जेष्ठ ५, २०८१ शनिबार

राष्ट्रपति निर्वाचन : तीन पार्टीसँग एमालेले माग्यो मत

काठमाडौँ । नेकपा (एमाले) ले राष्ट्रपतिको निर्वाचनको मिति नजिकिँदै गर्दा आज थप तीन राजनीतिक दलसँग मत मागेको छ । एमालेले आज लोकतान्त्रिक समाजावादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीसँग मत मागेको हो ।

ती पार्टीका कार्यालयमा गई एमालेले आफ्नो पार्टीका तर्फबाट उम्मेदवार बन्नु भएका सुवासचन्द्र नेम्वाङलाई मत मागेको एमाले सचिव योगेश भट्टराईले जानकारी दिनुभयो । राष्ट्रपतिका उम्मेदवार नेम्वाङसहित पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ्, सचिव योगेश भट्टराई, पोलिटब्यूरो सदस्य ठाकुर गैरसहितको टोली मत माग्नका लागि जानुभएको थियो ।

लोसपाका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी र जनमत पार्टीका अध्यक्ष सिके रावतलाई भेटी उहाँहरूले मत माग्नुभएको हो । बिहीबार पनि एमालेले राष्ट्रपतिका उम्मेदवार नेम्बाङलाई मत माग्नका लागि नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग मत मागेको थियो । यही फागुन १७ गते एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमलाई भेट गरी राष्ट्रपतिमा नेम्वाङलाई मत माग्नुभएको थियो ।

यसअघि एमालेले नेपाली कांग्रेस बाहेक अन्य दलसँग आफ्नो पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार बन्नुभएका नेम्वाङलाई मत माग्दै पत्राचार गरेको छ । यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा एमालेका तर्फबाट नेम्वाङ र कांग्रेसबाट रामचन्द्र पौडेलको उम्मेदवारी परेको छ ।

प्रकाशित मिति : फाल्गुन २०, २०७९ शनिबार  ७ : २९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]