बैशाख २१, २०८१ शुक्रबार

झापामा कांग्रेसको अगाडि माओवादीको हैसियत ३५ प्रतिशत

स्थानीय तह निर्वाचन ०७४ को जोडघटाउ –

प्रदीप परियार

बिर्तामोड । स्थानीय तहको निर्वाचनमा देशभर सत्तारुढ दलहरु मिलेर चुनावको तयारी गरिरहेका छन् । गठबन्धन गरेर निर्वाचनमा जाने तयारीमा रहेका कांग्रेस, माओवादी, नेकपा समाजवादी र जसपा उम्मेद्वार टुङ्गो लगाउनुभन्दा पहिले ०७४ को मत विश्लेषण गरिरहेका छन् ।

चैत २६ गते नै केन्द्रीय कार्यदललाई भागबन्डा गर्ने पालिकाको विवरण पठाउन भने पनि स्थानीय स्तरमा मत मिलिरहेको छैन । सत्तारुढ दलहरुका आआफ्नै दावीले सहमति जुट्न नसक्दा विवरण पठाउन ढिलाइ भइरहेको छ । झापामा नेपाली कांग्रेस दोस्रो शक्ति हो । कांग्रेस गठबन्धनमा रहेका दलहरु माओवादी केन्द्र र नेकपा समाजवादीमध्ये बलियो शक्ति भएको गत निर्वाचनको मत परिणामले स्पष्ट बनाउँछ ।

अघिल्लो स्थानीय चुनावमा जिल्लाभर नेपाली कांग्रेसले प्रमुख पदमा १ लाख १४ हजार ८ सय १ मत प्राप्त गरेको थियो । नेकपा एमालेभन्दा १५ हजार ७ सय ३९ मत कम प्राप्त गरेको कांग्रेसको मत विवरण अनुसार माओवादीले धेरै कम रहेको तथ्याङकले देखाउँछ । ०७४ को चुनावमा नेकपा एमालेले जिल्लाभर प्रमुख र अध्यक्ष पदमा १ लाख ३० हजार ५ सय ४० मत प्राप्त गरेको थियो भने माओवादीले ४० हजार ६२९ मत प्राप्त गरेको निर्वाचन आयोगको विवरणमा उल्लेख छ । राप्रपाले जिल्लाभर ३५ हजार २०२ मत प्राप्त गरेको थियो ।
झापामा एमालेले ७ वटा पालिकामा प्रमुख पद जितेको थियो । यस्तै, नेपाली कांग्रेसले ५ पालिका र राप्रपाले ३ वटा पालिका प्रमुख जितेको थियो । सो निर्वाचनमा माओवादीले कुनै पनि पालिकामा प्रमुख पद जितेन ।

गएको निर्वाचनलाई आधार मान्ने हो भने नेपाली कांग्रेसको मतभार अनुसार माओवादीले ३५.२२ प्रतिशत र राप्रपाले ३०.६६ मत प्राप्त गरेको देखिन्छ । एमालेको मतभार अनुसार झापामा कांग्रेसले ८७.९४, माओवादीले ३१.१२ र राप्रपाले २६.६९ प्रतिशत मत पाएको छ । सो निर्वाचनमा माओवादीले मेचीनगर नगरपालिका, राप्रपाले झापा गाउँपालिका र बुद्धशान्तिमा उम्मेद्वार उठाएका थिएनन् । सो प्रतिशतका आधारमा गठबन्धनभित्र माओवादीले ५ पालिका प्रमुख र ४६ वटा वडाध्यक्ष दावेदारी गर्न सक्छ ।

अर्जुनधारामा एमालेका हरि रानाले १३८७९ मत प्राप्त गरेका थिए । कांग्रेसका हेमराज खरेलले ४६४१, माओवादीका भुपेन्द्र न्यौपानेले २५०६ र राप्रपाका छविलाल ढकालले ७५४ मत प्राप्त गरेका थिए । कचनकवलमा राप्रपाका अन्जार आलमले ५८१६ मत प्राप्त गर्दै विजयी भएका थिए । त्यहाँ एमालेका शेर बहादुर खत्रीले ३९७२, कांग्रेसका कालेन्द्रप्रसाद सिंह राजवंशीले ५३५३ र माओवादीका उम्मेद्वार हंशनारायण राजवंशीले १२५० मत ल्याएका थिए ।

कनकाईमा एमालेका राजेन्द्र पोखरेलले ८४१६, कांग्रेसका एकराज उप्रेतीले १६९७, माओवादीका गोपाल प्रसाद चुडालले ६३६ र राप्रपाका उम्मेद्वार केदार गिरीले ३०७ मत प्राप्त गरेका थिए । कमलमा एमालेबाट मेनका काफ्ले र कांग्रेसबाट हुकुमसिंह राईले बराबरी मत ८२५७ मत प्राप्त गरेका थिए । त्यस्तै माओवादीका विमल संग्रौलाले १९०९ र राप्रपाका विष्णु प्रसाद पौडेलले ३९६ मत प्राप्त गरेका थिए ।

