बैशाख २३, २०८१ आईतबार

खप्तडमा दागैदाग !

बझाङ — वरपर हरियाली जंगल । बीचमा ठूला, फराकिला पाटन । पाटनभरि गहिरा खाल्डाखुल्डी । भत्किन लागेका ढिस्का र जताततै ठूलासाना पहिरो । खप्तडको रूप दिनप्रतिदिन बिग्रँदै छ । भूक्षयका कारण जता हेरे पनि ‘दागैदाग’ देखिन्छ । 

अधिकांश ठाउँमा दलदले जमिन रहेकाले यहाँका पाटनमा बाह्रैमास चिस्यान र ओसिलोपना रहन्छ । हिउँदका महिना पूर्ण रूपले बाक्लो हिउँले ढाकिने जमिन वर्षातमा भिजिरहन्छ । कमजोर भूबनोट भएकाले सामान्य वर्षा हुनेबित्तिकै माटो खस्ने, पहिरो जाने गर्छ ।

पाटनहरूमा खुला रूपमा बस्तुभाउ चराउन, डुलाउन दिएकाले खुकुलो जमिनमा भार पर्न गई भूक्षय हुने गरेको स्थानीय बताउँछन् । पक्की घर निर्माणका लागि सामग्री उत्खनन गर्दा पनि भूक्षय बढेको उनीहरूको भनाइ छ । ‘पछिल्ला वर्षमा गेस्टहाउस तथा आवासगृह निर्माणका लागि ढुंगामाटो उत्खनन गर्दा भूक्षय तथा पहिरोको मात्रा बढदै गएको छ,’ बझाङ खप्तड छान्ना गाउँपालिकाका स्थानीय प्रकाश रावलले भने । भूक्षय नियन्त्रण गर्न बेलैमा ध्यान नदिए खप्तडको सुन्दरता मासिने र भविष्यमा प्राकृतिक विपत्तिको खतरा आइपर्ने उनले बताए ।
‘जता हेर्‍यो, उतै पाटन भत्केका रहेछन्, यसमा राज्यले चासो दिनुपर्छ,’ काठमाडौंबाट घुम्न खप्तड पुगेका रमेश प्रसाईंले भने । मध्यवर्ती व्यवस्थापन समितिका सदस्य हिरेन्द्र रावलका अनुसार २२ वटा ठूला पाटनमा कम्तीमा ५ सय सानाठूला भूक्षय छन् । यो संख्या बर्सेनि बढ्दो छ ।

प्रकाशित मिति : बैशाख १०, २०७६ मंगलबार  ३ : २२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]