जेष्ठ ४, २०८१ शुक्रबार

एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई आत्मनिर्भरतामा जोडदिन निर्देशन

बिर्तामोड । नेकपा एमालेका स्थायी कमिटी सदस्य देवराज घिमिरेले जनप्रतिनिधिहरु शासक नभई, जनताको सेवक हुनुपर्ने बताएका छन् ।

नेकपा एमाले जिल्ला कमिटी झापाले शनिवार आयोजना गरेको स्थानीय तह सञ्चालन सम्वन्धी अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीको स्थायी कमिटी सदस्य घिमिरेले गत बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले उनीहरुको साह्रो गाह्रोमा शासक नभई सेवक बनेर सहयोग गर्नुपर्ने बताए ।

एमालेबाट झापा जिल्लाभर निर्वाचित जनप्रतिनिधिहरुलाई बिर्तामोडमा गरेको अभिमुखीकरण कार्यक्रममा बोल्दै १ नम्वर प्रदेश इन्चार्ज समेत रहेका नेता घिमिरेले एमालेको कार्यदिशालाई अंगिकार गरेर जनताको सेवा गर्नुपर्ने बताएका छन् । नेता घिमिरे निर्वाचनमा गरेको प्रतिवद्धतालाई पुरा गर्न र पारदर्शी ढंगले जनमुखी सेवा दिन जनप्रतिनिधिहरुलाई निर्देशन दिए ।
एमाले जिल्ला कमिटीको स्थानीय बिकास विभाग प्रमुख तथा झापा उपाध्यक्ष प्रेम गिरीको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रममा पार्टीको पोलिटब्युरो सदस्य ,स्थानीय बिकास विभाग प्रमुख देवेन्द्र दाहालले जनप्रतिनिधिहरुले परनिर्भरतालाई अन्त्य गर्ने खालका नीति कार्यक्रम स्थानीय तहले बताउनु पर्ने बताए । एमालेको राष्ट्रिय सभाको प्रमुख सचेतक समेत रहेका दाहालले मुलुकलाई आत्मनिर्भर बनाउन स्थानीय उत्पादनमा जोडदिनु पर्ने बताए ।

एमाले एक नम्वर प्रदेश कमिटी सचिव चिन्तन पाठकले परमादेशी सरकारबाट बनेको महागठबन्धनलाई परास्त गर्न एकजुट हुन आग्रह गरेका छन् । मंसिर ४ गते हुने प्रदेश र संघीय निर्वाचनमा एमालेको विजय सुनिश्चित गर्न उच्च मनोवलका साथ लाग्नु पर्ने नेता पाठकको भनाई थियो ।

अभिमुखीकरण कार्यक्रममा स्थानीय तहको हाम्रो अवस्था, स्थानीय तहको निर्वाचनको परिणाम, झापाको पालिकामा एमालेको जनप्रतिनिधि,पार्टीका कार्यदिशा र हाम्रो उदेश्य,नीति तथा कार्यक्रमको प्रभावकारी कार्यन्वयन र जनप्रतिनिधि र कर्मचारी तन्त्रको अन्तर सम्वन्ध लगायतका विषयमा स्थानीय बिकास विभागका प्रमुख दाहाल र विभागकै केन्द्रीय सचिव हर्क राईले प्रशिक्षण प्रदान गरेका थिए ।

प्रकाशित मिति : श्रावण २१, २०७९ शनिबार  ८ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]