गौरादहमा एमालेका मदन अधिकारीले ९८५४, कांग्रेसका रोहित कुमार शाहले १०३०८, माओवादीका पुष्पलाल ढकालले ३४२८, र राप्रपाका खेमराज तिम्सिनाले ६१४ मत प्राप्त गरेको तथ्याङकमा छ । यस्तै, गौरीगञ्जमा एमालेका श्याम ढकालले २७५७, कांग्रेसकी फुलवती राजवंशीले ३४५३, माओवादीका विधानन्द सिंह राजवंशीले ३३५३ र राप्रपाका बाबुराजा श्रेष्ठले ३७४० मत प्राप्त गरेका थिए ।

झापा गाउँपालिकामा एमालेका गजेन्द्र ताम्लीले ३७८९, कांग्रेसका जयनारायण शाहले ४३९३ र माओवादीका रुद्र बजगाईले ३४९९ मत प्राप्त गरेका थिए । दमकमा एमालेका रोमनाथ ओलीले १०८०६, कांग्रेसका ढुण्डीराज भण्डारीले ५५३९, माओवादीका रेवतराज पुरीले ६८९८ र राप्रपाका राम कुमार थापाले ७६५५ मत प्राप्त गरेको निर्वाचन आयोगको तथ्याङकमा छ ।

बाह्रदशीमा एमालेका लक्ष्मण पाठकले ५१११, कांग्रेसका खड्ग प्रसाद राजवंशीले ५५३९, माओवादीका १७९५ र राप्रपाका भिम राईले १४१४ मत प्राप्त गरेको देखिन्छ । यस्तै, बुद्धशान्तिमा एमालेका तिलचन भण्डारीले ७३५३, कांग्रेसका रमेश कुमार भुजेलले ७९९६, माओवादीका खड्ग बहादुर तिम्सिनाले २०६६ मत पाएका थिए । भद्रपुरमा एमालेका जीवन श्रेष्ठले ११०४२, कांग्रेसका गणेश पोखरेलले ७२१५, माओवादीका शिव कुमार राजभण्डारीले ४१३४ र राप्रपाका नवराज पनेरुले २८२२ मत ल्याएका थिए ।

मेचीनगरमा एमालेका विष्णु प्रसाईले १९१९२, कांग्रेसका विमल आचार्यले २०७७६, हंशलाल राजवंशी ७६९४ र राप्रपाका रमेश दाहालले ८०६ मत ल्याएको देखिन्छ । बिर्तामोडमा एमालेका धु्रवकुमार शिवाकोटीले ९११२, कांग्रेसका जलकुमार गुरुङले ८२१७, माओवादीका सीपी कडरियाले ३७९७ र राप्रपाका भक्ति सिटौलाले ६१७० मत प्राप्त गरेका थिए ।

यस्तै, शिवसताक्षीमा एमालेका चन्द्रकुमार शेर्माले १३४३९, कांग्रेसका पर्शुराम ढुङ्गानाले ८९८४ , माओवादीका महेन्द्र भट्टराईले ३२४१ र राप्रपाका उमानाथ दाहालले ७६५ मत पाएका थिए । हल्दिवारीमा एमालेकी मञ्जु सिटौलाले ३५४३, कांग्रेसका दिलिप कुमार लिम्बुले २९१५, माओवादीका तुलसी प्रसाद ओलीले २११७ र राप्रपाका रविन्द्र लिङ्देनले ३९४३ मत प्राप्त गरेका थिए ।

जिल्लाको मत परिणाम अनुसार कांग्रेस–माओवादी गौरीगञ्जमा हाराहारी शक्ति भएको र दमकमा कांग्रेसभन्दा अघि रहेको तथ्याङकले देखाएको छ । माओवादीका नेताहरुले पाँच वर्षमा माओवादीको पार्टीगत संरचनामा धेरै नै सुधार आइसकेकोले विगतको परिणाम मात्रै भागवण्डाको मापदण्ड हुन नसक्ने बताइरहेका छन् । माओवादीका विर्तामोड इञ्चार्ज युवराज दाहालले गठबन्धनमा माओवादीले सम्मानजनक स्थान पाउनुपर्ने धारणा राख्दै आएका छन् ।

यता, नेपाली कांग्रेसले विगतको मतभारलाई नै मापदण्ड बनाइने बताउँदै आएको छ । झापा कांग्रेसका सभापति देउमान थेवेले ०७४ मा जितेका पालिकामा कांग्रेसले नछोड्ने बताइरहेका छन् । जिल्लामा समाजवादी पहिलो पटक निर्वाचन लड्ने तयारी गरिरहेकोले यसको मतभार विश्लेषण गरिएको छैन । समाजवादीले पनि झापामा २ पालिका प्रमुख, ६ उपप्रमुख र जिल्लाभर ४१ वडाध्यक्ष दावी गर्दै आएको छ ।
मत परिणाम अनुसार प्रमुख पदमा जिल्लाभर राप्रपाले माओवादीभन्दा ६ पालिकामा धेरै मत ल्याएको थियो ।

प्रकाशित मिति : चैत्र ३०, २०७८ बुधबार  ७ : १५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]