जेष्ठ ६, २०८१ आईतबार

बिर्तामोड १० र झापा एफसी फाइनलमा प्रवेश

झापा । बिर्तामोड–१० चौंथो वडा स्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा आज भएको प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा बिर्तामोड २ विरुद्ध ५–० गोल अन्तरको फाराकिलो जित निकाल्दै बिर्तामोड–१० फाइनलमा प्रवेश गरेको हो ।

बिर्तामोड–१० लाई जित दिलाउन सौरव लिम्बूले ह्याट्रिक गरे । पहिलो हाफको ९औं मिनेटमा पहिलो गर्दै टिमलाई अग्रता दिलाएका लिम्बूले खेलको १९ औं मिनेटमा दोस्रो गोल गरे । निर्धारित ७० मिनेटको खेलमा लिम्बूले ५८ औं मिनेटमा व्यक्तिगत तेस्रो तथा टिमकालागि चौथो गल गर्दै ह्याट्रिक पुरा गरे ।

बिर्तामोड–१० का लागि अभिषेक गुरुङले थप दुई गोल गरे । उनले खोलको ४२ औं मिनेटमा पहिलो गोल गरेका थिए । ५८ औं मिनेटमा थप एक गर्दै गुरुङले टिको अग्रतालाई ५–० बनाएका थिए ।

बिर्तामोड–२ ले भने खेलमा सान्तवना गोल समेत फर्काउन सकेन् । खेल अवधिभर स्कोर गर्ने प्रयास गरेपनि विपक्षी बाधक बन्दा सफल हुन सकेन् । खेलमा बिर्तामोड २ का नविन वि.क.ले ४१ औं मिनेटमा र विपिन लिम्बूले ६५ औं पहेँलो कार्ड पाएका थिए ।

बिर्तामोड–१० का लागि ह्याट्रिक गर्ने सौरव लिम्बू आजको खेलको ‘म्यान अफ दि म्याच’ घोषित भए । आयोजकको तर्फबाट नगद १५ सय र युवा व्यवसायी दिपेन चौधरीको तर्फबाट १ हजार गरेर उनले नगद २५ सय पुरस्कार पाए । उनलाई बिर्तामोड वडा नम्बर २ का वडाअध्यक्ष किशोर पौडेलले पुरस्कार प्रदान गर्नुभएको थियो ।

बिर्तामोड–१०ले अब कार्तिक २ गते हुने फाइनल खेलमा बिर्तामोड–५ संग प्रतिस्पर्धा गर्ने छ । यसअघि सोमबार भएको पहिलो सेमिफाइनलबाट बिर्तामोड ४ लाई २–१ गोल अन्तरले पराजित गर्दै बिर्तामोड ५ ले फाइनलमा स्थान बनाएको थियो ।

बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा भइरहेको प्रतियोगिताको विजेताले नगद १ लाख र उप विजेताले ५० हजार रुपैंया र मेडल, ट्रफी तथा प्रमाण–पत्र प्राप्त गर्ने छ ।

प्रतियोगिताको फाइनलको दिन पत्रकार र कलाकारबिच मैत्रीपूर्ण खेल हुने आयोजक समितिका सचिव विशन लिम्बूले जानकारी दिनुभयो ।

यस्तै, दोस्रो संस्करणको नेपाल सुपर लिग खेल्ने तयारीमा रहेको झापा एफसी चारपानेमा जारी दोस्रो एक्सपर्ट एकता स्पोर्टिङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बिर्तामोड २ बेलडाँगीस्थित वीर अमरसिंह माध्यमिक विद्यालयको खेलमैदानमा भएको दोस्रो सेमिफाइनल खेलमा आयोजक एकता स्पोर्टिङ क्लबलाई टाइब्रेकरमा हराउँदै झापा एफसी उपाधिनजिक पुगेको हो ।
झापा एफसीले उपाधिका लागि कात्तिक ३ गते मोफसलको अर्को चर्चित टिम झापा ११ एफसीको सामना गर्नेछ । झापा ११ ले सैनिक युथ क्लबलाई हराउँदै फाइनल यात्रा तय गरेको हो ।

आजको खेल अवधिभर दुवै टिमले उत्कृष्ट मुभ बनाउँदै प्रहार गरे पनि गोल हुन सकेन । निर्धारित ६० मिनेटमा दुवै टिम शून्यको अवस्था रहेपछि खेल सिधै टाइब्रेकरतर्फ धकेलिएको थियो ।
टाइब्रेकरमा झापाका लागि पाँचैजना खेलाडी तारानाथ राजवंशी, अनिष पोमु लिम्बू, सञ्जय धिमाल, पारस कार्की र आयुष श्रेष्ठले गोल गरे भने एकताका खमिर गिल्सन कन्दङवा, आशिष चापागाईं, विशाल बस्नेत र निशान तामाङले गोल गरे ।
एकताका मिलन राईको प्रहार झापाका गोल किप्पर योगेश धिमालले विफल बनाइदिएका थिए ।

आजको खेलको प्लेयर अफ द म्याच झापाका गोल किप्पर योगेश धिमाल भए । उनलाई आजका प्रमुख अतिथि देवी संग्रौलाले नगद तीन हजार प्रदान गरे ।

प्रतियोगितामा झापाका आठवटा क्लबहरूले सहभागिता रहेको छ । झापा ११ एफसी, बाहुनडाँगी एफसी, बुट्टाबारी युनाइटेड, झापा एफसी राजगढ, सैनिक एफसी, नव प्रतिभा युवा क्लव, ब्रदर्श युनाइटेड र आयोजक एकता स्पोर्टिङ क्लबले प्रतियोगितामा भाग लिएको अध्यक्ष किरण पौडेलले बताए ।

प्रतियोगिताको फाइनल खेल कात्तिक ३ गते हुनेछ । प्रतियोगिताको विजेताले १ लाख ११ हजार १११ र उपविजेताले ५५ हजार ५५५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउने सचिवालय सदस्य गोविन्द गिरीले बताए ।

त्यस्तै, प्रत्येक खेलमा प्लेयर अफ द म्याचले नगद ३ हजार पाउँदा उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, कोच, हाइस्कोर र उत्कृष्ट खेलाडीलाई जनही ३ हजार रुपैयाँ प्रदान गरिने प्राविधिक समिति संयोजक माधव खरेलले जानकारी दिए ।

२०७४ सालमा स्थापना भएको एकता स्पोर्टिङ क्लबले गुणात्मक र संख्यात्मक दृष्टिले युवा राष्ट्रको मेरुदण्ड भएकाले उनीहरूको क्षमतालाई राष्ट्रिय विकासको मूलधारमा ल्याउने उद्देश्यले वीर अमरसिंह माध्यमिक विद्यालयको खेल मैदानमा दक्ष प्रशिक्षकको व्यवस्था गरी १६ वर्षमुनिका १ सयभन्दा बढी बालबालिकाहरूलाई फुटबल प्रशिक्षण प्रदान गर्दै आएको छ ।

अन्डर १२ फुटबल प्रशिक्षण गर्ने, योग्य खेलाडी उत्पादन गर्ने, युवाहरूलाई फुटबलप्रति उत्प्रेरित गर्ने उद्देश्य रहेको छ ।

प्रकाशित मिति : आश्विन ३०, २०८० मंगलबार  १० : ४४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]