जेष्ठ ६, २०८१ आईतबार

झापामा जग्गा वर्गीकरणको काम सुस्त

गगन ढकाल

झापा । झापामा स्थानीय तहहरुले जग्गा वर्गीकरणको काम सम्पन्न गर्न ढिलाई गरेका छन् । जग्गा वर्गीकरण प्राविधिक हिसावले गाह्रो काम भएकाले ढिलाई भएको पालिका प्रमुखहरुको भनाई छ । समयमा जग्गा वर्गीकरण हुन नसक्दा जग्गासँग सम्बन्धित कारोवारहरु समेत प्रभावित भएको छ । कतिपय पालिकाहरुले निर्वाचनका कारण केहि ढिलाई हुन पुगेको जनाएका छन् ।

झापाका १५ वटै पालिकाहरुले हालसम्म जग्गा वर्गीकरणको सम्पन्न गर्न सकेका छैनन् । सरकारले मंसिर २३ गतेसम्ममा पालिकाहरुलाई जग्गा वर्गीकरणको काम सक्न निर्देशन गरेको थियो ।

भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरका प्रमुख योगेन्द्र दुलालले कुनै पनि पालिकाहरुले समयमा जग्गा वर्गीकरणको काम सम्पन्न नगरेको बताएका छन् । उनी भन्छन् ‘माईवारीका १० वटा पालिका मेरो कार्यक्षेत्रमा पर्छ तर कुनैले पनि वर्गीकरणको काम सम्पन्न नगरेकोले अब भू–उपयोग नक्शा समेतको कार्य सकेर बुझाउन निर्देशन दिएको छु’, उनी भन्छन्, ‘नयाँ काम भएर होला पालिकाहरुलाई काम गर्न अलि धेरै समय लागेको तर उहाँहरु निरन्तर कामै रहेको हामीले पाएका छौँ ।’

त्यस्तै माईपश्चिमका ५ वटा पालिकाले पनि जग्गा वर्गीकरणको काम सकेका छेनन् । मालपोत कार्यालय दमकका प्रमुख हिमालय बरालले माइपश्चिमका कुनै पनि पालिकाले समयमा काम सम्पन्न नगरेको बताए । उनी भन्छन् ‘सबै पालिकाको काम लगभग अन्तिम चरणमा रहेको छ । मेरो कार्यक्षेत्रको ५ वटै पालिकाको चाडैं काम सम्पन्न हुने पालिकाहरुले जानकारी दिएका छन् ।’, उनी भन्छन् ‘जग्गा वर्गीकरण आफैंमा आफ्ट्यारो काम भएकाले स्वभाविक रुपमा केही ढिलो भएको हो । दमक, गौरादह लगायतका पालिकाहरुले वर्गीकरण सकेर भू–उपयोग नक्सा समेत बनाउन थाली सकेको जानकारी पाएको छु ।’ उनी थप्छन् ‘पालिकाहरुलाई कुनै पनि सहयोग आवश्यक परे हामी तयार रहेका छौँ ।’

जग्गा वर्गीकरणको लागि सबै पालिकामा पालिका स्तरीय समितिहरुको गठन भएको छ । गाउँपालिकाको हकमा सम्बन्धित गाउँपालिकाको अध्यक्ष उक्त समितिको अध्यक्ष रहने व्यवस्था रहेको छ भने सदस्यहरुमा मालपोत अधिकृत र नापी अधिकृत रहने व्यवस्था रहेको छ । त्यसै गरी नगर पालिकाको हकमा सम्बन्धित नगरको प्रमुख अध्यक्ष रहन्छन् भने सदस्यहरुमा मालपोत कार्यालयको प्रमुख र नापी कार्यालयको प्रमुख रहने व्यवस्था रहेको छ ।

मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी आफ्नो पालिकामा जग्गावर्गीकरणको काम मध्यभागमा पुगेको बताउँछन् । उनी भन्छन् ‘हाम्रो नगरमा यो काम अबको करिब एक–दुई हप्तामै सक्ने गरी लक्ष्य तय गरेर काम गरिरहेका छौँ ।’, उनी भन्छन् ‘वर्गीकरणको प्रतिवेदन वडाहरुबाट लिने काम अब तत्काल हुन्छ र त्यसलाई नगरको समितिले पूर्णता दिन्छ । निर्वाचनले पनि यो कामलाई थोरै असर गर्यो तर अब काम चाडैं सम्पन्न हुन्छ ।’, उनी थप्छन् ‘सम्बन्धित सरकारी निकायले नै जग्गा वर्गीकरणको मापदण्डलाई बिशिष्टिकृत नगरेकाले पनि काम गर्न अलि गाह्रो भएको छ । हामीले निरन्तर विज्ञहरुसँगको परामर्श गर्दै काम गरिरहेका छौँ ।’

बिर्तामोड नगरपालिकाकी प्रमुख पबित्रा महतरा प्रसाईले भने आफ्नो नगरमा भू–उपयोग नक्सा पनि निमार्ण भइ सकेको बताइन् । उनी भन्छिन् ‘हाम्रो नगरमा वर्गीकरणको काम सम्पन्न भइ सकेको छ । अब नगर समितिको बैठकले त्यसलाई पास गरेर मालपोत कार्यालयका बुझाउन मात्र बाँकी रहेको छ ।’, उनी भन्छिन् ‘कन्सलटेन्सीले अरु पालिकाको पनि काम लिएकाले थोरै ढिला भयौं तर अब चाडै काम सम्पन्न हुन्छ नगर समितिको बैठक बस्न मात्र बाँकी छ ।’

दमक नगरपालिकाका प्रमुख राम कुमार थापाले आफ्नो नगरमा जग्गा वर्गीकरणको काम अन्तिम अवस्थामा रहेको बताएका छन् । उनी भन्छन् ‘निर्वाचनले काममा थोरै असर गर्यो यद्यपि काम अन्तिम चरणमा पुगेको छ ।’, उनी भन्छन्, ‘भू–उपयोग नक्सा तयार हुँदैछ, नक्सा बनिसके पछि नगर समितिको बैठकले त्यो पास गर्ने हो । नक्सा पनि लगभग बनी सकेको प्राविधिकहरुले जानकारी दिनुभएको छ ।’

गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फूलबती राजवंशीले भू–उपयोग नक्सा पनि तयार पारेर मालपोत कार्यालय दमकमा पुर्याइ सकेको बताएकी छिन् । उनी भन्छिन् ‘हामीले आवसीय र कृषि गरी दुई भागमा जग्गाको वर्गीकरण गरेर मालपोत कार्यालयमा बुझाइसकेको छौँ, उहाँहरुले अब थप अन्य भागमा पनि वर्गीकरण गर्नु भन्नु भएको छ । त्यो काम पनि सुरु भइसकेको छ ।’

भू–उपयोग ऐन २०७९ का अनुसार जग्गाको १० किसिममा वर्गीकरण गर्नु पर्ने हुन्छ । कृषि, आवासीय, व्यवसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी, खोला, ताल, सिमसार, सार्वजनिक उपयोग, सांस्कृतिक तथा पुरातात्विक महत्व र नेपाल सरकारबाट तोकिएको अन्य क्षेत्रहरु रहेका छन् ।

प्रकाशित मिति : पुष १४, २०७९ बिहीबार  ९ : ०२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]