जेष्ठ ३, २०८१ बिहीबार

शिवसताक्षीमा कीर्ते घर नक्साको छानविन अन्तिम चरणमा, सोमवारसम्म प्रतिवेदन सार्वजनिक गर्ने

विर्तामोड । झापाको शिवसताक्षी नगरपालिकामा कीर्ते छाप प्रयोग गरी भवन निर्माण सम्पन्न गरेको कागजात फेला परेको छ । सेवाग्राहीले आफ्नो घर सम्पन्न भएको प्रमाण पत्र कीर्ते भन्ने थाहा पाएपछि रहस्य बाहिर आएको हो ।
घर नक्सा शाखा प्रमाण पत्र ७ वर्षअघि देखि नै समस्या रहेको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

गरपालिकाको सम्बन्धित शाखाले जारी गरेकोे प्रमाण पत्र र सेवाग्राहीले पाएको प्रमाण पत्र, चलानी नंं. समेत फरक देखिएको छ । कतिपय सेवाग्राहीले पाएको प्रमाण पत्रको रेकर्ड पालिकामा नभएको घर नक्सा शाखाका प्रमुख ईन्जिनियर उत्तम बरालले जानकारी दिए । उनका अनुसार कतिपय सेवाग्राहीले राजश्व बुझाउन बाँकी रहेकाले पनि प्रमाण पत्र पाएका छैनन् ।

सेवाग्राहीले कन्सल्टेन्सीमा राजस्व बुझाएपछि हामीलाई प्रमाण पत्र चाहियो भन्दै आएका पनि छन् । तर कन्सल्टेन्सीमा राजश्व बुझाउँदा कसरी पालिकाले प्रमाण पत्र दिन्छ, उनले प्रति प्रश्न गरे– कन्सल्टेन्सीको विषयमा पालिकाले जान्दैन ।

सेवाग्राहीले प्रमाण पत्र लिन जाँदा रेकर्ड नभेटिए पनि शिवसताक्षी नगरपालिकाले घटनाको सत्यतथ्य पत्ता लगाउन वडा नं. ८ का वडाध्यक्ष सन्त फेउदिनको अध्यक्षतामा तीन सदस्य छनविन समिति समेत गठन गरेको थियो ।

घर नक्साको प्रमाण पत्रका लागि सिधै नगरपालिकामा आएको फाइलमा कुनै समस्या नरहेको नगरका इन्जिनियर कृष्ण राईले जानकारी दिए । हामीसँग सिधै आएका कागजपत्र पुगेका फाइललाई हामीले रोकेका छैनौ । तर, कन्सन्टेल्सीमा रकम बुझाएर आएको फाइलहरुमा समस्या रहेको छ । उनले कतिपय फाइलहरुको कन्सन्टेल्सीले राजश्व नबुझादिएका कारण अहिले समस्या आएको बताए । हाल बाहिर आएको नक्कली प्रमाण पत्रमा इन्जिनियर र प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षर समेत कीर्ते रहेको उनको भनाई छ ।

कन्सल्टेन्सीका प्राविधिक सागर ल्वागुनले नगरको घर नक्सा शाखामा गई आफै दर्ता, चलानी र कार्यालयको छाप प्रमाण पत्र लगाउने गरेको नगरका एक कर्मचारीले बताए । नगरपालिकाले कन्सल्टेन्सीका कर्मचारीलाई विश्वास गर्दा पनि सेवाग्राहीले झन धेरै दुःख पाएको ती कर्मचारीको भनाई छ । कन्सल्टेन्सीका प्राविधिक हाल बैदेशिक रोजगारीमा छन् ।
कतिपय सेवाग्राहीले घर नक्साका लागि बुझाउनुपर्ने राजश्व पनि कर्मचारीको हातमा बुझाएको पाइएको छ । राजश्वका लागि कर्मचारीको हातमा आएको रकम कन्सल्टेन्सीमार्फत नगरमा दाखिला नभएको देखिएको छ ।

नगर प्रमुख मेगाहाङ्ग थोप्राले यो समस्या लामो समयदेखि तानिदै आएको बताए । यसको बारेमा हामीले छानविन समिति गठन गरेका छौ । समितिको प्रतिवेदनको पखाईमा रहेकाले समितिले प्रतिवेदन बुझाएपछि छिटै नै यसको सत्य तथ्य बाहिर आउछ । नगरपालिकाले यसमा जो कोही दोषी ठहरिए पनि कार्वाहीको दायरामा ल्याउँछ । उनले भने, यस विषयमा सबै अनुसन्धान पछि पत्रकार सम्मलेन गरेरै घटनाको सावर्जनिक गछौं ।

नगर उप्रमुख नरमाया कार्कीले घर नक्शामा समस्या आउनाले नगरपालिकाले धेरै राजश्व गुमाउनु परेको बताइन् । कति राजश्व गुम्यो त्यसको यकिन तथ्यांक म सँग आएको छैन । उनले भनिन्, यसरी राजश्व गुम्दा नगरपालिका दिन प्रतिदिन धरासायी बन्छ । यस प्रकरण टुंगो लगाएर नगरपालिकाले दोषिलाई कार्वाहीको दायरामा ल्याउँछ ।

छानविन समितिका संयोजक सन्त फेउदिनले उक्त प्रकरणको प्रतिवेदनको अन्तिम रुप दिने काम भइरहेको बताए । छानविन समितिले कुनै कञ्जुस्याई नगरी सोमबार सम्ममा नगरपालिकालाई प्रतिवेदन बुझाउने उनको भनाई छ । फेउदिनका अनुसार यो प्रकरणमा जो कोही दोषी ठहरिए पनि कार्वाहीको भागिदार बन्नेछ ।

नगरपालिकामा घर नक्शाका लागि लैजान आवास इन्जिनियरिङ कन्सल्टेन्सी र विशाल इन्जिनियरिङ कन्सल्टेन्सीले नक्सांकन गरेका भेटिएको छ । तर विशाल कन्सल्टेन्सीले गरेको फाइलमा कुनै समस्या नरहेको कन्सल्टेन्सीका प्रोपराइटर विशाल थेवेले जानकारी दिए । थेवेका अनुसार कन्सल्टेन्सीले घर नक्साको काम गरेको फि मात्र लिने गरेको छ । उनले भने –नगरपालिकामा बुझाउने राजश्वको बारेमा हामी जान्दैनौ ।

प्रकाशित मिति : मंसिर २२, २०८० शुक्रबार  ७ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]