बैशाख २१, २०८१ शुक्रबार

महेन्द्रद्वार सहकारीद्वारा ३० बिघा जमिनमा जडीबुटी खेती

झापा । महेन्द्रद्वार सहकारी संस्थाले सञ्चालनमा ल्याएको सनराइज हर्बल उद्योग सञ्चालनका लागि आफैँ ३० बिघा जमिनमा जडीबुटी खेती सुरु गरेको छ । उद्योगलाई प्रशोधनका लागि चाहिने कच्चा पदार्थ पर्याप्त उत्पादन गर्ने उद्देश्यले सहकारीले प्रदेश नम्बर १ सरकारको सहयोगमा जडीबुटी खेती सुरु गरेको हो ।

सहकारीले २०७७ साल मङ्सिरदेखि एक करोडको लगानीमा मेचीनगर नगरपालिका–८ मा उद्योग सञ्चालनमा ल्याएको हो । तर पर्याप्त कच्चा पदार्थको अभावमा हप्तामा दुई दिन मात्र उद्योग चल्ने गरेको सहकारी सञ्चालक समितिका अध्यक्ष राजु दाहालले बताएका छन् ।

उनका अनुसार उद्योग सञ्चालनका लागि प्रदेश सरकारबाट ७५ लाख अनुदान प्राप्त भएको छ । औषधिजन्य पदार्थको खेतीका लागि चालु आर्थिक वर्षमा कूल ५० लाखमा ७५ प्रतिशत सरकारको अनुदान र २५ प्रतिशत सहकारीको लगानी हुने भएको छ ।

उद्योगमा औषधिजन्य कच्चा पदार्थ तेजपात, लेमन ग्रास, सिटोनेला, हर्दी, नीम, बकाइनो, मसला, तुलसी, बाबरीलगायतका कच्चा पदार्थ प्रशोधन भइरहेको उनले बताए ।

सहकारीका सदस्यहरूले उत्पादन गरेका औषधिजन्य कच्चा पदार्थ उद्योगले खरिद गर्दै आएको छ । तर, उद्योगलाई चाहिने पर्याप्त कच्चा पदार्थ उत्पादन गर्न नसक्दा पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन । अध्यक्ष दाहालले दैनिक उद्योगमा दुई मेट्रिकटन कच्चा पदार्थ प्रशोधन गर्ने क्षमता रहेको जानकारी दिए ।

पछिल्लो समय कृषि क्षेत्रलाई प्राथमिकता दिएर अघि बढिरहेको सहकारीले चालु आर्थिक वर्षदेखि औषधिजन्य बिरुवासमेत रोपण सुरु गरेको हो । सहकारीले हात्ती प्रभावित क्षेत्र मेचीनगर १,४,५ र ६ नम्बर वडाको दशगजा क्षेत्रमा सदस्य किसानको खेतबारीमा बिरुवा रोपण सुरु गरेको छ ।

दुई वर्षभित्र एक सय बिघा जमिनमा सिटोनेला, लेमन ग्रास र तेजपात लगाउने अभियानमा अघि बढेको सहकारीले हाल ३० बिघा क्षेत्रमा सिटोनेला र लेमनग्रास प्रजातिका बिरुवा रोपिसकेको उनको भनाई छ ।

विगतमा छिमेकी जिल्ला इलामबाट तितेपाती र पाँचथरबाट धसिङ्ग्रे खरिद गरेर ल्याउन गरे तापनि ढुवानी खर्च महँगो परेका कारण अहिले ल्याउन नसकिएको उनले बताए । उनले भने, ‘हामीसँग दुई हजार दुई सय शेयर सदस्य छन् । उनीहरूलाई नै जडीबुटीको खेती गर्न लगाउन थालेका छौँ । यसो गर्दा शेयर सदस्यको जीविकोपार्जन गर्नका लागि आम्दानी पनि हुन्छ, उद्योगलाई चाहिने कच्चा पदार्थको समेत अभाव हुँदैन ।’

सहकारीले सदस्यहरूको खेतमा रोपिएको औषधिजन्य वनस्पति प्रतिकिलो आठमा खरिद गर्ने सदस्य र सहकारीबीच सम्झौता भइसकेको उनको भनाइ छ । उनले किसानले रोपण गरेको औषधिजन्य पदार्थ लगाएको तीन महिनापछि आम्दानी दिने बताए । उनका अनुसार एक बिघा जमिनमा लगाइएको जडीबुटी खेतीबाट एकपटकमा ४० क्विन्टल कच्चा पदार्थ उत्पादन हुनेछ ।

उनले कच्चा पदार्थ उत्पादन भएसँगै उद्योगसमेत नियमित सञ्चालनमा आउने बताए । अध्यक्ष दाहालले एकपटकमा उद्योगलाई दुई हजार केजी कच्चा पदार्थ चाहिने बताएका छन् ।

प्रकाशित मिति : पुष १४, २०७९ बिहीबार  ५ : ४१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]