जेष्ठ ४, २०८१ शुक्रबार

बिर्तामोडमा बृहत कृष्ण रथयात्रा

बिर्तामोड । झापाको बिर्तामोडमा पहिलो पटक बृहत रथयात्रा निकालिएको छ । रथयात्राले बिर्तामोडस्थित अग्रसेन र प्रणामी मन्दिरबाट सुरु भई बिर्तामोड बजार परिक्रमा गरेको थियो । उक्त ऐतिहासिक रथयात्रामा सयौं भक्तजनहरु सहभागी भएका थिए ।

कृष्ण प्राकाट्यको भोलिपल्ट बिहीवार नन्द उत्सवको अवसर पारेर बिर्तामोडमा श्री कृष्ण रथयात्राको आयोजना गरिएको थियो । धार्मिक परम्परा अनुसार श्रीकृष्ण जन्माष्टमीको भोलि पल्ट श्रीकृष्ण रथयात्रा निकाल्ने चलन अनुसार बिर्तामोडमा रथयात्रा निकालिएको हो ।

बालाजी मन्दिर समिति बिर्तामोड र कृष्ण प्रणामी मन्दिर सतगुरु श्री देवचन्द्र सदन बिर्तामोडको संयुक्त आयोजनामा रथयात्रा सम्पन्न गरिएको छ । भगवान श्री कृष्णको जन्म उत्सवको अवसर पारेर बिर्तामोडमा कृष्ण रथयात्रा सम्पन्न गरिएको बालाजी मन्दिर समितिका अध्यक्ष नबिन गोयलले जानकारी दिए ।

उनका अनुसार बिहीवार बिहान १० बजे विषेश पूजाअर्चाना गरेर ११ बजे रथयात्रा बालाजी मन्दिरबाट सुरु गरिएको थियो । सतगुरु श्री देवचन्द्र सदनबाट पनि रथयात्रा शुरु भई दुबै रथयात्रा बालाजी मन्दिर अगाडि शनिश्चरे रोडमा भेट गराएसँगै बिर्तामोड बजार परिक्रमा गराइएको अध्यक्ष गोयलले जानकारी दिए ।

अध्यक्ष गोयलका अनुसार रथयात्रा बिर्तामोडको मुक्तिचोक–इलाका प्रहरी कार्यालय छेउबाट फर्किएर मुक्तिचोक – भद्रपुर बस स्टेण्ड–मुक्तिचोक र अधुवाखोला पुल हुँदै फेरि मुक्तिचोकबाट मन्दिरमा पुराएर समापन गरिएको थियो । सदगुरु सदनले अघिल्लो बर्ष पनि रथयात्रा निकालेको थियो । यो वर्ष भने बालाजी मन्दिरसँग सहकार्य गरेर संयुक्त रुपमा रथयात्रा सम्पन्न गरेको हो ।

शान्ति, धर्म रक्षा, समाज तथा मानव कल्याणको लागि संयुक्त रुपमा रथयात्रा गरिएको बालाजी मन्दिरका अध्यक्ष गोयलको भनाई छ ।

रथयात्राका लागि निर्मित समितिमा बालाजी मन्दिरका तर्फबाट अध्यक्ष नबिन गोयल, सदस्य रमेश अग्रवाल , सदस्य सुजित अग्रवाल, छठ समाजबाट राजकुमार शाह र सदगुरु सदनबाट युवा परिषद प्रा.स अध्यक्ष बिदुर खनाल, जिल्ला अध्यक्ष टहलदास ओली, कोशी प्रदेश अध्यक्ष अनिल ढुङ्गाना लगायत रहेका थिए ।

प्रकाशित मिति : भाद्र २१, २०८० बिहीबार  ८ : ४८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]