बैशाख २०, २०८१ बिहीबार

लोकतन्त्र पोस्टको विशेषांक विमोचन

मेचीनगर । झापाको मेचीनगरबाट प्रकाशित लोकतन्त्र पोस्टले एक सय पृष्ठको रंगिन विशेषांक (लोकतन्त्र मेगेजिन) प्रकाशित गरेको छ ।

लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि १४ वर्ष जेल जीवन बिताएका सानो दुर्गा अधिकारी र २०६२÷०६३ को जनान्दोलनमा सेनाको गोली लागेर घाइते भएका गोपाल श्रेष्ठसहित मेचीनगरका १२ जना पत्रकारहरुले सोमवार संक्षिप्त कार्यक्रमबीच संयुक्त रुपमा लोकतन्त्र मेगेजिनको लोकार्पण गरेका छन् ।

लोकार्पण गर्ने पत्रकारहरुमा ज्ञानेन्द्र निरौला, डम्बर बराल, पवन पौडेल, झुलन रेग्मी, जीआर धिताल, शिशिर चम्लागाई, प्रकाश पौडेल, गगन ढकाल, युवराज आचार्य लगायत रहेका छन् ।

लोकतन्त्र पोस्ट दैनिकले बिगत आठ वर्षदेखि वार्षिक रुपमा रंगिन मेगेजिन प्रकाशित गर्दै आएको छ । हरेक वर्ष दसैंमा प्रकाशित हुँदै आएको मेगेजिन यसपाली तिहारमा प्रकाशित भएको पत्रिकाका सम्पादक तथा प्रकाशक मोहन काजीले बताए ।

एक सय पृष्ठ रहेको यसपालीको मेगेजिनको कभर थिम ‘व्यवस्था फेरियो, अवस्था उस्तै’ भन्ने रहेको छ ।

‘थुप्रै व्यवस्था फेरिदा पनि आम जनताको जीवनस्तरमा परिवर्तन आउन नसकेको विषयलाई जोडदार रुपमा उठाउनु यसपालीको मेगेजिनको उद्देश्य हो,’ काजीले भने–‘राज्यको नीति निर्माता र नेतृत्वदायी जिम्मेवारीमा रहेकाहरुलाई खबरदारी गर्न सक्यौं भने हामी सफल भएको ठान्नेछौं । मेगेजिनको सन्देश पनि यही हो ।’

मेगेजिनभित्र राष्ट्रगानका रचयिता व्याकुल माइला, चराखोजकर्ता देबेन्द्र खरेल, प्रखर युवा उद्यमी आशिष शर्मा, सप्तकोशी विकास बैंकका कामु सीइओ दिनेश पोखरेल, अभियन्ता अर्जुनकुमार कार्की, क्यान्सर रोग विशेषज्ञ डा. वीरेन्द्र यादव र नेत्ररोग विशेषज्ञ डा. जेनु शैजुको विशेष र रोचक अन्तरवार्ता प्रकाशित छ ।

यसैगरी, प्रख्यात राजनीतिक विश्लेषक डम्बर खतिवडा, पुण्यप्रसाद खरेल, डा. अरुणा उप्रेती, कमन देवान, भीमा शिवाकोटी र गोविन्द्र न्यौपानेको फरक धारका विशेष लेख प्रकाशित रहेको छ ।

जनार्दन दाहाल र विन्दु अधिकारीको साहित्यिक रचना समेत मेगेजिनमा समेटिएको छ भने राजकुमार दिक्पाल, अम्बिका भण्डारी, अर्जुन कार्की र रेवतिराज घिमिरेको खोजमूलक लेख प्रकाशित छ ।

प्रकाशित मिति : कार्तिक ८, २०७९ मंगलबार  ८ : ५० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]