बैशाख २१, २०८१ शुक्रबार

अर्जुनधारामा दुध उत्पादक किसानलाई अनुदान

इन्द्रकुमार राई

शनिश्चरे । अर्जुनधारा –४ भाङबारी चाँदनी बहुउद्देश्यीय सहकारी संस्थाको आयोजना र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भद्रपुर झापाको आर्थिक सहयोगमा ३ सय ४४ जना दुध उत्पादक कृषकलाई अनुदान वितरण गरिएको छ ।

संस्थाद्वारा शुक्रबार स्थानीय बिन्ध्याबासिनी सिंहदेवी मन्दिरको श्रवणहलमा आयोजित अनुदान वितरण तथा सदस्य शिक्षा कार्यक्रममा शुद्ध दुध उत्पादनका आधारमा कृषकहरूलाई अनुदान वितरण गरिएको हो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भद्रपुर झापाका प्रमुख डा. शितल भट्टराईको प्रमुख आतिथ्यतामा भिम पौडेल , किसन महतो ,सिता खतिवडा ,रेनुका कार्की , ख्याम ओझा, गोपाल बुढाथोकी , प्रकाश डाँगी ,केबल थापा, चेतन पुरी, चन्द्र प्रधान, तारा तामाङ लगायत ३४४ जना कृषकलाई प्रति लिटर दुधको आधारमा जम्मा ३ लाख १५ हजार रुपैयाँ अनुदान वितरण गरिएको थियो ।

सोही अवसरमा उत्कृष्ट दुध उत्पादक कृषकको रुपमा भक्त बहादुर तिम्सिना, टेक बहादुर खड्का, कृष्ण ढुंगाना र बिन्दु भेटवाललाई २० लिटर दुधको मूल्य बराबर नगद र सम्मान पत्रसहित सम्मान गरिएको छ । चाँदनी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष याम बहादुर दाहालको सभापतित्व तथा सचिव प्रेम कार्कीको सञ्चालन रहेको कार्यक्रममा प्रमुख अतिथि डा. भट्टराईले शुभकामना मन्तव्य राख्दै दुध उत्पादन आफ्नो व्यवसायप्रति इमान्दार भएर शुद्ध दुध उत्पादन गर्न कृषकहरूलाई आग्रह गरेकी थिइन् । आगामी दिनहरुमा पनि पशु पालक किसानहरुलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेकी छन् ।

कार्यक्रमका विशिष्ट अतिथि एवं पशुपंक्षी, मत्स्य तथा कछुवा बिकास शाखाका प्रमुख पदमलाल राईले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै सम्पूर्ण कृषकलाई सक्षम ,सबल र आय– आर्जनमा धनी बनाउनका लागि नगरपालिकाको संयोजनमा आफ्नो विकास शाखाले जोड गरिरहेको बताए । उनले पानी मिसावट दुधमा फ्याट कमी र दुधको मूल्य पनि कम हुने भएकोले दुधमा पानी नमिसाउन कृषकहरुलाई आग्रह गरे । उनले बरु ५ रुपैयाँ बढी मूल्य लिएर बिक्री गर्न सुझाव दिएका छन् । आगामी आर्थिक बर्षदेखि दुधमा पानी मिसाएर बिक्री गर्ने कृषकलाई ५० हजार जरिवानासहित ३ महिना कैद सजाय हुने ऐनमा व्यवस्था गरिएको सुनाउँदै कृषकहरुलाई सचेत गराए ।

यसैगरी आगामी दिनहरूमा शुद्ध दुध उत्पादन गर्ने कृषकहरूलाई अनुदान बढाउनु पर्ने उनको भनाइ थियो । कार्यक्रममा अर्जुनधारा नगरपालिका – ४ का वडाध्यक्ष अम्बर बहादुर कटुवाल, सामाजिक व्यक्तित्वहरु तुलसी प्रसाद खतिवडा , तुलसी श्रेष्ठ , संस्थाका सल्लाहकार बेदप्रसाद घिमिरे, सदस्य देवेन्द्र मैनाली लगायतले शुभकामना मन्तव्यसहित शुद्ध दुध उत्पादन र सदस्य शिक्षाबारे धारणा राखेका थिए । स्वच्छ दुध तथा दुधजन्य पदार्थ सेवन गरौं, स्वस्थ्य बनौं ,दीर्घजीवन बाँचौं भन्ने नाराका साथ कार्यक्रम सम्पन्न भएको छ ।

प्रकाशित मिति : बैशाख २३, २०८० शनिबार  ६ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]