बैशाख २०, २०८१ बिहीबार

शिवसताक्षीमा सार्वजनिक सुनुवाई : मेयर साहेव तपाई हर्क र बालेन कहिले बन्ने ?

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. २ ले सार्वजनिक सुनुवाई गरेको छ । सार्वजनिक सुनुवाईमा चालु आ.व.को विकास आयोजनाहरुको प्रगति सार्वजनिक, वडाबासीका गुनासा र सहभागीहरुको सुझाब संकलन गरिएको हो ।

सार्वजनिक सुनुवाईमा वडाबासीहरुले शिवसताक्षी नगरपालिका वडा नं. २ मा अघिल्लो कार्यकालको भन्दा विकासका काममा केही प्रगति भएको बताएका छन् ।

उनीहरुले उपभोक्ता समिति र ठेक्का मार्फत गरिएको केही कामहरु गुणस्तरीय नभएको समेत गुनासो गरेका छन् । यस्तै सहभागीहरुका तर्फबाट लीलाप्रसाद फुयलले बनियानी खोलामा ट्रष्ट ब्रिज बनेता पनि खोलामा वाल र पुलमा जाने बाटो नभएका कारण प्रयोगमा नआएको गुनासो गरे । उनले यो पुल किन अपुरो भयो र कहिले मानिसहरु आवत जावत हुने गरी बन्छ भनेर प्रश्न गरेका थिए । त्यस्तै प्रदिप चिमोरियाले वडाका नयाँ बाटाहरु ग्राभेल भएता पनि १५ वर्ष पुराना केही बाटाहरु ग्राभेलका लागि किन प्राथमिकतामा परेन भनेर सोधेका थिए ।

सहभागीका रुपमा रहेका बेनु प्रसाद सिलवालले शिवसताक्षीका मेयर हर्क र बालन कहिले बन्ने भनेर प्रश्न गरेका थिए ।
छाडा पशु चौपायाहरुको व्यवस्थापन, मोती माध्यमिक विद्यालयका विद्यार्थीहरुले सुविधा सम्पन्न भवनमा गुणस्तरीय शिक्षा कहिले सम्ममा लिन पाउँछन् जस्ता प्रश्न राखेका थिए ।

सहभागीहरुको प्रश्नको जवाफ दिदै नगर प्रमुख मेगाहाङ्ग थोप्राले हर्क र बालेनको सामाजिक सञ्जालमा चर्चा छ । तर मानिसहरुको स्वाभाव फरक फरक हुन्छ । त्यस्तैले हर्क र बालेन म जस्तो नहोला र म पनि हर्क र बालेन जस्तो नदेखिउँला त्यो मानविय स्वभाव हो । म निर्वाचित भएको १ वर्ष भयो । अब चार वर्ष भित्रमा नपाई हरुले गर्व गर्न लायक कुनै न कुनै काम गरेर जान्छु । उनले भने, हाम्रो नगरको आन्तरीक श्रोत अत्यन्त न्युन भएका कारण पनि हामीले चाहेर पनि धेरै काम गर्न सकेका छैनौ । आन्तरिक श्रोत बलियो भएका पालिकाले हामी भन्दा केही बढी काम गरेको सत्य हो ।

शिक्षाका भौतिक पूर्वाधार र गुणस्तरीताका लागि नगरपालिकाले आउँदो आवमा पनि अरु भन्दा धेरै बजेट विनियोजन गर्ने बताए । उनले भने शिक्षा नगरको प्राथमिकतामा परेको छ । आगामी पाँच वर्ष भित्रमा कम्तिामा पनि नगरका भित्रका १० ओटा विद्यालयमा इन्ट्रास कक्षा पास गरेर मात्र भर्ना लिने गरीको व्यवस्था गरिने छ । उनले शिक्षाको गुणस्तर, भौतिक पूर्वाधार र अन्य सुविधा निर्माणका लागि स्मार्ट विद्यालयको अवधारणा ल्याएको र हाल विभिन्न ४ विद्यालयमा काम सुरु गरिएको जानकारी दिए ।

पशु व्यवस्थापनका लागि कार्यविधि बनाएर आउँदो आ.व. देखि काम गरिने उनको भनाई थियो । त्यस्तै बनियानी खोलामा लगाइएको ट्रष्ट ब्रिजको प्रश्नको उत्तर दिदै वडाध्यक्ष भिम नेम्वाङ्गले कम बजेटका कारण स्थानीय बासीको सल्लाहमै पहिले ब्रिज नै निमार्ण गर्ने सहमति अनुसार काम भएको बताए । अहिले जति काम भएको छ । त्यसमा नगरको पनि सहयोग रहेको छ । उनले भने, अब आगामी बजेटमा बाटो बनाउने छौं ।

