जेष्ठ ४, २०८१ शुक्रबार

सोइ ढोले सोइ, किराँत प्रदेश खोइ ?

अर्जुनधारामा साकेला महोत्सव

शनिश्चरे । किराँत राई धर्मावलम्बीहरुको महान चाड उभौली पर्व (येले सम्वत ५०८३ ) सालको अवसर पारेर अर्जुनधारा नगरपालिका – ९ झिलस्थित साकेला थानमा हर्ष उल्लासका साथ बिहीवार साकेला महोत्सव मनाइएको छ ।

किराँत राई यायोक्खा अर्जुनधारा नगर समितिको आयोजनामा संघीय गणतन्त्र नेपाल पुख्र्यौली भूमिको पहिचान ,किरात स्वायत्त राज्य निर्माण गर्ने हाम्रो अभियान भन्ने नाराका साथ महोत्सव मनाइएको हो । कार्यक्रमका प्रमुख अतिथि एवं किराँत राई यायोक्खा झापाका वरिष्ठ उपाध्यक्ष केबलराम राईले साकेला स्वागत नृत्य प्रस्तुत गरेर महोत्सवको उद्घाटन गरेका थिए । उभौली साकेला चाडको अवसरमा किराँत राई साँस्कृति झल्काउने सरसामान सहित लोपोन्मुख जातीय पहिरनमा जिल्लाका विभिन्न स्थानबाट महोत्सवमा सहभागी भएका १० वटा साकेला नृत्य टोलीहरुले वि .सं. २०७२ सालमा निर्मित साकेला थानलाई पालैसँग परिक्रमा गर्दै साकेला नाँच प्रदर्शन गरेका थिए ।

यसअघि थानभित्र किराँत राई धामीले राई मुन्दुमबाट कुखुराको भाले बली चढाएका थिए । विगत ७ बर्षअघि देखि साकेला थानमा उभौली पर्वका दिन साकेला महोत्सव मनाउँदै आएको किराँत राई यायोक्खा अर्जुनधारा नगर समितिका पूर्व वरिष्ठ उपाध्यक्ष क्याप्टेन शिवकुमार राईले जानकारी दिए । सो अवसरमा थानको दक्षिण पट्टि रहेको साकेला नृत्य मञ्चमा नृत्य टोलीहरुले रोल क्रम अनुसार सोइ ढोले सोइ , अर्को ढोले खोइ ! सोइ ढोले सोइ , किराँत प्रदेश खोइ ? भन्ने गीतमा मनोरञ्जनात्मक नृत्य प्रस्तुत गरेका थिए । आयोजक सहित माई नदी वारी पूर्व भद्रपुर, विर्तामोड, मेचीनगर नगरपालिका ,गोलधाम ,काँकडभिट्टा लगायत क्षेत्रबाट सहभागी हुने किरात राई यायोक्खाका १० वटा साकेला नृत्य टोलीहरुले नाँच प्रदर्शन गरेका थिए ।

सोही अवसरमा किराँत एकता, साँस्कृतिक उत्थानका निम्ति सहयोग पु¥याउने क्याप्टेनद्वय मानबहादुर चाम्लिङ राई र शिवकुमार चाम्लिङ राई, जागिरमान राई, सरिता चाम्लिङ राई, मनोज चाम्लिङ राई र धनशोभा राईलाई सम्मान पत्रसहित पगरी गुथेर सम्मान गरिएको थियोे ।

कार्यक्रममा अधिकांश वक्ताहरुले किरात जातीय नभएर सभ्यता भएको बताउँदै किरात पहिचानलाई जर्गेना गर्ने किराँतीहरुको दायित्व रहेको भनाइ छ । कोशी प्रदेश किरातीहरुलाई मान्य नभएको उनीहरुले बताए । किरात राई यायोक्खा अर्जुनधारा नगर समितिका अध्यक्ष विजय साम्पाङ राईको सभापतित्व तथा सचिव सिंह बहादुर चाम्लिङ राईको सञ्चालन रहेको कार्यक्रममा प्रमुख अतिथि केबलराम, जिल्ला सदस्य कस्तुरी राई, किरात राई विद्यार्थी संघ झापाका सदस्य आयुष राई, नेपाल आदिवासी जनजाति महासंघ अर्जुनधारा नगर समन्वय परिषदका अध्यक्ष कर्ण बहादुर तामाङ, किराँत राई यायोक्खा अर्जुनधाराका सल्लाहकार दिपीन राई, उपाध्यक्ष भूपा राई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : जेष्ठ ५, २०८० शुक्रबार  ९ : ३१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]