जेष्ठ ५, २०८१ शनिबार

यसकारण बिर्तामोडमा कर्मयोग भवन : शिवाकोटी

बिर्तामोड – ४ स्थित मेघाबारी टोलमा बहुउद्देश्यीय लक्ष्य राखेर श्रीमद् भावगत महापुराणको आयोजना गरिएको छ । पुराणबाट संकलित रकमबाट कर्मयोग भवन, ज्येष्ठ नागरिक चौतारीसहित बहुउद्देश्यीय सामुदायिक भवन निर्माण गर्ने मुख्य उद्देश्य राखिएको छ । प्रस्तुत छ–फागुन २१ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने पुराणको लक्ष्य, उद्देश्य र तयारीका विषयमा केन्द्रीत रहेर पुराण आयोजक मुल समितिका संयोजक भीमा शिवाकोटीसंग गरिएको कुराकानीको सारसंक्षेप :

सामुहिक पुराणको खास उद्देश्य के हो र ? 
कर्मयोग भवन, ज्येष्ठ नागरिक चौतारीसहित बहुउद्देश्यीय सामुदायिक भवन निर्माण गर्ने नै मुख्य उद्देश्य राखेका छौं ।
कर्मयोग भनेको के हो ?  किन आवश्यक भयो  ?
कर्मयोग भनेपछि खास गरी जन्मदेखि मृत्यु पर्यन्त गरिने काम हो भन्ने लाग्छ । तर, यहाँ कर्मयोग भनेर खास गरी मृत्यु पछि गरिने कर्म गर्ने थलो भनेर हामी बुझ्छौं । शिक्षा, स्वास्थ्य, यातायातको सहज उपलब्धता, व्यापारीक–व्यवसायिक संभावनाका कारण बिर्तामोडको जनघनत्व दिनप्रतिदिन बढिरहेको छ । बढ्दो जनघनत्वलाई घरका कोठाले त धानेका होलान् । तर, मृत्यु पछि गरिने जुन संस्कार छ, त्यो संस्कारका लागि डेरा बसेको एउटा कोठामा असंभव छ । त्यसमा पनि कत्तिपय घरबेटीले बाँचुञ्जेल पैसा लिएर बस्न दिएपनि मृत्यु पश्चातको कर्म गर्न नदिएका घटनाहरु देखेका भोगेका छौं । त्यसैले मृत्यु पछि गरिने जुन कर्म हो, उक्त कर्म गर्नका लागि सहज होस् भन्ने उद्देश्यले कर्मयोग भवनको आवश्यकता महशुस गरी हामी अघि बढेका हौं ।

कर्मयोग भवन त कनकाई माई नजिकै पनि छ, फेरी यहाँ किन नी ? 
त्यहाँ पनि होला । त्यहाँ बसेर कर्म गर्न त्यति सहज छैन । बिर्तामोडमा बसोबास गर्नेका आफन्तदेखि छरछिमेकी, इष्टमित्र अधिकतम यही हुन्छन्, उनीहरुलाई दैनिक आउन जान दुरीका हिसाबले पनि असहज । कर्ता मात्रै बसेर गर्न सक्ने काम पनि होइन् यो । त्यसैले गर्दा बिर्तामोडमा एउटा कर्मयोग भवनको जरुरी भइसकेको थियो । यसको अगुवाई कसले गर्छ भन्ने थियो, सौभाग्यले श्री सिद्धिविनायक भजन किर्तन मण्डलीको अगुवाइ गर्ने अवसर प्राप्त गर्यो, पुराण आयोजकको नेतृत्व गर्ने मौका मलाई दिनुभयो । त्यसका लागि सबैप्रति हार्दिक आभार व्यक्त गर्दै सफल बनाउन सबैको साथ र सहयोगको अपेक्षा र आग्रह पनि ।

उपयुक्त हो त यो ठाउँ  ?
–नजिकै खोला छ, छेवैमा मन्दिर छ, वरीपरी बस्ती, गाउँ, समाज छ । मुख्य शहर भन्दा पाश्र्वभित्र पर्छ । तर, सबैभन्दा नजिक र सुगममा छ । त्यसले गर्दा यो भूमि उपयुक्त छ भन्ने हाम्रो ठहर हो ।

पुराण सम्पन्न गर्न कति खर्च लाग्छ ?
२० लाख रुपैयाँ खर्च हुने अनुमान गरेका छौं ।

सहभागिता र संकलनको लक्ष्य पनि त होलानी  ?
एक करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखेका छौं । संकलित रकमबाट पहिलो चरणमा भवन निर्माणका लागि जग्गा खरीद गर्ने लक्ष्य रहेको छ ।

आर्थिक मन्दीका बेला सामुहिक पुराण कत्तिको सफल होला ? 
आर्थिक मन्दी त सबैतिर छ । यसले कत्तिलाई समस्यामा पारेको पनि छ । यो नेपालको मात्र नभएर विश्वकै समस्या हो । त्यो बुझेका छौं । यद्यपी यो चाहिं मनको कुरा रहेछ । धन र मन दुवै हुनेका लागि त समस्या भएन् । मन भएपछि मन्दिले असर पार्छ भन्ने लाग्दैन । किनकी हामीलाई बिर्तामोड–४ का समाजसेवी जग्गादाता गुरुप्रसाद ओझाले निःशुल्क ११ धुर जग्गा प्रदान गरिसक्नु भएको छ । थप ११ धुर जग्गा खरीदका लागि बैना गरिएको पनि यहाँ खुशीका साथ यहाँ जानकारी गराउन चाहन्छु ।

तयारी के कहाँ पुग्यो ?
भागवत मञ्जरी राधिका दासीको प्रवचन रहने महापुराण सम्पन्न गर्न मेरै संयोजकत्वमा पुराण आयोजक मूल समिति गठन गरिएको छ भने पुराणलाई भब्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि ३१ सदस्यीय सल्लाहकार समिति र २७ सदस्यीय सचिवालय समिति तथा विभिन्न २७ वटा उपसमितिहरु गठन गरिएको छ । समितिहरुले आ–आफ्नो जिम्मेवारी अनुसारको काम गरिरहनु भएको छ । २० गते यानके भोली कलश यात्रा गरेर पुराणको भब्य उद्घाटन हुनेछ भने २१ गतेदेखि पुराणको प्रवचन शुरु हुनेछ । तयारी पूरा भएको छ ।

कलश यात्राका लागि एकहजार ८ कलश आयोजक समितिले व्यवस्था गरेको छ भने अनुष्ठान पश्चात उक्त घडा खरिद गर्न इच्छुक महानुभावहरुलाई बिक्री गर्ने गरि बुकिङ खुल्ला गरिएको छ । कलश यात्रामा सहभागिताका लागि विभिन्न संघसंस्थाहरुलाई समेत अनुरोध गरिएको छ । पुराणको औपचारिक उद्घाटन सम्माननीय सभामुख देवराज घिमिरेले गर्ने पुराण २७ गते सम्पन्न हुने अवगत गराउन चाहन्छु ।

अन्त्यमा,
यो एउटा पवित्र कार्य हो । यो बिर्तामोड र मेघावारीबासीको मात्र होइन् । बिर्तामोडबासी साथै आसपासका सबैको हो । सकेसम्म उपस्थित भएर पुराण श्रवण गरौं । सहयोग गरौं नसकेपनि पुराण श्रवण गरौं यही भन्न चाहन्छु ।

प्रकाशित मिति : फाल्गुन २०, २०७९ शनिबार  ७ : २० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]