जेष्ठ ४, २०८१ शुक्रबार

ठेकेदारको कारण बिर्तामोड–भद्रपुर सडकमा यात्रुलाई सास्ती

बिर्तामोड । जिम्मेवारी लिएको ठेकेदारले समयमै काम पूरा नगर्दा बिर्तामोड–भद्रपुर सडकखण्डमा यात्रुहरुले सास्ती बेहोरिरहेका छन् ।

बेलैमा काम नगरेर बर्खा शुरु हुनै लाग्दा ठेकेदारले निर्माणको काम थालेपछि सडक हिलाम्मे भएर यात्रुहरुले कष्ट भोग्नु परेको हो । बिर्तामोडको धौला पुलदेखि गरामनी बजारसम्मको सडक क्षेत्रमा केही दिनअघि धुलो खाएका यात्रुहरुले पानी परेपछि अहिले हिलो पानीबाट यात्रा गरिरहनु परेको छ । त्यस ठाउँमा कष्टले यात्रा गर्नु परिरहेको यात्रुहरु समस्या सु्नाउँछन् ।

धौला पुलदेखि गरामनीसम्म मात्र नभएर ठेकेदारले पुरै सडक नै विजोग पारेका छन् । धौला पुलदेखि देउनियासम्मको करिव ५ किलोमिटर सडकको निर्माण थालेका ठेकेदारले बर्खा शुरु हुन लाग्दासमेत ग्राभेल गर्न सकेका छैनन् । जवकि सडक निर्माणको ठेक्का पाएको काठमाडौंको कन्टेक प्रालिले निर्माण सम्पन्न गर्नुपर्ने म्याद साउन ५ सम्म मात्र रहेको छ । २०७७ माघ ६ गते ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले आगामी साउन ५ अर्थात ३० महिनामा काम सम्पन्न गर्नुपर्ने छ ।तर, अहिलेसम्म करिव २६ प्रतिशत मात्र काम सम्पन्न गरेको सडक डिभिजन कार्यालय दमकले जनाएको छ । ‘अहिलेसम्म करिव २६ प्रतिशत मात्र काम सम्पन्न भएको देखिन्छ ’सडक डिभिजन दमकका प्रमुख सुरेश पौडेलले भने,‘हामीले निरन्तर फलो गरिरहेका छौं ।’ बर्खा शुरु हुनुभन्दा अगाडि नै कम्तीमा ग्राभेलको काम पूरा गर्न आफूहरुले दवाव दिइरहेको उनले बताए ।

ठेकेदारको ढिलासुस्तीका कारण सदरमुकाम जाने सो सडक बर्खामा अवरुद्ध हुने देखिएको छ । ‘ यदि ठेकेदारले बर्खाअगाडि ग्राभेल पूरा गर्न नसकेको खण्डमा हामीसंग ग्राभेल स्टक छ त्यसलाई प्रयोग गर्छौं’ डिभिजन प्रमुख पौडेलले भने,‘दमकका स्थानीय निर्माण व्यवसायीहरुलाई लगाएर भएपनि सडक अवरुद्ध हुन दिने छैनौं ।’

सम्झौताअनुसार निर्माणको काम नगरेको भन्दै निर्माण कम्पनी कन्टेक प्रालिलाई सडक डिभिजन दमकले केही महिनाअघि लिखित स्पष्टीकरण सोधेको थियो । त्यसबेला निर्माण कम्पनीका संचालकले दमक आएर समयमै काम पूरा गर्ने प्रतिवद्धता जनाएका थिए । समयमै काम नथाल्ने र म्याद गुज्रिन लाग्दा हतार गर्ने ठेकेदारको प्रवृतिका कारण सडकको विजोग भएको हो । तोकिएको म्यादभित्र ग्राभेलसमेत नसक्ने ठेकेदारले थप म्यादको दावी गरेको बुझिएको छ । त्यसबारे कुनै निर्णय भइनसकेको डिभिजन प्रमुख पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : जेष्ठ ४, २०८० बिहीबार  १ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]