जेष्ठ ४, २०८१ शुक्रबार

झापामा नमूना संसदको अभ्यास : युवा सांसदले उठाए दर्जनौं मुद्धा

बिर्तामोड । नमूना संसदमा झापाका युवा सांसदहरुले जिल्लाका समस्याहरु उठाएका छन् । संघीय संसद सचिवालयको आयोजनामा भएको नमूना संसदको अभ्यासमा युवा सांसदहरुले जिल्लाका मुद्धाहरुसँगै समाजमा रहेका साझा विकृतिहरु उठाएका हुन् ।

संघीय संसदले कात्तिक १४ गतेदेखि झापाको बिर्तामोडमा २० वटा सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई संसदको अभ्यास गराएको थियो । तीन दिनसम्म अभ्यास गरेका विद्यार्थीहरुले शुक्रवार नमूना संसदको अभ्यासलाई प्रस्तुत गरेका थिए । उनीहरुले प्रधानमन्त्री, सभामुख, मन्त्रीहरुसहित नमूना संसदको प्रदर्शन गरेका हुन् ।

बिर्तामोडको सिद्धार्थ होटलमा विद्यार्थीहरुले संसदमा हुने बजेट भाषण, नीति तथा कार्यक्रम बाहेक सबै काम कारबाही प्रस्तुत गरेका थिए । सो नमूना संसदको सभामुख मोहनमाया माविका नविन तिवारी र प्रधानमन्त्रीको जिम्मेवारीमा शनिश्चरे माविकी जुनु पौड्याल थिए ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना मगर, कांगे्रसका प्रमुख सचेतक रमेश लेखक, एमालेका सचेतक महेश बर्तौला, माओवादीकी सचेतक रुपा सोसी चौधरी, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार, सचेतक निशा डाँगीको अगाडि राखेर नमूना युवा संसदका सांसदहरुले संसदको अभ्यास गरेका थिए ।

नमूना संसदमा युवा सांसदहरुले झापाको जंगली हात्तीको समस्या, सुपारी खेती, यौन हिंसा, खाद्य वस्तुमा भइरहेको मिसावट, विदेशिएका युवालाई स्वदेश फिर्ता गराउने सवाल, दाइजो प्रथा, गुणस्तरीय शिक्षा, फोहोरमैला व्यवस्थापन, लागुऔषध नियन्त्रण, विद्यालयमा प्राथमिक उपचार, खेल मैदान लगायतका विषयहरुमा भनाई राखेका थिए ।

कार्यक्रममा सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना मगर, कांगे्रसका प्रमुख सचेतक रमेश लेखक, एमालेका सचेतक महेश बर्तौला, माओवादीकी सचेतक रुपा सोसी चौधरी, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार, सचेतक निशा डाँगी, प्रतिनिधिसभा सदस्य हर्कमाया विक, अमृतलाल राजवंशी, कोशी प्रदेशका सांसदहरु छवि चुडाल, कमलाथापा मगर, गोपाल विक, विर्तामोड नगर प्रमुख पवित्रा देवी महतारा प्रसाई, देवी माविको प्रअ अम्बिका श्रेष्ठ लगायतले धारणा राखेका थिए ।

अधिकांश वक्ताहरुले विद्यार्थीहरुमा संसदको अभ्यास गराएर उनीहरुलाई संसदीय काम कारबाही, कानुन निर्माण, सञ्चालन विधि बारे जानकारी गराएकोमा संघीय संसदलाई धन्यवाद दिए । उक्त कार्यक्रमले विद्यार्थीमा राजनीतिक चेतनाको विकाससँगै संसदीय अभ्यासको ज्ञान प्राप्त भएको उनीहरुको भनाई थियो । विद्यार्थीहरुले कार्यक्रममा सहभागी हँुदा संसदको अभ्याससँगै क्षमता विकासमा सहयोग पुगेको प्रतिक्रिया दिए ।

नमूना संसदका युवा सांसदहरुले विषयवस्तुमा मात्रै केन्द्रीत भई छोटो समयमा कुरा राखेको, आरोप प्रत्यारोप नगरेको, सभ्य ढंगबाट विषयहरु उठाएको, संसद अवरुद्ध नगरेको लगायतका सन्दर्भहरु चर्चाको विषय बनेको थियो ।
सहारा नेपाल र यूएनडीपीको प्राविधिक सहयोगमा भएको कार्यक्रममा सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : कार्तिक १७, २०८० शुक्रबार  ७ : २१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]