उनले वडामा रहेका केही पुराना बाटाहरुमा ग्राभेलको काम पुरा भएका छैनन् । यो सत्य हो । वडाले सबै बाटाहरुमा बजेट बाँड फाँड गर्दा केही बाटाहरुमा आधी मात्र काम भएको छ । आगामी बजेटमा त्यस्ता अपुरा बाटारुलाई पुरा गरेर मात्र अन्य बाटाहरुमा बजेट पठाइने जानकारी दिए ।

त्यस्तै उपप्रमुख कार्कीले उपभोक्ता समितिले गरेका काम र टण्डरबाट लगाइएका कामहरुको अनुगमनमा कडाई गरिने बताइन् । हामीले अनुगमनमा इन्जिनियर, प्राविधिकहरु समेतलाई देखाएर गुणस्तर मापन गरेर मात्र सिफारिस गर्ने गरेका छौ । ठेक्केदारले हामीलाई पनि छली त्यस्तो काम गरेको भेटिएमा हामीलाई खबर गर्नु र नागरिकको तर्फबाट पनि अनुगमन गर्न उनले सुझाइन् ।

त्यस्तै उपभोक्ता समितिले नगरपालिकामा योजना सम्पन्नको रकम फरफारक गर्न जाँदा काम नभएर सास्ती व्यर्होनु परेको गुनासो गरे । मंगलबरेमा स्वच्छ खानेपानीको व्यवस्था नभएको, वडा कार्यालयले लगाएको खोर्सानी खेतीमा गरिएको खर्चको बिल भरपाई हेर्न पाउनु पर्ने पर्ने समेत प्रश्न राखेका थिए ।

नगरप्रमुख मेगाहाङ्ग थोप्राले फरफारकमा केही समस्या भएको अरुबाट पनि गुनासो आएको बताए । उनले भने, फरफारकका लागि प्रकृया पुरा गरी कागज पत्र सबै पुगेको फाइल रोकिएमा आफुलाई खबर गर्न सुझाए । आउँदो आव देखि यसमा पनि हामी केही सहज बनाउन गृहकार्य सुरु गरेको उनको भनाई थियो ।

स्वच्छ खानेपानीका लागि वडाहरुमा योजना धेरै रहेको तर कुनैको पनि काम पुरा नभएको नगरप्रमुख थोप्राले बताए । माथीबाट योजना आउँछ काम सुरु हुन्छ तर सबै योजनामा आधी आधी मात्र काम भएको छ । अब स्थानीय तहले सिफारिस गरेको योजना मात्र पहिले सम्पन्न गर्न हामीले माग गरेका छौ । उनले भने, प्रत्येक वडामा सञ्चालित खानेपानीका योजनाहरुमा कम्तिमा एउटा पूर्ण रुपले सकेर मात्र अर्को योजनाको काम सुरु गर्नका लागि माथिल्लो निकायसँग कुरा भइरहेको छ ।

वडा कार्यालयमा लगाएको खोर्सानीको विषयमा वडाध्यक्ष भिम नेम्वाङ्गले जवाफ दिएका थिए । वडा कार्यालय भवनदेखि पश्चिम पट्टी खाली जमिनमा काँस र सिरु घारी भएकाले त्यसलाई हटाई खोर्नानी रोपिएको बताए । वडाका धेरै नागरिकले त्यहाँबाट खोर्सानीको बेर्ना समेत लानु भएको थियो । उनले भने, यसमा कुनै भष्ट्राचार भएको छैन, यसको रकम नगरपालिकाले भुक्तानी गर्ने सबै बिल भरपाई नगरमा भएको हूँदा नगरमै गएर हेर्न समेत आग्रह गरेका थिए ।

वडा नं. २ मा चालु आ.व.मा ७५ लाख सिलिङ्ग बजेट, नगर योजना ९३ लाख र संघीय सरकार र प्रदेश सरकार बाट ४२ लाख ५० हजार रकमबाट विभिन्न योजनाहरुको कामहरु सञ्चालन भएको थियो ।

कार्यक्रममा शिक्षा, स्वास्थ्य, खानेपानी, सडक लगायत विषयमा सहभागीहरुले प्रश्न राखेका थिए भने केही सुझाब पनि दिएका थिए ।

कार्यक्रमा वडा सदस्य कुमार राई, भोजकुमार ढकाल, दुर्गादेवी बुढाथोकी र यामबहादुर राईको उपस्थिति रहेको थियो ।
शिवसताक्षी नगरपालिका वडा नं. २ ले आयोजना गरेको सार्वजनिक सुनुवाईको पहिलो सत्रको कार्यक्रम वडा सचिव खेमराज दुलाल गरेका थिए भने, कार्यक्रमको सहजीकरण साझा मञ्च मिडिया प्रालिले गरेको थियो ।

प्रकाशित मिति : असार १, २०८० शुक्रबार  ७ : ०५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]