार गरेको छ । आयोजकलाई पुरस्कार वापतको रकम क्लवलाई उपलब्ध गराउन एन्फाले पत्र काटेको झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामाले जानकारी दिए । उनका अनुसार अब आयोजक जायोन क्लवले रकम उपलब्ध नगराए क्लवले कानुनी प्रक्रिया अघि बढाउन सक्नेछ । मामाले भने, आयोजकले चैत पहिलो हप्ताको भाका मागेको छ ।

फुटबल आयोजना गरेर चारैतिर ऋणमा परेको जायोन क्लवका कारण झापाको फुटबल आयोजकप्रति विश्वास नै गुम्ने खतरा बढेर गएको छ । विजेतालाई पटक–पटक भाका दिएको आयोजकले अहिलेसम्म झुलाइरहेको बुझिएको छ । विभिन्न समयको भाका माग्दै आएको आयोजकसँग उक्त रकम दिने बलियो आधार समेत नभएको चर्चा हुन थालेको छ ।

गोल्डकपको फाइनल गएको कात्तिक महिनाको २५ गते भएको थियो । सामान्य तयारीमा आयोजना गरिएको गोल्डकपमा दर्शकको आकर्षण पनि थिएन । जायोन क्लवका तर्फबाट गोल्डकप आयोजना गर्न भक्त खवास, मणि राई, दिपेन्द्र आछामी मुख्य भूमिकामा थिए । सो क्लवका कारण अन्य फुटबल प्रतियोगितालाई समेत असर पु¥याएको बताइन्छ ।

झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामाले फुटबलका नाममा कसैले ठगि धन्दा गर्न नहुने बताएका छन् । उनले पूर्वाञ्चल गोल्डकपमा जायोनको बद्मासी भएको तर्क गरे । विजेता कसैलाई पनि आयोजकले आलटाल गर्न हुदैन, मामा भन्छन् – यो फटाई हो, यसले गर्दा झापालीलाई विश्वास नगर्न सक्छन् । गोल्डकप गर्नेले पुरस्कारको व्यवस्था गरेर मात्रै आयोजना गर्नुपर्ने उनको भनाई छ ।

आयोजक क्लवका अध्यक्ष भक्त खवासले विभिन्न कारणले पुरस्कार दिन नसकेको स्वीकार गरेका छन् । उनले अब केहि समयमै रकम उपलब्ध गराउने इजलाससित बताए । खवासले भने– ‘फेरि गोल्डकप गर्नेछौं । अस्तिको गेममा डुवियो, अब अर्को गेममा उक्सिन्छौं ।’

आर्मीका टिम म्यानेजर विकास मल्लले आयोजकले अहिलेसम्म पुरस्कारको रकम नदिएको जानकारी दिए । यसबारे एन्फासँग कुरा भइसकेको छ, हामीले जिल्ला फुटबलसँग पनि समन्वय गरिरहेका छौं , मल्लले भने ।

यस्तै आयोजक क्लवका सचिव दिपेन्द्र आछामीले केहि रकम विजेतालाई उपलब्ध गराएको बताएका छन् । उनले आगामी वर्षको दशैंमा राम्रोसँग गोल्डकप आयोजना गर्ने समेत जानकारी दिए । फुटबललाई व्यवसायिकरण गर्ने उद्देश्यले आयोजना गरेको पूर्वाञ्चल गोल्डकपमा सहयोग गर्ने दाताले रकम नदिएको कारण समस्या भइरहेको स्वीकार गरेका छन् ।

प्रकाशित मिति : फाल्गुन ३०, २०७६ शुक्रबार  ८ : ०३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]