बैशाख २०, २०८१ बिहीबार

बिर्तामोड बुधबारे हटिया : विकल्प दिनुपर्छ भन्ने नेताहरुले नै दिएनन् विकल्प

बिर्तामोड । बिर्तामोड नगरपालिकाले वडा नं. ५ मा रहेको बुधबारे हटिया (देवि हाट) खाली गर्न दिएको तीन दिनको समय सकिएको छ । बैशाख १९ गते सूचना प्रकाशन गरेको नगरपालिकाको २२ गतेसम्ममा खाली गर्न सूचित गराएको थियो । तर, एक जना व्यवसायीले पनि ठाउँ छाडेका छैनन् ।

नगरपालिकाले दिएको समय सकिएकै दिन सो हटियामा व्यापार गर्दै आएका व्यापारीहरुले शुक्रवार पत्रकार सम्मलेन गर्दै व्यवस्थापन नभएसम्म खाली नगर्ने भन्दै विज्ञप्ति जारी गरेका छन् । उनीहरुले व्यवसायीहरुको रोजीरोटीमाथि प्रहार गर्ने काम भए उत्पन्न परिस्थितिको जिम्मेवारी नगरापालिकाले लिनुपर्ने स्पष्ट पारेका छन् । यता, नगरपालिकाले दिएको समयभित्र ठाउँ खाली नगरे कानुन बमोजिम खाली गराइने र संरचना हटाउँदा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्तिबाट उठाउने सो सूचनामा उल्लेख थियो ।

पत्रकार सम्मेलनमा नगर स्तरीय केहि राजनीतिक दलका प्रतिनिधिहरु र विर्तामोड उधोग वाणिज्य संघका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । पत्रकार सम्मेलनमा पत्रकारले जिज्ञासा समेत राख्न नपाउने गरी दलका प्रतिनिधिहरुलाई कुरा राख्न दिइएको थियो ।

पत्रकार सम्मेलनमा रास्वपाका नगर अध्यक्ष शम्भु भण्डारी, नेकपा समाजवादीका अध्यक्ष श्रीप्रसाद सिटौला, राप्रपा नगर अध्यक्ष रञ्जु प्याकुरेल, नेकपा माओवादीका मोहन सुब्बा, बिर्तामोड वाणिज्य संघका राजु न्यौपाने, कांग्रेसका भोजराज सिटौला, लिम्बुवानका मित्र लिङदेन र पूर्व जनप्रतिनिधि हर्कलाल गिरी सहभागी थिए । अधिकांशले विकास विरोधी होइनौं, तर व्यापारीहरुको उचित व्यवस्थापन हुनुपर्ने भन्दै धारणा राखे । व्यापारीहरुले भवन निर्माण पश्चात व्यवसाय गर्न पाउनुपर्ने र त्यसको सुनिश्चितता हुनेपर्ने बताए । हाट क्षेत्रलाई व्यवस्थित र सुविधा सम्पन्न बनाउने भन्ने लामो तयारी बारे सबै राजनीतिक दलहरुलाई जानकारी छ । तर, पत्रकार सम्मेलनमा विकल्प, विकल्प भन्ने दलहका कुनै प्रतिनिधिले पनि यो विकल्प हुन सक्छ भनेर भन्न सकेनन् । व्यापारीलाई विकल्प दिनुपर्छ भन्दै आएका दलहरुका प्रतिनिधिहरुले कसैले पनि निश्चित विकल्प दिएनन् । उनीहरु सबैको एउटै रटान थियो, ‘उचित विकल्प’ दिनुपर्छ । कतिपय व्यापारीहरुले पत्रकार सम्मेलनमा सहभागी दलका प्रतिनिधिले पनि ठ्याक्कै यो विकल्प हुन सक्छ भनेर भन्न नसकेकोमा गुनासो गरेका छन् । दलका प्रतिनिधिहरुले समस्या मात्र देखे, समाधान बारे कसैले बोल्न सकेनन् ।

बिर्तामोड नगरपालिकाले कार्यपालिकाबाट निर्णय गरेरै बुधबारे हटियामा बहुतले व्यवसायिक भवन निर्माणका लागि प्रक्रिया अघि बढाएको छ । नगरपालिकाले नगर विकास कोषको सहयोगमा पार्किङसहितको बहुतले भवन निर्माण गर्ने जनाएको छ । नगरपालिकाले सर्वपक्षीय निर्णय गरेरै सो कामलाई अघि बढाएको हो ।

वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले व्यापारी र नगरपालिकाबीचमा द्वन्द्ध सिर्जना गर्ने गरी अभिव्यक्ति दिए । उनले पत्रकार सम्मेलनमा अब वारपारको लडाई हुन्छ भन्दै व्यापारीहरुलाई उत्तेजित बनाए । वाणिज्य संघको तर्फबाट कुनै विकल्प दिन नसकेका न्यौपानेले दलहरुको सहयोगमा वारपारको लडाई लढ्ने प्रतिक्रिया दिए । उनले भने, वाणिज्य संघले एक्लै केहि गर्न सक्दैन, दलहरुको सहयोगमा हामी पनि अघि बढ्ने हो ।

यस्तै, पूर्व जनप्रतिनिधि हर्कलाल गिरी बजारको इतिहास सुनाउदैं पूर्व भागमा रहेको खाली ठाउँबाट निर्माण काम प्रारम्भ गर्नुपर्ने बताएका थिए ।

विकल्पमा रुपमा बिर्तामोड सिटी सेन्टरमा १५० जना व्यवसायीलाई व्यवस्थापन गर्न सकिने गरी छलफल भएको बुझिएको छ । तर, व्यापारीहरुले सिटी सेन्टरमा व्यापार नचल्ने भन्दै जान नमानेको बुझिएको छ । देवि हाटका व्यापारीले पत्रकार सम्मेलनमा सिटी सेन्टरमा खाली रहेका सटरहरुमा व्यापार गर्ने व्यवसायीहरुले व्यवस्थापनबाट वक्यौता पाउन बाँकी रहेको र झमेलामा नपर्न भनेपछि आफुहरु सिटीमा नगएको प्रतिक्रिया दिए ।

प्रकाशित मिति : बैशाख २३, २०८० शनिबार  ७ : २१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]