जेष्ठ ४, २०८१ शुक्रबार

बिर्तामोडको फोहोर न्यूनिकरण गर्न प्लाष्टिकको प्रयोग घटाउनुपर्ने

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाको आयोजनामा आर्थिक वर्ष २०७८÷०७९ को पहिलो चौमासिक अन्तर्गतको सार्वजनिक सुनुवाई कार्यक्रम सोमबार सम्पन्न भएको छ । बिर्तामोड ७,८,९ र १० नम्बर वडाका सर्वसाधारण,जनप्रतिनिधि र सरोकारवालाहरुको उपस्थितिमा बिर्तामोड ८ को सामुदायिक भवनमा झापा युनेस्को संघ नेपालको संयोजनमा कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा सहभागीहरुको जिज्ञासालाई बिर्तामोड नगरपालिकाका नगरप्रमुख धुव्रकुमार शिवाकोटी, प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहाल र बिर्तामोड नगरपालिका वडा नम्बर ९ को वडाध्यक्ष पवित्रा पाठकले उत्तर जवाफ दिएका छन् । सहभागीहरुले टोल विकास समितिको काम,कर्तव्य र अधिकार,विकास योजना,शिक्षा खेलकुद,जनता आवास,फोहोर मैला,सडक बत्ति लगायतका विभिन्न क्षेत्रका विषयमा जिज्ञासा राखेका थिए ।

नगरप्रमुख धु्रवकुमार शिवाकोटीले नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन अनुसार काम गर्दै आएको बताए । टोल विकास समितिहरुलाई काम,कर्तव्य र अधिकारको विषयमा तालिम आवश्यक रहेकाले यो काम गर्ने बताए । उनले टोल विकास समितिहरुलाई वडाको प्रत्यक्ष निगरानीमा सक्रिय बनाउनु पर्नेमा जोड दिएका छन् । जनता आवासका कार्यक्रमहरु त्यसैको विधिअनुसार सम्पन्न गर्नु पर्ने भएकाले यो कामलाई निरन्तरता दिन र जतिसक्दो चाँडो सम्पन्न गर्न पनि उपभोक्ता समतिहरुलाई आग्रह गरेका छन् ।

प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहालले बिर्तामोड नगरपालिकालाई प्लाष्टिक झोला मुक्त बनाउन सकिने धारणा राखेका छन् । सहभागीहरुको जिज्ञासामा उनले नगरवासीहरु सबैले यस विषयमा आवाज उठाउन सके सम्भव रहेको बताएका छन् । प्लाष्टिक झोला मुक्त नगर बनाउँदा मात्रै पनि ४० प्रतिशत फोहोर न्यूनिकरण हुने उनको भनाई थियो । दाहालले नगरको सिमित श्रोत र साधनका विच पनि धेरै काम गर्न सफल भएको भन्दै अवका दिनमा पनि नगरपालिकाको हितको लागि सक्रिय भएर काम गर्ने कुरामा प्रतिवद्व रहेको अवगत गराएका छन् ।

कार्यक्रममा सहभागीहरुको तर्फबाट शक्तिलाल भट्टराई, रणबहादुर थापा, गौरी प्रसाद घिमिरे, रोहित ओली, टंक प्रसाद आचार्य, चन्द्र राई, विष्णुमाया अधिकारी कोइराला, पर्शुराम भट्टराई लगायतले जिज्ञासा राखेका थिए । नगरप्रमुख शिवाकोटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा युनेस्को संघ नेपालका अध्यक्ष विजय तिम्सिनाले सहजीकरण गरेका थिए ।

प्रकाशित मिति : मंसिर २७, २०७८ सोमबार  ७ : ३५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]