‘पीर छ घर छैन’ – भाक्कावाली ताजपुरिया
गगन ढकाल
झापा । झापा चारआलीको आलिसान आर्यान कम्प्लेक्स अगाडि एक बृद्धा हरेक दिन भाक्का बनाउछिन् । जहाँ हरेकले भाक्का बनाइरहेको दृष्य देख्न पाइन्छ । ति भाक्का बनाउँने वृद्धा ७५ वर्षीया चामु ताजपुरिया हुन् ।
सधै भिडभाड हुने उनको भाक्का पसल आज(बिहीवार) रित्तै छ । आज झापामा चिसो निक्कै भए पनि चामुको पसल भने खाली खाली छ । आज जाडो निक्कै भए पनि व्यापार कम भएको उनी बताउँछिन् । उनी भन्छिन् ‘सधै त एक हजार १५ सयको व्यापार हुन्थ्यो । आज त पाँच ¬(५) सयको मात्र व्यापार भयो ।’
उनले बिगत सात वर्षदेखि हरेक हिउँदमा भाक्का बेच्दै र अन्य मौषममा मुराईको डल्ला र सागसब्जी बेचेर आफ्नो जिविका चलाइरहेकी छिन् । ‘घर कहाँ हो आमा ?’ भन्ने प्रश्न सुन्दा उनी भन्छिन् ‘हामी गरिबको घर कहाँ हुन्छ र ? अलि पर्तिर डेरा छ । महिनाको २५ सय बुझाउँनु पर्छ ।’
चामु ताजपुरियाको एक जना छोरी छिन् चिन्ता ताजपुरिया । गरिबीमा पिल्सीएकी चिन्ता आफै पनि एक स्थानीय होटलमा काम गर्छिन् ।
चामु दुःखै गरेर भएपनि अरुलाई हानी नपुर्याइ आफ्नो पेट भर्नुपर्छ भन्छिन् । उनी भन्छिन् ‘चिसो छ हातगोडा कटकट खान्छन् तर बाच्नलाई भए पनि दुःख गर्नैपर्छ । जाडो बढ्दा व्यापार र जिउको दुखाई दुबै बढ्छ ।’, उनी भन्छिन् ‘दिनभर यसरी भक्का बनाउँदा गाह्रो हुन्छ, कतै मरिएला कि भन्ने पीर हुन्छ तर पीर मेटाउने गरी आराम गर्ने घर छैन ।’
चामु दुःख भए पनि छलेर खानु हुन्न भन्छिन् । उनी भन्छिन् ‘हाम्रो घर छैन, जग्गा छैन । हाम्रो बारे सरकारलाई नि वास्ता छैन । पोहोर सुकुम्बासीलाई घर दिन्छु भनेर दुधे बोलाएको थियो खोलाको छेउमा जग्गा देखायो । त्यस्तो खोलाको जग्गा के गर्ने ? म बुढी खोला ठूलो आउँदा कता भाग्ने ?’
चामुको भाक्काको व्यापार हिउँदमा त राम्रै चल्छ । तर अरु याममा भने उनलाई आफ्नो गुजारा चलाउँन निक्कै धौधौ पर्ने बताउँछिन् । जीवनमा दुःख भए पनि श्रममा विश्वास गर्ने चामुलाई आफ्नै घरमा अन्तिम सास छाड्ने रहर छ । उनी भन्छिन् ‘जिन्दगी त दुःखै दुःखमा बितो सरकारले एउटा घर दिए ढुक्कले आफ्नै घरमा अन्तिम सास छाड्ने थिए ।’