नेकपाको एकता : चिन्तन अध्यक्ष, सचिवमा विजय
बिर्तामोड । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीले ११ महिनापछि जिल्लातहको नेतृत्वको टुंगो लगाएको छ ।
पार्टीको झापा जिल्ला कमिटीमा तत्कालिन एमालेका अध्यक्ष चिन्तन पाठक अध्यक्ष र सचिवमा तत्कालिन माओवादी केन्द्र झापाका अध्यक्ष विजय साम्पाङलाई जिम्मेवारी दिइएको छ । ७७ जिल्लामध्ये ४४ जिल्लामा पूर्वएमाले र ३३ जिल्लामा पूर्वमाओवादीले अध्यक्ष पाएका छन् । त्यसैगरी पूर्वमाओवादीले ४४ जिल्लामा र ३३ जिल्लामा पूर्वएमालेले सचिव पाएका छन् ।

अध्यक्ष पाउनेले अर्को पक्षलाई सचिव दिनुपर्ने सहमति भएको थियो । पार्टी एकीकरण हुनुभन्दा अघि एमाले जिल्ला संगठनको नेतृत्वमा जो जो निर्वाचित भएका थिए । उनीहरूनै पूर्वएमालेको भागमा परेका ४४ जिल्लामा पार्टी अध्यक्ष भएका छन् ।
पूर्वमाओवादीको भागमा परेका ३३ जिल्लामा भने पूर्वएमालेका निर्वाचित अध्यक्षहरू जिल्ला सचिवको भूमिकामा रहने छन् । यो सहमति लामो समयदेखि नेपाल पक्षले राखेको अडानअनुसार नै भएकाले अब नेपाल पक्षको असन्तुष्टि हटेको बताइन्छ ।
तत्कालीन एमाले र माओवादी मिलेर नेकपा बनेको एक वर्ष कटिसक्दा पनि पार्टीका जिल्ला संगठनको एकता टुंगिएको थिएन । लामो रस्साकस्सीपछि ७७ जिल्लाकै पार्टी नेतृत्वको नाम सोमबार दिउँसो सार्वजनिक भएको हो । एकीकृत पार्टीको जिल्ला संगठनको एकताको काम सकिए पनि नेताहरूले पोलिटब्युरोमा जाने नेताहरूको नाम टुंगो लगाउन सकेका छैनन् ।
पोलिटब्युरो १४७ जनाको हुने र त्यसमा ८३ जना पूर्वएमाले र ६४ जना पूर्वमाओवादीबाट रहने पनि मोटामोटी टुंगो लागेको छ । त्यस्तै पार्टी स्थायी समितिका सदस्यको कार्यविभाजन र पार्टी विभागको गठनको काम पनि बाँकी नै छ । पोलिटब्युरो गठन सकिएपछि पार्टी विभाग र नेताहरूको जिम्मेवारी बाँडफाँटको काम हुनेछ ।